ठगी आरोपमा दुई जना पक्राउ

जग्गाधनीलाई थाहा नै नदिएर अर्काको नाममा जग्गा नामसारी गरिदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पीडितको जाहेरीका आधारमा घटनामा संलग्न रहेको आंशकामा प्रहरीले जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरूप साँवत र लेखापढी व्यवसायी अमरसिंह कटुवाललाई नियन्त्रणमा लिएको हो ।

जग्गाधनी सौगात रावतले आफ्नो जग्गा झुक्काएर अरुको नाममा नामसारी गरिदिएको भन्ने ठगीको उजुरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले बताए । उनका अनुसार साँवत र कटुवाललाई शुक्रवार जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । साँवतलाई पुस २९ गते र लेखापढी व्यवसायी कटुवाललाई माघ १ गते पक्राउ गरिएको हो । ‘ठगीको आरोपमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं,’ डीएसपी घर्तीले भने । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा जग्गाधनी सौगातको नाममा भएको वीरेन्द्रनगर–७ शंखरचोकस्थित ६ कठ्ठा जग्गा सन्तोष ठाकुरको नाममा मालपोत कार्यालय सुर्खेतबाट गएको असार महिनामा नामसारी भएको पाइएको छ ।

यसैबीच, जिल्ला मालपोत कार्यालयका कर्मचारीले नायव सुब्बा साँवतलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । केही व्यापारी र प्रहरी प्रशासनको मिलेमतोमा विनाकारण पक्राउ गरेको भन्दै उनीहरूले शुक्रवार केही समय कार्यालयको काम समेत रोकेका थिए ।

प्रकाशित मितिः   ३ माघ २०७७, शनिबार ११:२१