कृषि उत्पादन ताजा राख्न ‘कोल्ड स्टोर’ सञ्चालनमा

चिस्यान केन्द्रमा सुरूमै ३९ हजार सात सय ८० किलो अदुवा राखिएको छ । सुर्खेत र सल्यानका कृषकहरूले उत्पादन गरेको अदुवा त्यहाँ राखिएको हो ।

चिस्यान केन्द्रमा सुरूमै ३९ हजार सात सय ८० किलो अदुवा राखिएको छ । सुर्खेत र सल्यानका कृषकहरूले उत्पादन गरेको अदुवा त्यहाँ राखिएको हो ।


सुर्खेतको भेरीगंगा नगरपालिका–१० छिन्चुमा प्रदेशकै ठूलो ‘कोल्ड सेन्टर’ सञ्चालनमा आएको छ । महिला कृषकहरूमात्र सहभागी साना किसान कृषि सहकारी संस्थाले आफ्नै पहलमा चिस्यान केन्द्र स्थापना गरी सञ्चालन गरेको छ । २०७५ सालबाट निर्माण थालिएको चिस्यान केन्द्र यो वर्षदेखि सञ्चालनमा आएको हो । अब कृषकहरूले उत्पादन गरेका बिउ तथा कृषिजन्य अरू उत्पादनहरू लामो समयसम्म ताजा राख्न प्रदेशबाहिरका चिस्यान केन्द्रमा लिनुपर्ने बाध्यता हटेको छ ।

साना किसान कृषि सहकारी संस्था वि.सं. २०६७ मा स्थापना भएको थियो । वि.सं. २०७३ मा संस्थाले एक सय जना कृषकहरूको सहभागितामा ‘आलु बिउ’ उत्पादन समूह गठन ग¥यो । उक्त समूहमा आवद्ध कृषकहरूले सुरूको सिजनमा पाँच सय क्वीण्टल आलुको बिउ उत्पादन गरे ।

वर्षेनी समूहले उत्पादन गर्ने आलुको बिउ सहकारीले खरिद गरेर बिक्री–वितरण गर्दै आएको थियो । बिउ उत्पादन भइसकेपछि पुनः रोप्ने सिजनसम्म ताजा राख्न चिस्यान केन्द्र चाहिने भएकाले सहकारीले त्यो बिउ लिएर कोहलपुरको चिस्यान केन्द्रमा राख्ने गथ्र्यो । २०७३ साल यता आफ्ना कृषकहरूले उत्पादन गरेको बिउ तथा कृषिजन्य अरू उत्पादनहरू संस्थाले कोहलपुरको चिस्यान केन्द्रमा राख्यो । अब यो वर्षदेखि भने संस्थाले आफ्नै पहलमा नजिकै बनेको चिस्यान केन्द्रमा ती कृषि वस्तु राख्ने भएको छ । संस्थाले महिला कृषकहरूकै सहभागितामा सञ्चालक समिति बनाएर चिस्यान केन्द्र सञ्चालनको जिम्मा समेत दिएको छ ।

सहकारीको सञ्चालक समिति र उत्पादक कृषकहरूको उप–समूह बनाएर २०७५ मा साना तथा मझौला आयस्तर वृद्धि आयोजनामा छिन्चुमा चिस्यान केन्द्र स्थापनाका लागि सहयोग गर्न प्रस्ताव गरियो । प्रस्ताव स्वीकृत भएपछि निर्माणको काम थालिएको थियो । आयोजना बाहेकका अरु निकायबाट पनि आर्थिक सहयोग जुटेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञानु भुषालले बताइन् । उनले भनिन्, ‘अहिले दुई सय मेट्रिक टन कृषि वस्तु राख्न मिल्ने कर्णाली प्रदेशकै पहिलो ठूलो तथा आधुनिक चिस्यान केन्द्र सञ्चालनमा आएको छ ।’ उनका अनुसार ‘कोल्ड सेन्टर’ सञ्चालनमा आएसँगै कृषकले आफ्ना कृषि उत्पादन राख्न र आफूलाई चाहिएको बेला निकाल्न सक्नेछन् ।

साना किसान कृषि सहकारीमा सञ्चालक समितिदेखि शेयर सदस्यसम्म सबै महिला कृषकहरू मात्र छन् । सहकारी स्थापना गर्दा २७ जना महिला कृषक आवद्ध थिए । अहिले भने आठ सय ६१ जना सदस्यहरू छन् । नजिकै चिस्यान केन्द्र बनेपछि उत्पादित कृषि वस्तुको मूल्य पहिलेको भन्दा धेरै पाउने अपेक्षा आलु बिउ उत्पादन समूहकी सदस्य खगीसरा पुनको छ । एक सिजनमा कम्तीमा २५ किलो आलुको बिउ उत्पादन गर्ने उनले यसअघि चिस्यान केन्द्रका लागि कोहलपुर जानुपर्ने हुन्थ्यो । ‘पहिले सहकारीले किनेर ताजा राख्नका लागि कोहलपुर लैजानुपथ्र्याे । उत्पादकले पाउने मूल्य सन्तोषजनक थिएन,’ उनले भनिन्, ‘अब नजिकै कोल्ड सेन्टर बनेपछि मूल्य पनि पहिलेको भन्दा केही बढी पाइएला भन्ने आशा छ ।’

दुई करोड ९७ लाख २५ हजार लागतमा उक्त ‘कोल्ड सेन्टर’ निर्माण गरिएको हो । जसमा कर्णाली प्रदेश सरकार, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, साना तथा मझौला आयस्तर वृद्धि आयोजना (रिजम) तथा स्थानीय कृषि समूहको लगानी छ ।

चिस्यान केन्द्रमा सुरूमै ३९ हजार सात सय ८० किलो अदुवा राखिएको छ । सुर्खेत र सल्यानका कृषकहरूले उत्पादन गरेको अदुवा त्यहाँ राखिएको हो । प्रदेशभरका कृषकहरूले आफ्नो समूह वा व्यक्तिगत रूपमा यहाँ आफ्ना उत्पादित कृषि वस्तु राख्न सक्ने छन् । कृषकहरूले उत्पादित कृषि वस्तु चिस्यान केन्द्रमा राखेवापत एक सिजनमा प्रतिकिलो साढे चार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । स्थानीय स्तरका कृषकको प्रत्यक्ष लगानी र सरकारको अनुदानबाट बनाइएको चिस्यान केन्द्रले कृषकहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   १ माघ २०७७, बिहीबार ०६:०३