साझ संवाद

एमयू विवादबारे कसले के भने ?

साझ संवाद


मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केही दिनयता तनावग्रस्त छ । एमयूमा स्थापनाकालदेखि नै विश्वविद्यालय प्रशासन, प्राध्यापक तथा विद्यार्थीहरूबीच विवाद रहँदै आएको छ । पटक–पटकको आन्दोलन र तालाबन्दीले थला परेको एमयूमा केही दिनयता पुनः विवाद सुरू भएको छ । उत्पन्न विवादले झडपको रूप समेत लिइसकेको छ । मौका परीक्षाको माग गर्दै आन्दोलनरत विद्यार्थी र विश्वविद्यालय प्रशासनबीच असमझदारी देखिएको हो । प्राध्यापकहरूका संगठनले समेत विद्यार्थीको आन्दोलनमा समर्थन जनाएपछि विश्वविद्यालय प्रशासन तथा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह यतिबेला अप्ठ्यारोमा परेका छन् । उपकुलपति सिंहले आफू शैक्षिक गुणस्तर सुधारमा लागेको भन्दै विद्यार्थीका माग नाजायज भएको बताउँदै आएका छन् भने प्राध्यापक र विद्यार्थीहरू उपकुलपतिले विश्वविद्यालय ऐन–नियमविपरीत मनोमानी निर्णय गरेको आरोप लगाएका छन् ।

प्राज्ञिक थलोमा किन सधैंजसो अशान्ति ? बारम्बार विवाद र झडपको अवस्था किन ? विद्यार्थीका मागप्रति उपकुलपतिको धारणा के छ ? विद्यार्थीको आन्दोलनमा प्राध्यापकहरूको ऐक्यबद्धता किन ? विवादको समाधान के ? लगायतका विषयमा हाम्रा सहकर्मी सीता वलीले एमयूका उपकुलपति, प्राध्यापक र विद्यार्थीहरूसँग गरेको संवादको सम्पादित अंशः

  • नाजायज मागमा सम्झौता हुँदैन

मैले विश्वविद्यालयको परीक्षा प्रणालीसँगै गुणस्तर सुधारका लागि काम गरिरहेको छु । विद्यार्थीहरू नाजायज माग राखेर आन्दोलन गरिरहेका छन् । हिजो विश्वविद्यालयलाई दुहुनो गाइ बनाएर खानेहरूले नै आज राजनीतिक चलखेल गर्दैछन् । उनीहरूकै उक्साहटमा विद्यार्थीले आन्दोलन गरिरहेका छन् । इन्जिनियरिङ्ग संकायको चार वर्षे अवधिमा आठौं सेमेष्टरमा विद्यार्थीले ४० वटा विषय अध्ययन गर्नुपर्छ । जसमा ३२ वटासम्म विषय लागेका विद्यार्थीहरू यो आन्दोलनमा सहभागी छन् । निरन्तर अध्ययनमा लागेका र अनुशासित विद्यार्थी उनीहरूको आन्दोलनमा छैनन् ।

अर्को कुरा विश्वविद्यालय सर्टिफिकेट मात्रै बाँड्ने थलो मात्र होइन । यही अवस्थामा हामीहरू अगाडि बढ्यौं भने भोलि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको शिक्षाको गुणस्तर कहाँ पुग्छ ? हामीमाथि नै प्रश्न उठ्न सक्छ । भोलि यहाँबाट उत्पादन भएका विद्यार्थीहरू बजारमा नबिक्न सक्छन् । त्यसैले मैले नेपालमा मात्रै होइन विश्वमा नै एमयूका विद्यार्थीले प्रतिस्पर्धा गर्न सकून र अब्बल बनुन् भनेरै शैक्षिक गुणस्तर सुधारको काम थालेको छु । म शैक्षिक सुधारका सवालमा जुनसुकै अवस्थामा पनि सम्झौता गर्दिन ।

