नियुक्तिमा ढिलाइ
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सुरुवातदेखि नै विवादरहित रहन सकेन । शिक्षक–कर्मचारी नियुक्तिको विषय होस् या आर्थिक हिनामिना र पदाधिकारी बर्खास्तीको विषय । विद्यार्थी र विश्वविद्यालय प्रशासन तथा पदाधिकारीबीचको विवाद होस् या राजनीतिक खिचातानी र पटक–पटक काठमाडौंमा हुने विश्वविद्यालय सभाको सवालमा विवाद भइरहन्छ । यस्ता अनेक झमेलामा विश्वविद्यालय फस्दै आएको छ । यसै साता मात्र पनि उपकुलपतिलाई ज्ञापनपत्र बुझाउन गएका विद्यार्थीहरू र विश्वविद्यालय प्रशासन तथा प्रहरीबीच झडप हुन पुग्यो । केही विद्यार्थी घाइते समेत भए । शैक्षिक उन्नयनकाभन्दा बढी अनेक गतिविधि र विवादले चर्चामा आउने विश्वविद्यालयभित्रका केही यस्ता महŒवपूर्ण विषयहरू पनि छन्, जसको चर्चा नै हुँदैन । त्यसमध्ये एक हो, लामो समयदेखि पदाधिकारीहरू नियुक्तिमा भएको ढिलाइ ।
विश्वविद्यालयका डीनलगायतका अन्य पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ । लामो समय पदाधिकारीविहीन हुँदा दैनिक प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित भएका छन् । विश्वविद्यालयले गएको असार २२ गते रिक्त संकायका डीन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको थियो । गत असारमा मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकायको डीनका लागि दरखास्त माग गरेको थियो । नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा योग्य व्यक्ति नियुक्त गर्ने भन्दै ती पदका लागि एमयूले पहिलो पटक खुला विज्ञापन गरेको हो । आवेदन माग गरिएको ६ महिना बितिसक्दा पनि ती संकायमा डीन नियुक्ति हुन सकेको छैन । रजिस्ट्रार र चार वटा संकायका डीन पदका लागि खुला विज्ञापन गरेको एमयूले रजिस्ट्रारको नियुक्ति गरे पनि डीन नियुक्तिमा भने ढिलाइ गरेको हो । अहिले सहायक डीनको भरमा संकाय सञ्चालन हुँदै आएका छन् ।
त्यतिमात्रै होइन विश्वविद्यालयले हाल थप दुई वटा कृषि तथा वन विज्ञान संकाय र स्वास्थ्य विज्ञान संकायमा डीन पदका लागि पनि दरखास्त आह्वान गरेको छ । इन्जिनियरिङ्ग संकायका डीनको पद पनि रिक्त छ । कानुन संकाय सुरू भएको झण्डै दुई वर्ष बितिसक्दा डीन नियुक्ति गरिएको छैन । उक्त संकाय कार्यक्रम निर्देशकमार्फत सञ्चालन हुँदै आएको छ । यस्तै, विश्वविद्यालयले गएको कार्तिकमै अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, योजना, विकास र अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको थियो । यी पदहरू पनि लामो समयदेखि रिक्त छन् । विश्वविद्यालयका संकाय, कार्यक्रम र आंगिक क्याम्पसहरूमा प्रमुखको पद खाली रहेको हो । अहिले विश्वविद्यालयका नौ वटा आंगिक क्याम्पस प्रमुखविहीन छन् ।
यसरी लामो समयदेखि विश्वविद्यालयका महŒवपूर्ण पदहरू रिक्त रहँदासमेत पदपूर्तिका लागि ध्यान दिइएको देखिँदैन । प्रमुख पदहरू नै खाली हुँदा त्यसले समग्र विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक उन्नयनको गति सुस्त बनाउँछ । त्यसैले अपेक्षित उपलब्धि हासिल गर्न नसकिरहेको विश्वविद्यालयले यस्ता पक्षहरूमा पनि विशेष ध्यान पु¥याउन जरुरी छ ।
प्रकाशित मितिः २८ पुष २०७७, मंगलवार ०९:०१
साझा बिसौनी ।