कर्णालीका कृषि उत्पादन युरोप निर्यात

कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादित कृषि वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन थालेका छन् । अधिकांश कृषि उत्पादनमा परनिर्भर कर्णालीले यहाँको अदुवा भने युरोप निर्यात गर्दै आएको छ । मसला र औषधीय गुण भएको अदुवा बिक्रीका लागि युरोपेली बजारमा पठाउने गरिएको छ । केही वर्षयता उत्पादन विदेश निर्यात हुन थालेपछि किसानहरूले व्यावसायिक रूपमा अदुवाखेती गर्न थालेका छन् । विगतमा घैयाको भाउमा जाने कर्णालीको अदुवाले अहिले विश्व बजारमा राम्रै मूल्य पाउन थालेको हो ।

यतिबेला अदुवाको संकलन र बिक्री गर्ने सिजन हो । अदुवा उत्पादक किसानलाई अदुवा बिक्री–वितरण गर्न भ्याइनभ्याइ छ । प्रतिकिलो पाँचदेखि १० रूपैयाँमा बिक्री गर्दै आएका उनीहरूले हाल ३० देखि ७५ रूपैयाँसम्ममा घरबाटै अदुवा बिक्री–वितरण गर्न पाएका हुन् । अदुवा कृषकलाई आफ्नो उत्पादनले बजार नपाउने समस्या पनि नरहेको बताएका छन् । किसानहरूले उत्पादित अदुवा सहज तरिकाले बिक्री–वितरण गरिरहेका छन् । पछिल्लो समय उत्पादनले बजार र मूल्य पाउन थालेपछि अदुवाखेतीमा किसानको आकर्षण पनि बढेको छ । परम्परागतरूपमा गरिँदै आएको अदुवाखेती अहिले आधुनिक एवम् व्यावसायिक तरिकाले गर्न थालिएको छ । कर्णालीका अदुवा कृषकले अदुवालाई नगदे खेतीका रूपमा हेर्न थालेका छन् ।

बजारीकरणमा सहज

झण्डै तीन वर्षदेखि सुर्खेतमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा छ । जसका कारण प्रदेशभरका अदुवा उत्पादक किसानलाई बजारीकरणका लागि सजिलो हुँदै गएको छ । चौरजहारी नगरपालिका– ९ रुकुम–पश्चिमका ७० वर्षीय किसान टेकबहादुर बुढाथोकीले अदुवा किन्ने व्यापारीहरू बारीमै पुग्ने गरेको बताए । ‘खन्दै गरेको अदुवा किन्न व्यापारी त्यहीँ पुग्छन् । पहिले बजारको पहुँच थिएन । उत्पादित अदुवा सामान्यतः बेच्ने र नासोका रूपमा पठाउने गरिन्थ्यो । कति अदुवा त बारीमा नै सडेर जाने गथ्र्यो । हिजो–आज बजारको समस्या छैन,’ उनले भने । यही खेतीबाट आफूले राम्रो आम्दानी गरिहेको उनी बताउँछन् ।

सुर्खेत चिङ्गाड गाउँपालिकाका किसान डम्बर रानाले यसअघि आफ्ना उत्पादन बिक्री तथा निर्यातका लागि भारतीय बजार कुर्नुपर्ने बाध्यता भएकोमा अहिले उक्त बाध्यता हटेको बताए । सुर्खेतमै अदुवा प्रशोधन उद्योग स्थापना भएपछि किसानहरूलाई अदुवाको बजारीकरणमा सजिलो भएको उनी बताउँछन् । ‘आफूले उत्पादन गरेको अदुवाले आफ्नै प्रदेशमा राम्रै मूल्यमा बजार पाउन थालेपछि यसले सामान्य कृषकलाई समेत व्यावसायिक खेती गर्न उत्साहित बनाएको छ,’ रानाले भने ।

कर्णालीमा अदुवाको बढी उत्पादन हुने सल्यान, रुकुम र जाजरकोट हुन् । यी जिल्लाहरू प्रदेश राजधानी सुर्खेतसँग सडक सञ्जालमार्फत जोडिइसकेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–५ छिन्चुको कालीदमारमा अदुवा प्रशोधन उद्योग छ । उक्त ‘द अर्गानिक भ्याली प्रालि’ ले अदुवा, टिमुर, बेसार, अलैँची, मेथी, निबुवा, कफी र लेमन ग्रास जुसको प्रशोधन गर्छ ।

प्रालिले किसानको अदुवालगायतका उत्पादन लिन थालेपछि उनीहरूलाई सहज भएको हो । अर्गानिक माउण्टेन फ्ल्याभर, इन्भेष्टर होम र ओएमएक्स विभी मर्ज भएर निर्माण भएको ‘द अर्गानिक भ्याली प्रालि’ एक करोड तीन लाख शेयर लगानीमा सञ्चालनमा आएको प्रालिका प्रबन्ध निर्देशक समिर नेवाले बताए ।

