प्राध्यापकद्वारा एमयू प्रशासनको निन्दा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा कार्यरत प्राध्यापकहरूले विद्यार्थीहरूको आन्दोलनलाई समर्थन गरेका छन् । प्राध्यापकहरूका विभिन्न संगठनले विश्वविद्यालय प्रशासनले विद्यार्थीमाथि बल प्रयोग गरी द्वन्द्व बढाउने कार्य गरेको भन्दै निन्दा गरेका हुन् । मंगलवार प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, नेपाल प्राध्यापक समाज, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघले संयुक्त विज्ञप्ती जारी गरी विद्यार्थीका जायज मागप्रति विश्वविद्यालय प्रशासनले दमन गरेको बताएका छन् ।

शैक्षिक मागहरू राखेर ज्ञापन–पत्र बुझाउन गएका विद्यार्थीहरूमाथि यही पुस २६ गते प्रहरी लगाएर दमन गरिएको भन्दै प्राध्यापकहरूले विरोध जनाएका छन् । विश्वविद्यालय प्रशासनले प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको मनोबल गिराउने काम गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।

‘प्राज्ञिक थलोको गरिमा घटाउने गरी पटक–पटक यस्ता गतिविधिहरू पुनरावृत्ति हुँदै गएको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा घाइते भएका विद्यार्थीहरूको स्वास्थ्य लाभको कामना गर्दै जायज मागहरू वार्ता र संवादका माध्यमबाट समाधान गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ । प्राध्यापकहरूले विश्वविद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरूको सेवा सुविधा नियमित रूपले उपलब्ध गराउन तथा स्थायित्व प्रक्रिया यथाशीघ्र अगाडि बढाउन पनि माग गरेका छन् ।

विश्वविद्यालय ऐन नियमअनुसार सञ्चालन नभए कडा संघर्षका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि प्राध्यापकहरूले दिएका छन् । मौका परीक्षा दिन पाउनुपर्ने माग राख्दै आन्दोलित विद्यार्थीका कारण एमयूमा केही दिनयता दैनिकजसो विवाद र झडपहरू हुने गरेका छन् ।