नगरपालिकालाई शिक्षकको ध्यानाकर्षण
वीरेन्द्रनगर नगरपालिकाभित्र सञ्चालित सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूको दरबन्दी मिलानमा ढिलाइ गरिएको भन्दै शिक्षकहरूले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले आफ्ना मागहरू राख्दै नगर शिक्षा प्रमुख र नगरकार्यपालिका लगायतका निकायमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगरपालिकाले दरबन्दी मिलान नगर्दा जिल्लाभरी नै सरूवाका काम प्रभावित भएको शिक्षकहरूले बताएका छन् । समयमै शिक्षकको दरबन्दी मिलान नगरिँदा विद्यालयहरूमा पठनपाठनसमेत प्रभावित भएको संगठन सुर्खेतका सचिव डिलाराम भण्डारीले बताए । शिक्षक र विद्यालयप्रति नगरपालिका र नगर शिक्षा शाखा उदासिन देखिएको उनले आरोप लगाए ।
कोरोना महामारीले थला परेका विद्यालयलाई नगरपालिकाको ढिलासुस्तीले थप मर्का परेको संगठनले बताएको छ । नगरपालिकाले आफूहरूको पटक–पटकको अनुरोधलाई बेवास्ता गरेको भन्दै संगठनले तत्काल दरबन्दी मिलानको काम अघि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ ।
प्रकाशित मितिः २९ पुष २०७७, बुधबार २१:२६
साझा बिसौनी ।