गुरुकुलकी आमा
उत्प्रेरणा

शुक्रवार दिउँसो एक बजेतिर वीरेन्द्रनगर–७ इत्रामस्थित गुरुकुल मन्टेश्वरी एजुकेशन फाउण्डेशनको हाताभित्र बालबालिका खेलिरहेका थिए । घर जाने समय भएकाले बालबालिकालाई लिन अभिभावकहरू आउने जाने क्रम चलिरहेको थियो । सिर्जना अर्थात् गुरूकुलकी आमा भने बालबालिकाको रेखदेखमै थिइन् ।
मन्टेश्वरीमा पारिवारिक वातावरण थियो । बालबालिकाहरू निर्धक्क खेलिरहेका थिए । मानौ उनीहरू घरमै रमाइरहेका छन् । खेल्दै सिक्दै विधिबाट सिकाइने यहाँ बालबालिकाका आमाजस्तै गुरूआमाहरू छन् । बालबालिका शिक्षिकासँग सहज सम्वाद गर्छन् । अभिभावकले नानु आऊँ घर जाउँ भनिरहँदा पनि उनीहरू खेलेरै रमाइरहन्छन् । बालबालिकालाई राम्रो वातावरण दिनुभएको रहेछ ? भन्ने हाम्रो जिज्ञाशामा गुरुकुलकी सञ्चालिका सिर्जनाले भनिन्, ‘बालमैत्री सिकाइको कोशिस गरेका छौं । अझ धेरै व्यवस्थापन गर्न बाँकी छ । यो खेल्दै सिक्दै गर्ने उमेर हो । बालबालिकाका लागि आवश्यक वातारण दिने कोशिस गरिरहेका छौं ।’
३९ वर्षीय सिर्जना शाही वीरेन्द्रनगर–७ की स्थायी बासिन्दा हुन् । बाल्यकालमा सिर्जना कम बोल्थिन् । उसो त उनी अहिले पनि कमै बोल्छिन् । कतिपय उनलाई रिजर्व स्वभावकी पनि भन्छन् । सानैदेखि खेलकुदमा रुचि थियो । पढाइमा उनी राम्रोमध्येकी विद्यार्थी थिइन् ।
ज्ञानी स्वभाव र पढाइमा लगनशील भएपछि उनले घरपरिवारदेखि विद्यालयसम्म सबैको माया पाइन् । आमा नर्स बुबा पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने । उनी सहज वातावरणमा हुर्किइन् । दैलेखको औलपराजुलमा सिर्जनाको मामाघर । त्यहीँ गाउँको स्वास्थ्य संस्थामा आमाको जागिर थियो । उनी मामाको घरमै हुर्किन । विद्यालय तहको पढाई उनले त्यहीँबाट पूरा गरिन् ।
एसएलसी पछि उच्च शिक्षाका लागि सिर्जना सुर्खेत झरिन् । शिक्षा क्याम्पसबाट आइ ए सकेपछि स्नातक पढ्न उनी काठमाडौं हानिइन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट एजुकेशन प्लान एण्ड म्यानेजमेन्टमा स्नातकोत्तर गरेकी उनले गुरुकुल मन्टेश्वरी पाँच वर्षअघि सञ्चालनमा ल्याएकी हुन् ।
‘त्यसअघि हामी तीन जना साथीहरूले मिलेर खोलेको मन्टेश्वरीमा पढाउँथे,’ उनले भनिन्, ‘पछि आफू एक्लैले मन्टेश्वरी सञ्चालन गर्ने योजना बनाए ।’
मन्टेश्वरीमा आवद्ध हुनुभन्दा पहिले उनी मनोविमर्शकर्ताको रूपमा काम गर्थिन् । विभिन्न संस्थासँग जोडिएर उनले समुदायका थुप्रै मान्छेहरूलाई काउन्सिलिङ गरेकी छन् । त्यसबेला पनि उनी महिला र बालबालिकाकै क्षेत्रमा काम गर्थिन् । ‘विशेष गरेर महिला र बालबालिकालाई काउन्सिलिङ गर्थे । विभिन्न गैरसरकारी संस्थामा मनोविमर्शकर्ताको रूपमा १० वर्ष काम गरियो,’ सिर्जनाले भनिन् ।
एक सन्तानकी आमा उनलाई घर व्यवहारले समेत बाहिर गएर जागिर गर्न सहज भएन । उनलाई बालबालिकाका क्षेत्रमा काम गर्ने धित पुगेको पनि थिएन । जागिर नगर्ने निधो गरेपछि उनले मन्टेश्वरी सञ्चालनमा ल्याइन् ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकासँग हुन्छिन् । उनी यस्तो सेडुलमा बाँधिएको वर्षाैं भयो । ‘बालबालिकाको यो उमेर भनेको सिक्ने हो । सही बाटोमा हिँड्नका लागि यो उमेरमा राम्रो अभिभावकत्व, संस्कार र सिकाइ जरुरी हुन्छ । हामीले मन्टेश्वरी विधिबाट यस्ता कुराको पूर्ति गरिहेकी छौं,’ उनी भन्छिन् ।
