निर्वाचनको तयारी धमाधम

प्रतिनिधिसभा विघटन भएपछि सरकारले आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेको छ । निर्वाचन तोकिएकै मितिमा हुने÷नहुने दोधारकाबीच निर्वाचन आयोगले भने आफ्नो तयारी थालेको छ । यतिबेला जिल्ला निर्वाचन कार्यालयहरूले निर्वाचन लक्षित गतिविधि अघि बढाएका छन् ।

सत्तारुढ दल नेकपाभित्रको विवाद कानुनी लडाइँको तहसम्म पुगेपछि निर्वाचन हुने/नहुनेमा शंका–उपशंका गर्न थालिएको छ । कतिपयको आँकलन चुनाव नभइ संसद् पुनस्र्थापना हुन्छ भन्ने छ भने कोही चुनाव तोकिएकै मितिमा सम्पन्न हुने तर्क गरिरहेका छन् । यतिबेला नेकपाका दुवै समूह दलको आधिकारिताको लडाइँमा छन् । संसद् विघटनको विषय अदालतमा विचाराधीन अवस्थामा छ । संसद् विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।

यस्तो परिस्थितिमा पनि निर्वाचन आयोगले वैशाख १७ र २७ गते दुई चरणमा तोकिएको निर्वाचनको तयारी थालेको हो । जिल्ला निर्वाचन कार्यालयहरूले निर्वाचन लक्षित कार्यक्रमहरू सुरु गरेका छन् । आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारीमा जुटेको कार्यालयहरू जनाएका छन् ।

सुर्खेतमा मतदाता नामावली अद्यावधिकको काम चलिरहेको छ । आगामी फागुन २१ गतेसम्म सम्पूर्ण काम सक्ने गरी तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी निर्मला रेग्मीले बताइन् । उनका अनुसार आयोगबाट स्वीकृत कार्यक्रम जिल्ला निर्वाचन कार्यालय पठाउने, प्रमुख नामदर्ता अधिकारी तोक्ने, जिल्ला निर्वाचन कार्यालयबाट तथ्यांक प्राप्त गर्ने, तथ्यांक एकीकरण गर्ने र प्राप्त तथ्यांकको जिल्लागत मतदाता नामावली पीडीएफ तयार गर्ने काम भइरहेका छन् । सहायक नामदर्ता अधिकारीको छनोट गर्ने, विभिन्न कलष्टरमा जिल्ला निर्वाचन अधिकारीलगायतको तालिम सञ्चालन गर्ने कार्यक्रमहरू पनि चलिरहेको जिल्ला निर्वाचन अधिकारी रेग्मीले बताइन् ।

त्यस्तै अब केन्द्रमा विवरण एकीकरण गर्ने र दोहोरो नाम हटाउने, आयोगबाट अन्तिम मतदाता नामावली स्वीकृत गर्ने, प्रकाशन गर्ने र छपाइमा पठाउने काम हुने बताइएको छ । सुर्खेतमा एक सय ३८ मतदान केन्द्रहरूको पुनरावलोकन गर्ने काम पनि भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । त्यसका लागि सबै मतदान केन्द्रहरूमा कार्यालयको टोली पुगेर जीपीएसमार्फत फोटो खिची निर्वाचन आयोगमा पठाउनुपर्ने उनले बताइन् । कार्यालयले पश्चिम सुर्खेतमा केन्द्र पुनरावलोकनको काम सकेको छ भने पूर्वी क्षेत्रमा काम भइरहेको छ ।

कार्यालयले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्दैछ । प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउन सम्बन्धित सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिनुपर्ने छ । यस्तै कसैले झुट्टा विवरण दिइ नामावलीमा समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, प्रकाशित नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम नामावलीबाट हटाउनको लागि सूचना दिने, बसाइँ सरी अन्यत्र गएका लगायतको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्ने काम माघ १६ र १७ गते दुई दिनमा गरिनेछ ।

