सुस्तायो कोरोना परीक्षण

केही महिना पहिले कोरोना भाइरस ‐कोभिड–१९) संक्रमण पत्ता लगाउन दैनिक हजारौं स्वाब संकलन गरेर परीक्षण गर्ने गरिएको थियो । पुस महिनायता भने कोरोना परीक्षण निकै सुस्ताएको छ । अहिले सरदर दैनिक एक सयभन्दा पनि कम संख्यामा मात्र परीक्षण हुने गरेको हो ।

कोरोना जोखिम टरेको छैन । पछिल्लो समय पनि संक्रमणको जोखिम उस्तै छ । तर, स्वाब संकलन तथा परीक्षणको दायरा भने घटाइएको हो । प्रदेश स्वास्थ्य सेवा महाशाखाको तथ्याङ्कअनुसार माघ महिनाका ६ दिनमा जम्मा एक सय ७१ जनाको मात्रै परीक्षण भएको छ । माघ १ गते ४३ जनाको परीक्षण भएको छ भने २ गते परीक्षण शून्य छ ।

यस्तै, माघ ३ गते २१ जनाको परीक्षण भएकोमा ४ गते परीक्षण नै भएको छैन । ५ गते ८० जना र ६ गते २७ जनाको कोरोना परीक्षण गरिएको छ । माघयता महाशाखाको तथ्याङ्कले माघ महिनायता दैनिक एक सय जनाको पनि कोरोना परीक्षण नभएको देखाएको छ ।

कोरोना संक्रमणको महामारीको सुुरुवाती महिनामा हजारौं परीक्षण हुँदै आएकोमा अहिले परीक्षण ह्वात्तै घटाइएको छ । देशभर सबै क्षेत्र पूर्ण रूपमा खुल्न थालेपछि परीक्षणको दायरा पनि साँघुरो बनाउँदै लगिएको हो । महाशाखाका अनुसार जेठमा १५ हजार ६ सय ७०, असारमा १९ हजार चार सय ९४, साउनमा १२ हजार दुई सय ४६, भदौमा २१ हजार चार सय एक, असोजमा १४ हजार दुई सय ५५, कार्तिकमा सात हजार सात सय ३५, मंसिरमा तीन हजार सात सय १४ र पुसमा दुई हजार ७३ जनाको कोरोना परीक्षण भएको छ ।

कर्णाली प्रदेशमा माघ ६ सम्म ९६ हजार सात सय ५९ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये सात हजार चार सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा सात हजार दुई सय १८ कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रदेशका चार स्थानमा कोरोना परीक्षण ल्याब छन् । प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुम–पश्चिमको चौरजहारीमा कोरोना परीक्षण हुँदै आएको छ । यी प्रयोगशालामा पहिले दैनिकजसो सरदर सात÷आठ सय संख्यामा परीक्षणका लागि स्वाब संकलन हुने गरेका थिए ।

महाशाखाका प्रमुुख वृषबहादुर शाहीले अहिले लक्षण देखिएकाहरूको मात्र परीक्षण गर्ने गरिएकाले संख्या घटेको जनाए । संक्रमणको शंका लागेपछि मात्रै परीक्षण र कन्ट्याक्ट टे«सिङ हुने गरेको उनी बताउँछन् । उनका अनुसार समुदायमा कोरोना संक्रमणको जोखिमको अवस्था बुझ्न यतिबेला एन्टिजेन विधिबाट पनि परीक्षण भइरहेको छ । उक्त विधिबाट समुदायमा परीक्षण गरेर विश्लेषण गर्ने काम भइरहेकाले यसको रिजल्टको आधारमा परीक्षणको दायरा बढ्न सकिने शाहीले बताए ।

प्रकाशित मितिः   ७ माघ २०७७, बुधबार ११:०१