निर्देशक र क्याम्पस प्रमुखद्वारा राजीनामा
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)का निर्देशक र क्याम्पस प्रमुखले राजीनामा गरेका छन् । विश्वविद्यालयमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफूहरूमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ ।
मौका परीक्षा दिन पाउनुपर्ने माग राखी विश्वविद्यालयका विद्यार्थीहरू दुई सातादेखि आन्दोलित छन् । विद्यार्थीको आन्दोलन दबाउन प्रभावकारी काम नगरेको भन्दै उपकुलपति सिंहले क्याम्पस प्रमुख र निर्देशकमाथि अश्लील शब्द प्रयोग गरेको उनीहरूको आरोप छ । सामूहिक राजीनामा दिनेहरूमा व्यवस्थापन संकाय र कानुन संकायका निर्देशक, इन्जिनियरिङ्ग, मानविकी तथा समाजशास्त्र, शिक्षा र व्यवस्थापन संकायका क्याम्पस प्रमुखहरू रहेका छन् ।
यता विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहले भने उनीहरूको राजीनामा स्वीकृत हुने बताए । ‘गलत मागलाई साथ दिने गरी आएको राजीनामा स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने । आफूले शैक्षिक गुणस्तर सुधारका निम्ति सबै क्याम्पस प्रमुखलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएको भन्दै उनले निर्देशन मान्न नचाहनेले राजीनामा दिएको दाबी गरे । उनी भन्छन्, ‘पहिले स्पष्टीकरण माग गरी आवश्यक प्रक्रिया अगाडि बढाइन्छ । स्पष्टीकरण सन्तोषजनक नलागेमा राजीनामा स्वीकृत हुन्छ ।’ आफूले विद्यार्थीहरूलाई सम्झाएर ताला खोल्न लगाउन क्याम्पस प्रमुखहरूलाई गरेको आग्रहलाई उनीहरूले गलत रूपले बुझेको उपकुलपति सिंहको भनाइ छ ।
प्रकाशित मितिः ९ माघ २०७७, शुक्रबार ११:२१
साझा बिसौनी ।