उद्यम

बालीघरे करवीरको व्यावसायिक यात्रा

आफ्नो खेतबारीमा उब्जाएको खाद्यन्नले मुस्किलसँग तीन महिना खान पुग्ने । गाउँमा कमाइ गरेर भुल्ने कुनै मेसो थिएन । पुख्र्यौंली पेशा आरन । गाउँमा वर्षभरी फलामका घरायसी औजारहरू बनाइदिए वापत थोरै अन्न पाइँन्थ्यो । बालीघरे साहुँको इच्छाले जे–जति दिए त्यसमै चित्त बुझाउनु पर्ने ।

बालीघरे प्रथाले परिवार धान्न मुस्किल हुँदै गयो । परिवारको गर्जो टार्न दैलेखका करवीर कामी मजदुरीका लागि भारत हानिए । गाउँमा उमेर पुगेका सबै युवा कमाइका लागि यसैगरी कालापहाड जान्थे । कमाउन प्रत्येक वर्ष भारत जाने–आउने क्रम चलिरहयो । जीवनको उर्जाशील उमेर उनले भारतमै बिताए । झण्डै दुई दशकसम्म भारत जाउँ–आउँ गरिरहे । यतिका वर्ष परदेशमा मजदुरी गर्नु करवीरको रहर थिएन । मजबुरी थियो । परिवारको खर्च जुटाउन मजदुरीका लागि भारत नगइ करवीरलाई करै हुन्थ्यो ।

बाँगो बलियो उमेर छउञ्जेल करवीर भारत गइरहे । उता कमाएको पैसाले यता घर व्यवहार चल्यो । ‘जहान केटाकेटीका आवश्यकता बढे । एक्लैको कमाइले परिवार पाल्न हम्मे–हम्मे हुने । अनि बसाइँ सरेर सुर्खेत आयौं,’ करवीरले विगतको कहानी सुनाए ।

करिब १० वर्ष पहिले अभाव टार्न करवीरको परिवार दैलेखबाट सुर्खेत झ¥यो । थातथलो छोडेर हिँड्नु उनको बाध्यता थियो । घर खर्च धान्नै धौ–धौ भएपछि उनले त्यो ठाउँनै छोड्ने निधो गरेका थिए । सुर्खेत झरेका उनले यहाँ पनि कमाइ गरेर परिवार धान्न मुस्किल थियो ।

काम खोज्दै धेरै ठाउँ धाए । ज्यालामजदुरीको काम समेत पाएनन् । के गर्ने र कसो गर्ने उनी फर्साद्मा परे । सुर्खेतमा झनै गाह्रो हुँदै गयो । करवीरले सोचे, हातमा सीप छ आरनको काम गर्छु । उनले वीरेन्द्रनगर–११ पिपिराचोकमा बसेर आरनको काम थाले । करवीरले बाबु–बाजेले गर्दै आएको आरन पेसा नै अँगाल्ने निधो गरे । अरूले काम नदिएपछि यहीँ सीपले उनलाई वीरेन्द्रनगरमा अड्यायो ।

उनी विगत १० वर्षदेखि वीरेन्द्रनगरको पिपिराचोकमा आरन व्यवसाय गरिरहेका छन् । कुनै बेला बालीघरे प्रथामा सीमित उनको पेसा अहिले व्यावसायिक बनेको छ । करवीर फलामका विभिन्न घरायसी सामग्री तयार पार्छन् । उनको आरनमा हँसिया, कोदालो, बञ्चरोलगायतका सामग्री बनाउने र मर्मत गर्नेहरू आइरहन्छन् । उनी भन्छन्, ‘राम्रो आम्दानी हुन्छ । पुख्र्यौली पेसालाई व्यावसायिक बनाएपछि घरखर्च जुटाउन निकै सजिलो भएको छ ।’ आफूसँग भएको सीपलाई सदुपयोग गरेका उनले अहिले आरन व्यवसायबाटै परिवारको आर्थिक अवस्था सुध्रिँदै गएको बताए ।

