प्राज्ञिक थलोमा दैनिक झडप

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा स्थापनाकालदेखि नै विद्यार्थी र प्रशासनबीच कलह हुँदै आएको छ । पटक–पटकको तोडफोड र आन्दोलनको मारमा परेको एमयूमा फेरि विवाद बल्झिएको हो । विश्वविद्यालय प्रशासन र विद्यार्थीबीचको असमझदारीका कारण विवादले झडपको रूप लिएको छ ।

यसअघि पनि विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा विद्यार्थीहरूका संगठनले आफ्ना माग पूरा गराउन बारम्बार आन्दोलन गर्ने गरेका थिए । त्यस्ता आन्दोलन अनियन्त्रित बन्दा भौतिक संरचनामा ठूलो क्षति पुग्ने गरेको थियो । पटक–पटक विभिन्न माग राखेर आन्दोलित भइरहने विद्यार्थी यस पटक मौका परीक्षा दिन पाउनुपर्ने मागसहित आन्दोलनमा छन् । विश्वविद्यालय प्रशासन र विद्यार्थीबीचको विवाद बढ्दै जाँदा प्राज्ञिक थलोमा दैनिकजसो झडपको स्थिति बनेको छ । विश्वविद्यालयले आफूहरूलाई ‘रिटेक’ परीक्षाको व्यवस्था नगरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरूले मौका परीक्षाको विषयमा उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहलाई ज्ञापन–पत्र बुुझाउन जाने क्रममा आइतवार साँझ विद्यार्थी र प्रहरीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए । विश्वविद्यालयका पदाधिकारीको सुरक्षार्थ स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास फायर गरेको थियो ।

विद्यार्थीहरूले सोमवार परीक्षा व्यवस्थापन कार्यालयमा समेत तालाबन्दी गरेका छन् । विश्वविद्यालय प्रशासनले आफूहरूका मागको तत्काल सम्बोधन नगरे कडा आन्दोलनमा जाने विद्यार्थी संगठनका नेताहरूले बताएका छन् ।

विश्वविद्यालयले पुस २४ गते नियमिततर्फ स्नातक र स्नातकोत्तर तहको मौका परीक्षा सम्बन्धी सूचना जारी गरेको थियो । जसमा नियमिततर्फ चार वर्षेको सातौं र आठौं सेमेष्टर, पाँच वर्षेको नवौं र दशौं सेमेस्टर तथा स्नातकोत्तरको तेस्रो र चौथो समेस्टरको मात्रै मौका परीक्षा सञ्चालन गर्ने भनिएको छ । सन् २०२० मा तह पार गर्नु पर्नेका लागि भने स्नातक तहतर्फ २०१६ मा भर्ना भएका विद्यार्थी र सन २०१९ मा स्नातक र स्नातकोत्तरको छैटौं तथा दोस्रो समेस्टरको परीक्षा क्रमशः सञ्चालन गर्ने विश्वविद्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

विद्यार्थीहरूले भने सबै विद्यार्थीहरूले मौका परीक्षा दिन पाउनुुपर्ने माग राख्दै आन्दोलन गरेका हुन् । सिभिल इन्जिनियरिङ्गका विद्यार्थी रामचन्द्र भण्डारीले विश्वविद्यालयले विद्यार्थीहरूको मौका परीक्षाको व्यवस्था गर्न माग गर्दा आफूहरूमाथि दमन गरिएको बताए ।

उपकूलपति सिंहले इन्जिनियरिङ्ग विषयको गुणस्तर कायम गर्न मौका परीक्षाको व्यवस्था हटाइएको जनाए । परीक्षामा फेल हुुँदै जाने र मौका परीक्षाको माग गरिरहने प्रवृत्तिको अन्त्य गर्न लागिएको उनले बताए । ‘रिटेक’ परीक्षाको व्यवस्था विश्वविद्यालयले सधैं गर्न नसक्ने उनको तर्क छ ।

‘विद्यार्थीका जायज माग हामी सम्बोधन गर्छौं । तर, जसलाई जतिबेला मौका परीक्षा आवश्यक भयो उतिबेला परीक्षा सञ्चालन गर्न सकिदैन,’ उनले भने । पटक–पटक मौका परीक्षाको अवसर पाएर पनि उत्तीर्ण नहुने विद्यार्थीहरूले आन्दोलन गरेको उपकूलपति सिंहको आरोप छ । ‘३२ विषयसम्म लागेका विद्यार्थी पनि यहाँ छन्,’ उनले भने, ‘एउटा शैक्षिक सत्रमा विद्यार्थीले तीन÷तीन पटकसम्म मौका परीक्षा दिन पाउँछ । मौका परीक्षामा पनि पास नहुनेलाई बारम्बार परीक्षा दिने व्यवस्था कसरी गर्न सकिन्छ ?’

उनले नपढेर पास हुन खोज्ने विद्यार्थी र नपढाएर तलब बुझ्ने प्राध्यापकहरूको प्रवृत्तिविरुद्ध विश्वविद्यालय कडा रूपमा प्रस्तुत हुने बताए । पहिलेका केही पदाधिकारीका कारण जतिबेला पनि मौका परीक्षा दिन पाइने व्यवस्था गरेकाले यस्तो अवस्था निम्तिएको उपकूलपति सिंहले आरोप लगाए । ‘अब यस्ता गतिविधि चल्दैनन् । विश्वविद्यालयमा अराजक गतिविधि गर्ने जो–कोहीलाई कारबाही हुन्छ,’ उनले भने । अराजक गतिविधि गर्नेलाई सार्वजनिक मुद्दा लगाउने र निश्कासन समेत गर्ने चेतावनी उनले दिए ।