सुरूमा प्रालिलाई नेपाल सरकार कृषि मन्त्रालय अन्तर्गत उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभीएपी) ले ६२ लाख ८७ हजार रूपैयाँ लगानी गरेको थियो । निर्देशक नेवाले त्यसपश्चात् आफ्नै लगानीमा प्रालि अघि बढाएको बताए । उनका अनुसार प्रालिले आफ्ना उत्पादनलाई नेपाली बजारभन्दा युरोपियन बजारमा निर्यात गर्दै आएको छ । ‘हामीले सुकेको चाना पठाउने काम गर्दै आएका छौं,’ उनले भने, ‘प्रालिले आफ्नो उत्पादन युरोपको विशेषगरी जर्मनीमा पठाउँछ ।’ उनले युरोपियन देशले चिया, तेल, क्याण्डी फ्ल्याभर्ड, मसलाजन्य वस्तुका रूपमा अदुवा प्रयोग गर्ने गरेको बताए । त्यहाँ अदुवाको माग बढी रहेको उनी बताउँछन् ।

प्रालिले युरोपियन मुलुक जर्मन, नेदरल्याण्ड, युक्रेन, स्वीडेनलगायतका देशमा अदुवा निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षमा १०० टन माथि अदुवा निर्यात गरेर पाँच लाख ८० हजार अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा रहेको प्रबन्ध निर्देशक नेवाले बताए । उनी भन्छन्, ‘चालु आर्थिक वर्षमा अदुवाबाटै ६ करोड ७८ लाख ६० हजार नेट आम्दानी गर्ने लक्ष्य लिएका छौं ।’

यसरी पुग्छ युरोपेली बजारमा

‘द अर्गानिक भ्याली प्रालि’ ले कर्णालीको अदुवालाई युरोप निर्यात गर्दा १० चरण पार गर्नुपर्ने हुन्छ । सुरूमा किसानबाट संकलन गरी त्यसलाई स्तरीकरण गर्ने, धुने, काट्ने, सुकाउने, गुणस्तर जाँच्ने, प्याकेजिङ्ग गर्ने, स्याम्पलिङ, लेवलिङ र अन्त्यमा ‘डेलिभर’ गर्छ । प्रालिले यसले आफैंले प्राङ्गारिक प्रमाणीकरणसमेत गर्दै आएको छ । संकलनपश्चात् व्यवस्थित भण्डारण गर्ने ठाउँको भने अभाव छ । भण्डारण नहुँदा वर्षेनी ६० हजार केजी अदुवा कुहिने गरेको प्रालिले जनाएको छ । यो पटक पुसको दोस्रो सातासम्म किसानबाट करिब नौ सय मेट्रिक टन अदुवा संकलन गरिसकिएको प्रालिका प्रबन्ध निर्देशक नेवाले जनाए । एक हजार दुई सय मेट्रिक टन संकलन गर्ने लक्ष्य राखेको प्रालिले अहिलेसम्म तीन करोड ७५ लाख रकम बराबरको नौ सय मेट्रिक टन अदुवा संकलन गरेको हो ।

विगतमा झन्झट भोग्दै आएका किसानहरूले सडक सञ्जाल जोडिएपछि आफ्ना उत्पादनको बजारीकरणमा सजिलो भएको बताएका छन् । शारदा नगरपालिका–१४ सल्यान मालनेटाका किसान कृष्णबहादुर गिरीले विगतमा यो खेती निर्वाहमुखी भए पनि अहिले व्यावसायिक रूपमा गर्न थालिएको बताए । सल्यानको मालनेटा अदुवाखेतीको लागि प्रख्यात ठाउँ मानिन्छ । मालनेटाका एक सय ४५ घरधुरीले अदुवाको व्यावसायिक खेती गर्दै आएका छन् । अदुवा एक÷दुई वर्षदेखि प्रशोधन गरी सुर्खेतले लिँदा किसानलाई निकै सहज भएको गिरीले बताए ।

प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सुर्खेतमा सञ्चालित उद्योगले कर्णालीलाई युरोपसँग जोड्ने काम गरेको बताइन् । सरकार–सहकारी–निजी क्षेत्रको साझेदारीबाट कर्णालीमा यस्तै थुप्रै उद्योगहरू सञ्चालन गर्ने सरकारको लक्ष्य रहेको उनी बताउँछिन् । ‘कर्णालीले आयात मात्र होइन । निर्यात पनि गर्छ भन्ने उदाहरण ‘द अर्गानिक भ्याली प्रालिले’ दिएको छ,’ सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री केसीले भनिन् । कर्णालीमा उद्योग सञ्चालन गर्ने उद्योगीका लागि प्रदेश सरकारले १० वर्षसम्म राजश्व नलिने नीतिगतरूपमा बोल्दै आएको छ । मन्त्री केसीले प्रदेश सरकारले अदुवा प्रशोधन उद्योगलाई लागत साझेदारीका माध्यमबाट सहयोग गर्ने बताउँदै उद्योग व्यवसायीका लागि उत्साहजनक वातावरण सिर्जना गर्ने जनाइन् । कर्णालीमा सञ्चालित प्राङ्गारिकमैत्री उद्योगलाई जतिसक्दो बढावा दिने र यसमा सबै तहका सरकारको दायित्व रहेको उनको भनाइ छ ।