गुमनाम झरना

मनमोहक दृश्य

गुमनाम झरना


कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला अनेक विशेषताका कारण पर्यटकको रोजाइँमा पर्ने गर्छ । हिउँले ढाँकिएका श्रृंखलाबद्ध हिमाल, बहुमूल्य जडिबुटी, पाटन तथा खर्कहरू, तालतलैया, मठमन्दिर, स्याउ बगैंचा, परम्परागत सीप र शैलीहरू जुम्लाका सम्पत्ति हुन् । रोचक, अनौठो र चाखलाग्दो संस्कृतिका कारण पर्यटकहरू जुम्लामा पुग्छन् ।

पछिल्लो समय चर्चाको विषय बनेको छ, पातारासी गाउँपालिका पेरेको ‘शंकर झरना’ । जिल्लाकै सबैभन्दा आकर्षक रहेको झरनालाई स्थानीयले ‘छरा’ झरना भनेर चिन्दछन् । भगवान शंकरको जस्तो आकृति देखिने यो झरनाको प्रवद्र्धन गर्नसके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने तातोपानी गाउँपालिका वडा नम्बर ५ का केशवप्रसाद न्यौपानेले बताए । पातारासी गाउँपालिकाका पूर्व कर्मचारी समेत रहेका न्यौपानेले यो झरना प्रचार–प्रसारको अभावमा ओझेलमा परे पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको बताए ।

‘झरना छ भन्ने मात्र सुनेको थियौं, गत मंसिर २ गते ६ जनाको टोली त्यहाँ पुग्यो, निकै आकर्षक र अनौठो झरना रहेछ’ उनले भने । माथिबाट सिधा बगेर झरेको पानी झरनाको बीच भागमा ठोक्किएर एक्कासी दायाँ–बायाँतर्फ फर्किएको दृश्यले शंकर भगवानको आकृति जस्तो देखिने उनले जानकारी दिए । त्यहाँ पुग्ने आन्तरिक पर्यटकले अहिले शंकर झरनाको नामले चिनाउन थालेका छन् । बीच पहरोमा पुगेर दुईतिर फाट्ने झरनामा नियमितजसो पर्ने इन्द्रेणीले यहाँको दृश्य झनै मनमोहक देखिने गरेको तातोपानीका स्थानीय टिकाप्रसाद न्यौपानेले बताए । ‘गुमनाम झरनाको मनमोहक दृश्य देख्दा हामी अचम्मित भयौं, हावाको गतिसँगै झरनाको प्रवाहले बयली खेल्दै पहरामा यताउता ठोक्किँदा झरनाको स्वरूप झन आकर्षक देखिन्छ’ उनले भने ।

झरनालाई पर्यटकीय स्थलको रूपमा विकास गर्न झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग मर्मत सम्भार हुन आवश्यक छ । तर झरनाको प्रसार–प्रचार हुन नसक्दा ओझेलमा परेको स्थानीयको भनाइ छ । ‘हामीले यो झरनालाई प्रचार–प्रसार गर्न सक्यौं भने यहाँ पर्यटकहरू आउने देखिन्छ’ स्थानीय शिवराज बोहोराले भने ।

पातारासीको डिल्लीचौरबाट दुई घण्टा हिँडेर पुगिने यो झरनासम्म मोटर बाटो बन्न सके पर्यटकीय गन्तव्य बन्ने स्थानीयको भनाइ छ । यता पातारासी गाउँपालिकाका अध्यक्ष लक्षीमन बोहोराले वर्षौवर्ष गुमनाम रहेकोे झरनालाई प्रचार–प्रसार गरी पर्यटकीय गन्तव्य बनाउने बताए । ‘यहाँका स्थानीय बाहेक कसैलाई पनि यो झरनाबारे जानकारी थिएन, अहिले चर्चा मा आएपछि मात्रै हामीले थाहा पायौं’ अध्यक्ष बोहोराले भने ।

प्रकाशित मितिः   १० माघ २०७७, शनिबार ११:५१