मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुन्छः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको मन्त्रिमण्डल तत्काल पुनर्गठन गर्न लागिएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा रेहका बेला कर्णालीको सत्तारुढ दल नेकपाले पनि मन्त्रिपरिषद् हेरफेर गर्न लागेको हो । मुख्यमन्त्री शाहीले प्रचण्ड–नेपाल समूहका सांसदहरूलाई मात्रै सहभागी गराएर सरकार पुनर्गठनको तयारी थालेका हुन् ।

मुख्यमन्त्री कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले आगामी एक महिनाभित्रमा मन्त्रिमण्डल हेरफेर गरिने बताए । ‘मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ,’ उनले भने, ‘अबको तीन–चार हप्ताभित्रमा मन्त्रिपरिषद् हेरफेर गरिनेछ ।’

नेकपा विवादले अन्य प्रदेशहरूमा समेत सरकार पुनर्गठनको तयारी भइरहेका बेला कर्णालीमा पनि सत्ता समीकरणको खेल सुरू भएको हो । हाल कर्णाली सरकारमा नेकपा (ओली) समूहको प्रतिनिधित्व शून्य गराइएको छ । यसअघि ओली समूहबाट सरकारमा सहभागी तीन जना मन्त्री थिए । डेढ वर्षअघि भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरेका मुख्यमन्त्रीले यसपटक मन्त्रीद्वय दल रावल र नन्दसिंह बुढालाई पनि आफ्नो समूहमा ल्याएका छन् ।

प्रदेशको संसदीय दलमा विगतदेखि दूरी बढिरहेका बेला पछिल्लो राजनीतिक घटनाक्रमले थप विभाजनको अवस्था ल्याएको छ । मुख्यमन्त्री शाहीविरुद्ध दलकै बहुमत प्रदेशसभा सदस्यहरूले अविश्वासको प्रस्ताव ल्याएपछि केही महिनादेखि कर्णालीमा सत्तारुढ दलभित्रै चर्को विवाद थियो । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वएमाले खेमाका प्रदेश सदस्यहरूलाई हस्ताक्षर फिर्ता लिन पठाएर मुख्यमन्त्री शाहीले तत्कालको संकट टारेका थिए । मुख्यमन्त्री शाही पूर्व माओवादी खेमा र हाल नेकपा ‐प्रचण्ड–नेपाल) समूहका हुन् । उनलाई यतिबेला भने मन्त्रिपरिषद् पुनर्गठनमा निकै सहजता देखिएको छ । नेकपाका बहुमत सांसदहरू उनको समूहमा छन् ।

अहिले नै कुन मन्त्रीलाई फिर्ता गर्ने र कसलाई राख्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको मुख्यमन्त्री शाहीले जनाए । दलको विवादले कर्णालीमा बहुमतको सरकार भएर पनि अल्पमतको सरकार जसरी चलाउनु परिरहेको उनले बताए । मुख्यमन्त्री शाहीले लामो समयदेखि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत भएको बताए । ‘मुलुक ठूलो दुर्घटनामा जान सक्छ । न्यायालयले यसबाट बचाउन आवश्यक छ,’ उनले भने । प्रधानमन्त्री ओलीले वैशाखमा तोकेको आवधिक निर्वाचनप्रति लक्षित गर्दै उनले भने, ‘चुनावप्रति जनताको विश्वास छैन ।’

नेकपा स्थायी कमिटी सदस्य तथा नेकपा (प्रचण्ड–माधव) समूहका कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले समेत कर्णालीको मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुने बताइसकेका छन् । उनले सोमवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा हालको मन्त्रिमण्डल समावेशी नभएको भन्दै सबैको प्रतिनिधित्व हुनेगरी गठन गर्ने तयारी गरिएको बताएका हुन् ।

प्रकाशित मितिः   २९ पुष २०७७, बुधबार ०९:४२