सार्वजनिक यातायात बन्दको घोषणा
सुर्खेतमा आज सार्वजनिक यातायात बन्द हुने भएका छन् । सुर्खेतमा सञ्चालित यातायात प्रालिहरूले एक दिन सवारी बन्दको घोषणा गरेका हुन् । आठ वटा यातायात प्रालिले मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै वीरेन्द्रनगर नगरपालिकाको विरोधमा सवारी बन्द गर्ने बताएका छन् ।
भर्खरै सञ्चालनमा आएको सिटी बसपार्कमा नगरपालिकाले दुई वटा यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो । हाल १० वटा यातायात व्यवसायीहरूको सहमतिमा इन्डोर रूपमा टिकट काउण्टर सञ्चालन गरिरहेको अवस्थामा दुई वटा प्रालिलाई मात्र नयाँ संरचना बनाउन दिइएको भन्दै अरू प्रालिले विरोध जनाएका हुन् ।
नगरपालिकाले आफैले बनाएको कार्यविधिविपरीत काम गरेको देउती नागरिक यातायात प्रालिका अध्यक्ष कमल खड्काले बताए । व्यवसायीहरूले सरकारले सिण्डीकेट सिस्टम हटाइसकेको अवस्थामा पनि ठूला यातायात व्यावसायीहरूको नाममा नगरपालिकाले आफूहरूलाई पक्षपातपूर्ण व्यवहार गरेको विज्ञप्तीमार्फत बताएका छन् ।
सुर्खेतमा सञ्चालित देउती नागरिक यातायात प्रालि, काँक्रेविहार यातायात प्रालि, नमस्ते सुर्खेत यातायात सेवा प्रालि, हिल्सा यातायात प्रालि, पञ्चकोशी यातायात प्रालि, सुर्खेत बुलबुले यातायात प्रालि, सुर्खेत देउती यायायात प्रालि र सिद्धपाइला यायायात प्रालिले बुधवार यातायात सञ्चालन नगर्ने बताएका छन् । केही व्यवसायीहरूलाई मात्र संरचना बनाउन दिने नगरपालिकाको निर्णय नसच्याएसम्म चरणबद्ध आन्दोलनमा जाने यायायात प्रालिहरूले चेतावनी दिएका छन् ।
प्रकाशित मितिः ७ माघ २०७७, बुधबार १०:५९
साझा बिसौनी ।