यस्तै माघ १८ र १९ गते मतदाता नामावलीमा झुट्टा विवरण दिएकोमा प्रमाणसहित सफाइको मौका दिने, प्रकाशित नामावलीमा भएको त्रुटि सच्याउनको लागि प्रमुख निर्वाचन अधिकारी समक्ष पेश गर्नको लागि विवरण तयार गर्न १८ गतेदेखि २० गतेको समय तोकिएको छ । जिल्ला निर्वाचन अधिकारीका अनुसार निर्वाचन पूर्वका मुख्य काम फागुन २ गतेसम्म सकिनेछन् । निर्वाचनका लागि जिल्ला कार्यक्रम तथा अनुगमन समिति र स्थानीय सहयोग समन्वय तथा प्रचार–प्रसार समिति समेत बनाइने छ ।

निर्वाचनको मिति घोषणा भइसकेकाले नयाँ नामावली संकलन तथा दर्ताको काम भने हुने छैन । गत पुष ५ गते संसद् विघटन भएकै दिन सरकारले मध्यावधि निर्वाचनको मिति तोकेको थियो ।

यसैबीच निर्वाचनको मिति तोकिएपछि नागरिकता पाएकाहरूले पनि नामावली दर्ता गर्न पाउनुपर्ने माग राजनीतिक दलहरूले गरेका छन् । मंगलवार जिल्ला निर्वाचन कार्यालय सुर्खेतले आयोजना गरेको मतदाता नामावली अद्यावधिक सम्बन्धित अन्तरक्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले मतदाता नामावली निरन्तर दर्ता गरिनुपर्ने बताए । निर्वाचनको मिति तोकिएपछि नागरिकता पाएकाहरूले पनि निर्वाचनमा भाग लिन पाउने वातावरण बनाइनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द सुवेदीले राज्यलाई दोहोरो खर्च हुनबाट जोगाउनुपर्ने बताए । उनले नागरिकता प्राप्त गर्न बित्तिकै मतदाता नामावलीमा नाम दर्ता हुनुपर्ने भन्दै निर्वाचनको मिति तोकिए पनि नामावली संकलन रोक्न नहुने जनाए ।

 

सुर्खेतमा थपिए १५ हजार मतदाता

सुर्खेतमा करिब १५ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमा १४ हजार आठ सय ९९ नयाँ मतदाता थपिएका हुन् । २०७४ सालको निर्वाचनमा सुर्खेतमा दुई लाख चार हजार पाँच सय ७७ मतदाता रहेका थिए । अबको निर्वाचनमा जिल्लामा दुई लाख १९ हजार चार सय ७६ मतदाता हुनेछन् । सबैभन्दा बढी मतदाता वीरेन्द्रनगर नगरपालिकामा थपिएको कार्यालयले जनाएको छ । पहिले ५८ हजार ६ सय ४४ मतदाता रहेको वीरेन्द्रनगरमा अहिले ६२ हजार तीन सय २७ पुगेका हुन् ।

त्यस्तै भेरीगंगा नगरपालिकामा यसअघिको निर्वाचनमा २६ हजार पाँच सय चार मतदाता रहेकोमा हाल २८ हजार ६ सय २० पुगेका छन् । लेकवेशी नगरपालिकामा पहिले १८ हजार आठ मतदाता थिए भने अब २० हजार एक सय ६३ मतदाता रहेका छन् ।

पञ्चपुरी नगरपालिकामा पनि मतदाताको संख्या बढेको छ । १८ हजार ६ सय ५३ मतदाता रहेको नगरपालिकामा हाल २० हजार एक सय ८६ पुगेका छन् । यसअघि गुर्भाकोट नगरपालिकामा २८ हजार चार सय ८६ मतदाता थिए भने अब ३० हजार तीन सय ९५, बराहताल गाउँपालिकामा १४ हजार आठ सय ३५ मतदाता रहेकोमा हाल १६ हजार ११ पुगेका छन् ।

सिम्ता गाउँपालिकामा १५ हजार आठ सय ६१ मतदाता रहेकोमा अहिले १७ हजार ९१, चिङ्गाड गाउँपालिकामा नौ हजार पाँच सय ६० मतदाता रहेकोमा हाल १० हजार तीन सय ५२ र चौकुने गाउँपालिकामा १३ हजार एक सय ८५ रहेकोमा हाल १४ हजार तीन सय ३१ मतदाता पुगेका छन् । थपिएका मतदातामध्ये अन्तिम नामावली प्रकाशित हुञ्जेल केही संख्या भने घटबढ हुनसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ७ माघ २०७७, बुधबार ११:०२