कृषिमा युवा
कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर मानवीय क्षति प¥यायो । धेरैले ज्यान गुमाए । यो क्रम अझै रोकिएको छैन । संक्रमित र मृतकको संख्या थपिनेक्रम जारी नै छ । मानवीय क्षतिका साथसाथै यसले आर्थिक क्षेत्र पनि नराम्रोसँग प्रभावित बनायो । नेपाल पनि यसको सिकार हुनपुग्यो । कोरोना केबल स्वास्थ्य समस्या मात्र रहेन यसको असर रोजगारीमा प¥यो । धेरै मानिसहरू बेरोजगार भए । व्यापार–व्यवसाय धरासायी बने । कृषि क्षेत्र उसैगरी प्रभावित बन्यो । कोरोना कहर नियन्त्रणमा आइसकेको छैन । त्यसकारण असर भविष्यसम्म रहने नै छ । जसले गर्दा खाद्यन्न अभाव, खाद्य असुरक्षा तथा भोकमरीजस्ता समस्याहरू निम्तिन सक्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।
नेपाल कृषिप्रधान मुलुक हो । यहाँका अधिकांश नागरिक कृषिमै निर्भर छन् । तर पनि हामी परनिर्भर छौं । आफैलाई आवश्यक खाद्यन्नको माग आफ्नै देशको उत्पादनबाट पूर्ति हुन सकेको छैन । आयात गर्नुपर्ने हुन्छ । यो विडम्बना हो । परनिर्भरताले देश विकसित हुन सक्दैन । समृद्धिको लक्ष्य हासिल हुन सक्दैन । त्यसैले खाद्यन्नमा आत्मनिर्भर बनाउनेतर्फ केन्द्रीत हुन जरुरी भइसकेको छ । निर्वाहमुखी कृषिबाट न व्यक्तिको जीवन समृद्ध बन्छ र न त्यसले मुलुकको समृद्धिमा थप योगदान पु¥याउन सक्दछ । ठूलो संख्यामा युवाहरू बेरोजगार भइरहेको समयमा उनीहरूको श्रमशक्ति कृषिमा लगाउन सकेको खण्डमा मुलुकले फड्को मार्न सक्दछ । त्यसका लागि आजका युवाहरूलाई उत्पदनमा जोडन जरुरी छ । मुलुकको हरेक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको छ । युवा शक्ति कुनै पनि देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसंख्याको सर्वाधिक सक्रिय, उर्जावान र गतिशील समूह पनि हो । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकोले यिनको विकास नभइ देशको विकास असम्भव छ ।
नेपालमा कृषि क्षेत्रबाहेक अन्य क्षेत्रले ठूलो जनसंख्यामा रहेको युवाहरूलाई समेट्ने सम्भावना न्यून रहेको छ । ठूलो संख्यामा कृषि व्यवसाय सुरुवात भएको खण्डमा त्यही परिमाणको कृषि सामग्रीको आपूर्ति तथा व्यवस्थापनको आवश्यकता पर्ने हुनाले रोजगारीका स्रोत र सम्भावनाहरू पनि बढ्छन् । रोजगारी बढ्नु भनेको बेरोजगारी घट्नु हो । बेरोजगारी घट्नु भनेको गरिबी न्यूनीकरण हुनु हो । गरिबी न्यूनीकरण हुनु नै समृद्धितर्फ अघि बढ्नु हो । त्यसका लागि कृषिलाई अवसरमा बदल्न अनिवार्य छ ।
कृषि विकासका कार्यक्रम सरकारले सञ्चालन गर्दै आएको छ । तर सञ्चालित कार्यक्रमहरूले अपेक्षित प्रतिफल दिन सकेका छैनन् । यसको हुनुका कारण के हो भने सरकार प्रभावकारी योजना निर्माणमा भन्दा लोकप्रिय हुने खालका कार्यक्रममा केन्द्रित हुने गरेको छ । यसले तत्कालिन अवस्थामा लोकप्रिय देखिए पनि अन्ततः त्यसले दीर्घकालीन परिणाम दिन सक्दैन । त्यसैले युवाहरूलाई समेट्नेगरी कार्यक्रम बनाउन आवश्यक छ । जसले सक्रिय युवाशक्तिलाई उत्पादनसँग त जोड्छ नै अर्थतन्त्र बलियो बनाउने अभियानमा पनि योगदान पुर्याउँछ ।
प्रकाशित मितिः ९ माघ २०७७, शुक्रबार ११:२०
साझा बिसौनी ।