पर्यटन पूर्वाधार निर्माणमा उदासीनता

वीरेन्द्रनगर नगरपालिका–७ स्थित आँखा अस्पतालचोकको उत्तरपूर्वमा चौहान पार्क निर्माणको गुरुयोजना बनेको छ । उक्त स्थानलाई पार्कस्थलको रूपमा विकास गर्न मास्टर प्लान बनाइएको हो । अहिले उक्त क्षेत्रमा वरिपरी पर्खाल लगाउने काम भइरहेको छ । हालसम्मको प्रगति हर्दा निर्माण कार्यको गति निकै सुस्त छ ।

आर्थिक वर्ष २०७६/०७७ मा ठेक्का सम्झौता भएको उक्त काम जम्मा १५ प्रतिशत मात्रै सम्पन्न भएको छ । ठेक्का सम्झौता भएको झण्डै सात महिना पुग्दासमेत समेत पर्खालको काम १५ प्रतिशत मात्रै सकिएको छ । एक वर्षमा सक्नेगरी मजदुर कन्स्ट्रक्सन प्रालि वीरेन्द्रनगर–६ सुर्खेतले कामको जिम्मा लिएको छ ।

२०७७ असार ३० गते सम्झौता भइ २०७८ साउन ३० गते सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले कामको जिम्मा लिए पनि हालसम्म कामको गति भने बढ्न सकेको छैन । डिभिजन वन कार्यालयको एक करोड ७० लाख बजेटमा पर्खाल लगाउने कामको जिम्मा लिएको ठेकेदार कम्पनीले काममा ढिलाइ भएको स्वीकारेको छ । ठेकेदार कम्पनीका सम्पर्क व्यक्ति सुशान्त कुँवरले निर्माण सामग्री अभावका कारण काममा ढिलाइ भएको बताए । ‘सरियाको मूल्य एकदमै बढेको छ,’ उनले भने, ‘बालुवा र ढुङ्गा खुलाउने काम समेत भएको छैन ।’ कामदारको समेत अभाव रहेका कारण निर्माण कार्यमा बाधा पुगेको उनी बताउँछन् । डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत तथा सूचना अधिकारी टेकबहादुर रावलले ठेकेदार कम्पनीका कारण काममा ढिलासुस्ती भएको जनाए ।

यस्तै, पर्यटकीय तथा ऐतिहासिक महत्व बोेकेको बुलबुले तालको गुरुयोजना निर्माण भएको तीन वर्ष बितिसकेको छ । पाँच वर्षमा विस्तार तथा विकास गर्ने योजनासहितको मास्टर प्लान यतिबेला अलपत्र छ । आर्थिक वर्ष २०७३/०७४ मा बुलबुले उद्यानको विकासका लागि गुरुयोजना बनेको थियो । गुरुयोजनामा टिकट घर, स्वीमिङ्ग पुल, पार्किङ्ग, रेष्टुरेण्ट, ग्रीन हाउस, विश्राम कक्ष, ताल विस्तार, चिल्ड्रेन पार्क, कमल ताल, बाटो, रिङ्गरोड निर्माण गर्ने उल्लेख छ । यसका साथै महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट, उद्यान क्षेत्रभित्र सोलार लगायतका २२ वटा योजना गुरुयोजनामा समेटिएको छ । यी योजनामध्ये केही काम भने सम्पन्न भइसकेको छ । क्रमागत योजना अन्तर्गत ३१ करोड ६३ लाख रूपैयाँ बजेट अनुमान गरी गुरुयोजना निर्माण गरिए पनि लामो समयसम्म उल्लेख्य काम हुन नसकेको हो ।