हरेक काम गर्न जोखिम हुन्छ । चुनौती हुन्छन् । अझै बालबालिकालाई सम्हालेर सिकाउनु सजिलो हने कुरै भएन । सिर्जनासँग आफूजस्तै सोच भएका मेहेनती र लगनशील शिक्षिका साथीहरू छन् । यस्तो टिम पाएपछि उनलाई मन्टेश्वरी सञ्चालनमा सहज हुँदै गएको छ । बालबालिकासँग रमाउन र सिकाउन पाउँदा खुशीसँगै सन्तुष्ट पनि लाग्छ,’ सिर्जनाले भनिन्, ‘मलाई यहाँका सबै बालबालिका आफ्ना सन्तानजस्तै लाग्छ ।’ मन्टेश्वरी सञ्चालनका क्रममा पनि उनलाई थुप्रै चुनौती नआएका होइनन् । श्रीमान् शिक्षा क्षेत्रकै व्यक्ति भएकाले पनि उनलाई चुनौती पार गर्न सहज भयो । ‘परिवारको साथ पाएरै मैले मन्टेश्वरीलाई बढी समय दिन सकेकी छु,’ सिर्जनाले सुनाइन् ।
गुरुकुलमा दुई वर्षमाथिका बालबालिका छन् । यहाँ शिक्षक वा शिक्षिकाभन्दा पनि आमाको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको हेरविचारमा हेलचक्य्राइँ गर्नु हँुदैन । उनी भन्छिन्, ‘जसरी आफ्नो सन्तानको माया लाग्छ । त्यति नै यी बालबालिकाको लाग्छ । आफ्नै सन्तानलाई हेरिरहेको अनुभूति हुन्छ ।’
गुरुकुलमा अहिले करिब ७० जना बालबालिका छन् । संख्या घटबढ भइरहन्छ । स्कूल पठाउने उमेर पुगेपछि बालबालिका यहाँबाट बाहिरन्छन् । हालसम्म झण्डै चार सय बालबालिकालाई गुरुकुलले मन्टेश्वरी विधिबाट सिकाएको छ । पर्याप्त खेल सामग्रीसहितको मन्टेश्वरीमा बालबालिकालाई घर पु¥याउने, ल्याउने र दिउँसोेको खाजाको व्यवस्था छ । गुरुकुल सुर्खेतको स्थापित मन्टेश्वरी हो । यहाँ १० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको छ ।
सिर्जना मन्टेश्वरी सम्बन्धी तालिम पनि दिने गर्छिन् । मन्टेश्वरी बालबालिकालाई सिकाउने विधि हो । औपचारिक शिक्षा नभए पनि बालबालिकाले अक्षर चिनाउनेदेखि बानी व्यवहार सिकाउने गरिन्छ । उनको मन्टेश्वरीमा औपचारिक शिक्षा पनि पढाइ हुन्छ । तीन कक्षासम्मका विद्यार्थी पनि यहाँ पढ्छन् । थप माथिल्ला कक्षा सञ्चालनको तयारी गरिरहेको सिर्जना बताउँछिन् ।
बालबालिकाको खेल्ने उमेर भएकाले खेलेर पनि धेरै कुराहरू सिक्ने उनले बताइन् । ‘हामीले आगो तापिरहँदा पनि आगोको रंग कस्तो छ भनेर बालबालिकालाई सिकाउन सक्छौँ । कुराकानी गर्दैगर्दा पनि बालबालिकाले धेरै राम्रा कुराहरू सिक्न सक्छन्’ उनले भनिन्, ‘बालबालिकालाई दबाब नदिएर उनीहरूको साइकोलोजी समेत बुझ्नुपर्ने हुन्छ ।’ बालबालिकाको मन र अभिभावकको विश्वास जितेर मन्टेश्वरी सञ्चालन गरिहेकी सिर्जनाले आफू मनोविर्मशकर्ता भएकोले पनि सजिलो भएको बताइन् ।
‘बालबालिकालाई एसएमली र योगा पनि गराउँछौं । खेल्ने, रमाउने र पढ्ने वातावरण छ,’ उनले भनिन् । सिर्जना बालबालिकालाई कसरी स्वच्छ वातावरण दिने भन्नेबारे सिक्न केही समय बैङ्गलोर गइन् । उनले त्यहाँ स्कुल अफ पीस विषय पढेर फर्किइन् । ६ महिनाको त्यो अध्ययनले उनलाई बालमैत्री मन्टेश्वरी बनाउन मद्दत ग¥यो । सिर्जना भन्छिन्, ‘मन्टेश्वरीलाई थप व्यवस्थित रूपमा अघि बढाउने योजना छ ।’
प्रस्तुतिः मुना हमाल
प्रकाशित मितिः १० माघ २०७७, शनिबार ११:५३
साझा बिसौनी ।