कर्णालीमा ११ हजारलाई कोरोनाविरुद्धको खोप लगाइँदै

कर्णाली प्रदेशमा पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी थालिएको छ । भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ लगाउने तयारी गरिएको हो । प्रदेश सरकारले पहिलो चरणमा खोप लगाउने व्यक्तिहरूको विवरण संकलन गरिसकेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पहिलो चरणमा कोरोनाविरुद्धको ‘भ्याक्सिन’ ११ हजार सात सय ८१ जनालाई दिइने छ । यो चरणमा स्वास्थ्यकर्मी, अस्पतालमा कार्यरत कर्मचारी र एम्बुलेन्स तथा सवारी चालक, शव व्यवस्थापनमा खटिने टिम र महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई खोप लगाउन लागिएको हो ।

निर्देशनालयका निर्देशक डा. रविन खड्काले उक्त खोप एक महिनाको अवधिमा दुई पटक लगाउनु पर्ने बताए । अहिले पहिलो डोजको लागि मात्र खोप ल्याउने तयारी भएको हो । उनले भने, ‘अहिले एक पटक मात्र लगाउनका लागि खोप आउँछ । एक महिना पछि लगाउने भएकाले अर्को पटकका लागि सरकारले नै फेरि पठाउँछ होला ।’

सुर्खेतमा दुई हजार सात सय ८१, हुम्लामा चार सय ५०, दैलेखमा दुुई हजार र कालीकोटमा एक हजार २१ जनालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । त्यस्तै, मुुगुमा पाँच सय ४८, जाजरकोटमा एक हजार एक सय ४५, जुुम्लामा एक हजार सात सय दुई, डोल्पामा पाँच सय ११, सल्यानमा एक हजार एक सय २३ र रुकुम–पश्चिममा पाँच सय जनालाई खोप लगाइने छ । खोप सोमवारसम्म सुर्खेत ल्याइ पु¥याइने निर्देशनालयले जनाएको छ । खोप यसै हप्ताभित्र लगाउन सुरू गरिने छ । एक चरण अभिमुखीकरण पश्चात सबै जिल्लामा खोप पठाएर लगाउन सुरू गरिने बताइएको छ ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार चार सय ८३ पुगेको छ । शनिवार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये अहिलेसम्म सात हजार दुई सय ३७ जना संक्रमणमुक्त भइसकेका छन् । संक्रमण देखिएका २९ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई सय १७ रहेको छ । भारत सरकारले दिएको कोरोनाविरुद्धको १० लाख डोज खोप देशैभरका अस्पतालहरूबाट एक साताभित्रै एकैपटक लगाइने गरी तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ११ माघ २०७७, आईतवार १०:५४