अहिले उद्यानमा ताल विस्तार, रेलिङ्ग, फुटपाथ, बोटिङ्गडेग र २० वटा सोलार राख्ने कामहरू भइसकेका छन् । तर अन्य कामहरू भने हुन सकेका छैनन् । बुलबुले उद्यान ताल विस्तारको लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट आर्थिक वर्ष २०७५/०७६ मा ५ करोड रूपैयाँ विनियोजन गरी टेण्डर भए पनि काम नहुँदा उक्त बजेट फ्रिज गएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा बुलबुले उद्यानको ताल विस्तारको लागि तीन करोड रूपैयाँ विनियोजन भएको र सोही अनुसार काम भएको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जनाए । बुलबुले उद्यानका लागि हरेक वर्ष बजेटको व्यवस्था गरी गुरुयोजना अनुसार काम सम्पन्न गर्ने उनले बताए ।

करिब ११ हजार स्क्वायर मिटर रहेको ताल हाल २८ हजार स्क्वायर मिटर फराकिलो गराइएको वन निर्देशनालयका जलाधार अधिकृत शिखर चपाईंले जानकारी दिए । उनका अनुसार बुलबले ताल विस्तारका लागि अमर–मजदुर जेभी ठेकेदार कम्पनीले जिम्मा लिएको छ । उनले हाल इत्राम खोलामा जाली हाल्ने काम समेत सुरू भएको बताए । आर्थिक वर्ष २०७७/०७८ मा ७६ लाख बजेटमा पाँच सय ५० मिटर खोला क्षेत्रमा पर्खाल लगाउने काम भएको उनले बताए । तत्काल बुलबुले तालको वरिपरी रेलिङ्ग र फुटपाथ निर्माणका लागि समेत तयारी भएको बताइएको छ ।

त्यस्तै, वीरेन्द्रनगर–४ स्थित वन निर्देशनालय अन्तर्गत बजेट कार्यान्वयन हुने गरी सहिद पार्क निर्माण हुँदैछ । आर्थिक वर्ष २०७६/०७७ मा स्तम्भ, ठूलो फाउण्डेशन लगायतका काम सम्झौता मितिभन्दा ढिला गरी सम्पन्न भएका थिए । उक्त कामको जिम्मा अभियान निर्माण सेवाले लिएको थियो । सम्पन्न भएका कामका लागि एक करोड २२ लाख रकम खर्च भइसकेको छ । पार्कमा फूलबारी बनाउनेलगायतका काम बाँकी छन् । आर्थिक वर्ष २०७७÷०७८ मा सहिद पार्कको वरीपरी पर्खाल लगाउने गरी न्यू विशाल कन्स्ट्रक्सन प्रालि सुर्खेतले ७७ लाखमा जिम्मा लिएको छ । काम सम्पन्न भएको छैन । सहिद पार्कभित्रका केही संरचनाबाहेक अधिकांशको काम बाँकी रहेको वन निर्देशनालयका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले बताए । क्रमागत योजना अनुरूप प्रत्येक वर्ष विनियोजन भएको बजेट अनुसार संरचनाहरू निर्माण गरिने उनले जनाए ।

सुर्खेतमा केही नयाँ र केही पुराना पर्यटकीय स्थलहरू निर्माण र पुनर्निर्माणमा तीनै तहका सरकारले लगानी गरेका छन् । त्यसका लागि गुरुयोजना समेत निर्माण भएका छन् । तर सबै ठाउँमा आधा–आधी मात्रै काम सम्पन्न भएका छन् । पर्यटकीय स्थलका पूर्वाधार निर्माणमा निर्माण व्यवसायी तथा बजेट कार्यान्वयन गर्ने निकायको उदासीनता देखिएको छ । काँक्रेविहार, देउतीबज्यै मन्दिर, बुलबुले ताल, सहिद पार्क, पैदलमार्ग लगायतका सुर्खेतका दर्जनौं पर्यटकीय तथा धार्मिक र पुराताŒिवक स्थलको संरचना निर्माणको काम सुरुवात गरे पनि गति भने सुस्त देखिएको हो ।

प्रकाशित मितिः   १० माघ २०७७, शनिबार ११:४७