झडपमा विद्यार्थी घाइते
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । आइतवार साँझ ७ बजे भएको झडपमा तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यार्थी रोशन बस्नेत, लक्ष्मण बोगटी र तर्कराज शाही घाइते भएका हुन् । विद्यार्थीहरूले प्रहरीले आफूमाथि गोली चलाएको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले भने प्रहरीले गोली नचलाएको बताए । ‘परिस्थिति अनियन्त्रित भएपछि नियन्त्रणमा लिन अश्रुग्यास फालिएको हो । प्रहरीले गोली चलाएको छैन,’ उनले भने ।
इन्जिनियरिङ्ग संकायका विद्यार्थीले परीक्षाका विषयमा उपकुलपति नन्दबहादुर सिंहलाई भेटेर ज्ञापन–पत्र बुझाउन चाहेका थिए ।
विद्यार्थीहरू उपकुलपति कार्यालयमा दिउँसोदेखि नै धर्नामा बसेका थिए । उपकुलपतिले ज्ञापन–पत्र बुझ्न नमानेर निवासतर्फ जान लागेपछि झडप भएको थियो । उपकुलपतिलाई विद्यार्थीहरूले रोक्न खोज्दा झडप भएको प्रहरीले जनाएको छ । झडपको स्थितिलाई नियन्त्रणमा लिने क्रममा केही विद्यार्थीहरू घाइते भएको डीएसपी घर्तीले बताए ।
प्रकाशित मितिः २७ पुष २०७७, सोमबार ०६:०३
साझा बिसौनी ।