करवीरलाई यहीँ पेसाले सन्तुष्टि दिएको छ । पुख्र्यौंली पेसा अपनाएर उनले १३ जना परिवारको खर्च यसैबाट धानेका छन् । छोराछोरीलाई पढाउनेदेखि परिवारको अन्य खर्च धान्ने काम आरन व्यवसायबाटै चलिरहेको छ । आफ्नै ठाउँमा यही पेसा सुरू गरेपछि उनलाई त्यसयता कालापहाड जान परेन् । कालापहाडमा भोगेका दुःख सम्झदै उनी भन्छन्, ‘भारतमा गएर भारी बोक्ने, अरू काम पनि धेरै गरियो । तर कहिल्यै सुःखको सास फेर्न पाइएन । सधैं दुःख भोगियो ।’

करवीरको आरन व्यवसाय दर्ता छ । राज्यलाई कर तिर्छन् । उनी व्यावसायिक बनेका छन् । ‘व्यवसाय दर्ता गरेरै चलाएको छु,’ उनले भने ।
लोप हुँदै गरेको आरन व्यवसाय पछिल्लो समय धेरैका लागि स्वरोजगारको माध्यम बनेको छ । आरन व्यवसायबाट करवीरजस्ता कर्णालीका सयौँ परिवारले जीविकोपार्जन गर्दै आएका छन् ।

करवीरलाई अहिले एउटा संस्थाले आरन व्यवसाय गर्न आधुनिक मेशिन दिएको छ । पराम्परागत शैली र प्रविधिमै काम गर्दै आएका उनलाई नयाँ प्रविधिले व्यवसायमा ससहज भएको छ ।

अन्तरनिर्भर समाज सुर्खेतले व्यावसायिक प्रवद्र्धनका लागि ग्राण्डिङ्ग मेशिन उपलब्ध गराएको उनले बताए । ‘यो मेशिनले काम गर्न धेरै सजिलो भयो ।

कोरोनाका कारण देशभर लकडाउन हुँदा उनको व्यवसायमा पनि असर प¥यो । घरमै केही औजार बनाउथे । आरन सञ्चालन भइरहेका ठाउँमा जान जोखिम थियो । त्यबेला भने उनले सरसापट गरेर घरखर्च चलाए । व्यापार नभएपछि उनलाई केही महिना गाह्रो भयो ।

अन्तरनिर्भर समाजले आफ्नो व्यवसाय बढाउन ठूलो सहयोग गरेको उनी बताउँछन् । ‘मैले बनाएको सामानहरू काठमाडांैसम्म पुगेको छ । ‘कम्तीमा पनि मासिक २० हजार कमाइ भइरहेको छ,’ उनले भने । करवीरलाई यतिबेला फलामका औजार बनाउन भ्याईनभ्याई छ । आउँदा दिनमा व्यवसायलाई अझै व्यवस्थित बनाउने योजना उनको छ ।

वीरेन्द्रनगर नगरपालिकाका १, १०, ११ र १२ वडा कार्यालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र अन्तरनिर्भर समाजको साझेदारीमा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई विभिन्न व्यवसाय तथा कृषि कार्यमा आवश्यक सहयोग गरिँदै आएको छ । कोरोनापछि उत्पन्न संकटको परिस्थितिमा सहयोग गर्न रोजगारी गुमाएका, गरिब तथा जोखिममा परेका सीमान्तकृत समुुदायका मानिसहरूलाई लक्षित गरी जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको हो । यसै परियोजना अन्तर्गत आरन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले उपकरणहरू तथा मेशिनहरू प्रदान गरिएको थियो । करवीरजस्तै आरन व्यवसाय गर्ने वीरेन्द्रननगरका चार वटा वडाका १४ जनाले आरनको काम गर्न सहज हुने आधुनिक मेसिन पाएका थिए ।


-मुना हमाल

प्रकाशित मितिः   ३ माघ २०७७, शनिबार ११:२५