कोरोना अस्पतालले पाएनन् डाक्टर

संघीय सरकारले कर्णालीका ६६ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पतालका लागि प्रतिपालिका १० लाख रूपैयाँ बजेट उपलब्ध गराएको छ । बजेट तथा कार्यक्रम पठाएको तीन महिनाभन्दा बढी समय भइसक्दा समेत अधिकांश स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याएका छैनन् ।

जुम्लाको तातोपानी गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि एक चिकित्सक (मेडिकल अधिकृत आठौँ तह)सहित दुई जना स्टाफ नर्सको दरखास्त आह्वान गर्‍यो । स्टाफ नर्समा दरखास्त परे पनि चिकित्सकमा भने दरखास्त परेन । गाउँपालिकाले दुई पटकसम्म दरखास्त आह्वान गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि तल्लो तहका स्वास्थ्यकर्मीहरूकै भरमा कोभिड अस्पताल सञ्चालन गरिएको छ ।

संघीय सरकारले कर्णालीका ६६ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पतालका लागि प्रतिपालिका १० लाख रूपैयाँ बजेट उपलब्ध गराएको छ । बजेट तथा कार्यक्रम पठाएको तीन महिनाभन्दा बढी समय भइसक्दा समेत अधिकांश स्थानीय तहले अस्पताल सञ्चालनमा ल्याएका छैनन् ।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा एकसाता अघि कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ । त्यहाँ पनि अहिलेसम्म एक जना डाक्टर छैनन् । पालिकाले पटक–पटक विज्ञापन गर्दा पनि डाक्टर नगएका हुन् । एचए, स्टाफ नर्स र अहेवको भरमा अस्पताल सञ्चालन भइरहेको प्रमुख उपेन्द्र थापाले बताए ।

‘पटक–पटक दरखास्त आह्वानका लागि विज्ञापन गरियो,’ उनले भने, ‘एक जना चिकित्सक पनि सम्पर्क नआएपछि तल्लो तहका स्वास्थ्यकर्मीबाट सेवा दिइरहेका छौं ।’ उनले उक्त अस्पताललाई सरुवा रोग नियन्त्रण अस्पतालका रूपमा विकास गर्न लागिएको भए पनि चिकित्सक नै आउन नमान्ने समस्याले चुनौती थपिएको जनाए ।

कालीकोटका पनि अधिकांश स्थानीय तहमा सञ्चालित कोभिड अस्पतालमा डाक्टर छैनन् । शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईले डाक्टरसहित स्वास्थ्यकर्मी आह्वान गरे पनि एक जना स्टाफ नर्सले मात्र दरखास्त दिएको बताए । उनी भन्छन्, ‘स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले डाक्टर पाउनै मुस्किल छ । कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री खरिद गर्न सूचना निकालेका छौं । डाक्टरका लागि पनि धेरै पटक विज्ञापन गर्दा कोही आएनन् ।’ जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लाका सबै पालिकामा अस्थायी कोभिड अस्तालसमेत बनेका छैनन् । तिलागुफा नगरपालिकामा मात्रै कोभिड अस्पताल सञ्चालनमा आएको छ । अरु स्थानीय तह कतिपय अस्पताल सञ्चालनको तयारीमा छन् भने केहीमा आइसोलेशन सेन्टरहरू मात्र निर्माण गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएपछि संघीय सरकारले गएको भदौ अन्तिमतिर अस्पताल नभएका स्थानीय तहमा उपचार सहज गराउन अस्थायी कोभिड अस्पतालका लागि बजेट उपलब्ध गराउने निर्णय गरेको थियो । पाँच बेडको कोभिड अस्पतालमा एक जना चिकित्सक (मेडिकल अधिकृत आठौँ तह) सहित दुई जना स्टार्फ नर्स र एक जना कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ । यसका लागि प्रतिपालिका दश÷दश लाख बजेट दिइएको छ । संघीय सरकारले कर्णालीका ६६ वटा स्थानीय तहमा अस्थायी कोभिड अस्पतालका लागि बजेट उपलब्ध गराएको हो । तर डाक्टर नआउँदा कर्णालीका धेरै स्थानीय तहमा कोरोना अस्पताल सञ्चालन हुन सकेका छैनन् । संघीय सरकारको बजेटमा स्थानीय तहहरूले सञ्चालनमा ल्याएका अस्थायी कोभिड अस्पतालमा चिकित्सकहरू जान नमानेका हुन् ।

सरकारले तीन महिनासम्म अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि बजेट पठाएकोमा म्याद थप्ने विषयमा भने कुनै परिपत्र नआएको पालिकाहरूले जनाएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले आफूहरूले कोभिड अस्पताल सञ्चालन गरेको तीन महिना पुगिसकेको बताए । खार्पुनाथमा असोज पहिलो सातादेखि नै अस्पताल सञ्चालनमा ल्याइएको थियो । ‘हामीसँग एक जना डाक्टर हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले संक्रमित पनि नभएकाले कोभिड अस्पतालमा डाक्टर हुनुहुन्न ।’ कोभिड अस्पताल कहिलेसम्म सञ्चालन गर्ने भन्नेबारे अन्योल रहेको उनी बताउँछन् ।

केही स्थानीय तहमा अस्थायी कोभिड अस्पतालका लागि बजेट समेत आएको छैन । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले कोभिड अस्पताल बनाउने भनेर कार्यक्रम आए पनि बजेट उपलब्ध नभएको जनाए । अहिले लक्षण नदेखिएका संक्रमित होम–आइसोलेशनमा र लक्षण सहितकालाई प्रदेश अस्पतालमा पठाउनुुपर्ने बाध्यता रहेको अध्यक्ष शाहीले बताए । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले स्थानीय तहमा कोभिड अस्पताल सञ्चालन गर्ने भनिएता पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको बताए । ‘केही स्थानीय तहले मात्रै कोभिड अस्पतालको सेवा सुरू गरेका छन्,’ उनले भने, ‘दक्ष जनशक्तिको अभावमा अस्पताल सञ्चालनमा चुनौती देखिएको हो ।’ उनले सेवा सुविधा कम भएर पनि डाक्टरहरू दुर्गममा जान नमानेको हुनसक्ने बताए ।

सरकारले स्थानीय तहमा अस्थायी कोरोना अस्पताल बनाएर कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने योजना ल्याए पनि भौतिक संरचना र डाक्टरको अभावमा अधिकांश पालिकामा अस्पताल सञ्चालनमा आउन नसकेका हुन् । कर्णाली प्रदेश सरकारले २० वटा पालिकाहरूलाई कोभिड अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण सहयोग गर्न बजेट छुट्याएको छ । बजेट कार्यान्वयनमा भने आएको छैन ।

प्रकाशित मितिः   ४ माघ २०७७, आईतवार १०:३०