  • थुप्रै कदम चाल्न बाँकी

हरेक कामको आफ्नै प्रक्रिया छ । ज्ञापन–पत्र बुझाउने पनि विधि प्रक्रिया होला नि ? संकाय प्रमुख, परीक्षा व्यवस्थापन प्रमुख, क्याम्पस प्रमुखलगायत धेरै निकाय विश्वविद्यालयमा छन् । सिधै उपकुलपतिले नै ज्ञापन–पत्र बुझिदिनुपर्ने ! मैले विद्यार्थीहरू मकहाँ आउँदा पनि बारम्बार भनेको हो– परीक्षा व्यवस्थापन प्रमुखकोमा जानुहोस् । मैले विद्यार्थीलाई चार पटकसम्म फर्काएको छु ।

विश्वका कुनै पनि विद्यालयमा यस्तो अभ्यास छैन कि बारम्बार मौका परीक्षा होस् । हामीले आठ वटा सेमेष्टरमा चार पटकसम्म त मौका परीक्षा दिने व्यवस्था गरेकै छौं । त्यति गर्दा पनि पास नहुने केही विद्यार्थी भोलि कस्तो इन्जिनियर भएर बजारमा बिक्छ ? मैले विद्यार्थीहरूलाई थप आन्दोलित हुनेगरी कुनै अभिव्यक्ति दिएको छैन । माग सरासर गलत र गुणस्तरमाथि नै प्रश्न उठ्ने खालका छन् । त्यसैले कुनै पनि हालतमा यसमा मेरो सम्झौता हुँदैन । यो मात्रै होइन विश्वविद्यालयको गुणस्तर सुधारको लागि मैले थुप्रै कदम चाल्न बाँकी छ ।

यहाँ कुनै सोझो किसानको इमान्दार छोराछोरी आन्दोलनमा छैन । राजनीतिक आडमा, भ्रष्टाचार गर्न नपाएर र निजी कलेजको संरक्षणमा हिजोदेखि नै आन्दोलन गरिरहने एउटै ग्रुप छ । हिजोका विश्वविद्यालयका पदाधिकारीहरूले बसालेको थितिले गर्दा नै आज यो अवस्था निम्तिएको हो । हिजो के भयो म जाँन्दिन । तर, भोलि मध्यपश्चिमाञ्चल विश्वविद्यालय भ्रष्टाचारमुक्त, गुणस्तर र विश्व शैक्षिक बजारमा बिक्ने खालका विद्यार्थी उत्पादन गर्ने थलो बन्नेछ । म यही लक्ष्य र उद्देश्यका साथ काम गर्न चाहन्छु । अहिलेको आन्दोलन राजनीतिक स्वार्थ केन्द्रित छ । विद्यार्थी र अभिभावकले यसलाई बुझ्नुपर्छ । यो योजनाबद्ध तरिकाले लागेको समूह हो । निजी कलेजको रसपानीमा केही विद्यार्थी आन्दोलनमा लागेका छन् । हामीहरूले विद्यार्थीका जायज माग नसुन्ने भनेकै छैनौं । तर प्रक्रियागत तरिकाले आउनुपर्छ भन्ने हो । यस्तै प्रवृत्ति दोहोरीराखे एमयूलाई कसैले विश्वास नगर्ने वातावरण बन्न सक्छ । हाम्रो चिन्ता यसमै हो ।

– उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह

  • गल्ती–कमजोरी सुधार्दै जाउँ

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विगतदेखि नै आन्दोलन भइरहन्छन् । यसको दोष कसलाई दिनुहुन्छ ? यसको दोषी एउटा पक्ष मात्र नभइ हामी सबै हौं । विश्वविद्यालय हुर्किने चरणमा छ । सिकाइकै चरणमा रहेका बेला गरिने अस्वाभाविक गतिविधिले विश्वविद्यालयलाई पक्कै राम्रो गर्दैन । यस्तो भइरहनुमा हामी प्राध्यापक, विद्यार्थी, प्रशासन सबैको दोष हुन पनि सक्छ । तर, हिजो जे गर्दै आएका थियौं आज पनि त्यही गर्दै जानुपर्छ भन्ने मेरो विचार होइन । विगतका गल्ती–कमजोरी सुधार्दै परिवर्तन भएर नयाँ गतिमा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा हो ।

