कैदीबन्दीलाई पानी दिने आश्वासन

जुम्ला कारागारमा रहेका कैदीबन्दी लामो समयदेखि दुषित पानी पिउन बाध्य छन् । उनीहरूले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँग खानेपानी र बिजुलीको व्यवस्थापन गरीदिन माग गरेका छन् । खानेपानी र बिजुलीको समस्या रहँदै आएको कारागारमा अनुगमनका क्रममा मन्त्री भण्डारीसँग कैदीबन्दीले यस्तो माग गरेका हुन् ।

‘खानेपानी र बिजुलीको समस्या लामो समयदेखि भोग्दै आएका छौं,’ मन्त्रीसमक्ष कैदीबन्दीले भने, ‘अहिले तिला नदीको पानी जेनेरेटरमार्फत तानेर कारागारमा ल्याउने गरिएको छ । त्यहीँ पानी पिउनुको विकल्प छैन ।’ मन्त्री भण्डारीले कारागार सुधारगृह भएकाले सरकारले बन्दीहरूको मागअनुसार खानेपानी र बिजुली व्यवस्थापन गरीदिने प्रतिबद्धता जनाए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट १० लाख बजेट कारागारको खानेपानी र बिजुलीका लागि उपलब्ध गराइने मन्त्री भण्डारीले बताएका हुन् ।

मन्त्री भण्डारीसँग कारागार पुगेका जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने खानेपानी र बिजुली जिल्ला सदरमुकाम खलंगाकै समस्या रहेको बताए । ‘यहाँका नागरिकले पनि खानेपानी र बिजुलीको समस्या झेल्दै आएका छन् । तैपनि कारागार संवेदनशील क्षेत्र भएकाले खलंगा खानेपानी उपभोक्तासँग नियमित खानेपानी उपलब्ध गराइदिन भनेका छौं’, प्रजिअ थापाले भने ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:२८