‘सञ्चारलाई उपेक्षा’

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले सरकारले सञ्चार क्षेत्रलाई उपेक्षा गरेको बताएका छन् । कोरोना महामारीका समयमा समेत पत्रकारहरूलाई सरकारले ‘फ्रन्टलाइनर’का रूपमा नहेरेको भन्दै उनले मिडियाप्रति सरकार अनुदार रहेको बताएका हुन् । सञ्चारमाध्यम र पत्रकारहरूको हकहितका लागि पटक–पटक सरकारसँग अनुरोध गरे पनि सुनुवाइ नभएको महासचिव विष्टले बताए । ‘समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयन गर्नै सकिएको छैन,’ मंगलवार वीरेन्द्रनगरका सञ्चारकर्मीहरूसँगको भेटमा उनले भने, ‘सञ्चारको स्रोत नै विज्ञापन हो । सरकार यसमा उदासिन देखियो ।’

उनले देशभर १२ अर्बको विज्ञापन बजार भएको भन्दै चार अर्ब सरकारी विज्ञापनसमेत सञ्चार क्षेत्रमा सबै आउन नसकेको जनाए । धेरै प्रयासपछि मिडिया हाउसलाई सरकारले सेवा उद्योगका रूपमा सूचीकृत गरेको उनले जानकारी दिए । राज्यलाई सही बाटो हिँडाउने सञ्चार माध्यममा समेत सरकारले लगानीको वातावरण सिकर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

महासचिव विष्टलाई सुर्खेतस्थित सञ्चार माध्यममा कार्यरत पत्रकारहरूले महासंघले सबै सञ्चारकर्मीहरूको हितका लागि काम गर्नुपर्ने सुझाएका थिए । कोरोना महामारीमा धेरै उद्योगहरूलाई छुट दिएको सरकारले सञ्चार उद्योगलाई बेवास्ता गरेको उनीहरूले बताए ।

प्रकाशित मितिः   २९ पुष २०७७, बुधबार ०९:३७