विश्वविद्यालय भनेपछि एउटा प्रदेश र देशको मात्रै होइन । त्यसैले यहाँको उत्पादन विश्वमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ । हाम्रा उपकुलपतिज्यूले पनि विश्वविद्यालयलाई नयाँ ढङ्गले अगाडि बढाउन खोज्नुभएको छ । यसमा हाम्रो समर्थन र सहयोग रहन्छ नै । तर हिजोदेखि एउटा अभ्यास गर्दै आएका विद्यार्थी, प्रशासनका कर्मचारी र प्राध्यापकहरूलाई एकैचोटि नयाँ ढङ्गले अगाडि बढाउन खोज्दा असजिलो पक्कै भएको छ । हिजोका गलत गतिविधिलाई प्रशासन, प्राध्यापक र विद्यार्थीहरूले सुधार गर्दै जानुपर्छ । आजभोलि विश्वविद्यालयमा भइरहेको आन्दोलनले विद्यार्थीलाई तत्कालका लागि न्याय त होला । तर, इन्जिनियरिङ्ग जस्तो प्राविधिक विषयमा प्रत्येक सेमेष्टरमा फेल भइ मौका परीक्षा माग्ने प्रचलन कुनै विश्वविद्यालयमा छैन । यसो गरिनु राम्रो पनि होइन । भोलि यस विश्वविद्यालयबाट उत्पादन भएका इन्जिनियर बजारमा बिक्ने कि नबिक्ने ? हिजोका दिनमा जे भए पनि अब विश्वविद्यालयको गुणस्तर सुधार गर्न जरुरी छ ।

– भीम रोकाय, प्राध्यापक
मध्यपश्चिमाञ्चल विश्वविद्यालय

  • संवाद र सहकार्य जरुरी

विश्वविद्यालय विधि र एउटा लयमा हिँड्नुपर्छ । सरोकारवाला निकायसँगको सहकार्यमा विश्वविद्यालय चल्नुपर्छ भन्ने नै विद्यार्थीहरूको माग होला । उपकूलपतिज्यूले नयाँ ढङ्गले विश्वविद्यालयलाई अगाडि लैजान खोज्नुभएको छ । त्यो एकदमै राम्रो पक्ष पनि हो । तर, अचानक काम गर्न खोज्दा असजिलो हुँदो रहेछ । विद्यार्थीरूको आन्दोलन जायज र नाजायजभन्दा पनि मौका परीक्षा कति पटकसम्म लिने भन्ने विषयमा वार्ता र संवादबाट टुङ्ग्याउन जरुरी छ । नेपालकै सन्दर्भमा काठमाडौंको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा मौका परीक्षा लिने अभ्यास छ । तर, बारम्बार मौका परीक्षा लिँदा गुणस्तरीयताको पनि प्रश्न उठ्छ ।

– चित्रबहादुर के.सी. (केन्द्रीय सदस्य)
नेपाल राष्ट्रिय प्राध्यापक संगठन तथा मप विश्वविद्यालय समितिका अध्यक्ष

  • मौका परीक्षाले गुणस्तर घटाउँदैन

अन्य संकायमा भन्दा इन्जिनियरिङ्ग संकायका विषयहरू अप्ठ्यारा हुने भएकोले हामीहरूले मौका परीक्षाको माग राखेका हौं । त्यो अभ्यास मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हिजो पनि थियो । हिजोदेखि नै विद्यार्थीहरूले मौका परीक्षा दिन पाइन्छ भनेर केही विषयको निरन्तर परीक्षा दिने र कतिपय विषय मौका कुरेर दिने गर्दै आएका छन् । मौका परीक्षाले शैक्षिक गुणस्तर घटाउँछ भन्ने मलाई लाग्दैन । बरू गुणस्तर बढाउनमा मद्दत गर्छ । हामीहरू अझै पनि सहमतिमा जानुपर्छ भन्नेमा छौं । पहिलेदेखि गर्दै आएको अभ्यास एक्कासी नगर्ने भनेपछि असहज भएको हो । यसलाई विस्तारै हटाए पनि मौका परीक्षा तत्कालका लागि भने हटाउनु हुँदैन ।

– टोपेन्द्रप्रसाद पौडेल (राज), विद्यार्थी
मप विश्वविद्यालय सिभिल ईन्जिनियरिङ्ग

प्रकाशित मितिः   १ माघ २०७७, बिहीबार ०६:०३