एमयूका सबै संकाय पदाधिकारीविहीन
विश्वविद्यालयमा लामो समयदेखि डीन, कार्यक्रम निर्देशक र क्याम्पस प्रमुखहरूको पद रिक्त छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)मा डीनलगायतका पदाधिकारी नियुक्तिमा ढिलाइ भएको छ । लामो समय पदाधिकारीविहीन हुँदा विश्वविद्यालयका दैनिक प्रशासनिक तथा शैक्षिक कार्यक्रमहरू प्रभावित भएका हुन् । विश्वविद्यालयले गएको असार २२ गते रिक्त संकायका डीन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको थियो । आवेदन माग गरिएको ६ महिना बितिसक्दा पनि ती संकायमा डीन नियुक्ति हुन सकेको छैन ।
असारमा रजिस्ट्रार र चार वटा संकायका डीन पदका लागि खुला विज्ञापन गरेको एमयूले रजिस्ट्रारको नियुक्ति गरे पनि डीन नियुक्तिमा भने ढिलाइ गरेको हो । अहिले सहायक डीनको भरमा संकाय सञ्चालन हुँदै आएका छन् । हाल विश्वविद्यालयका सबै संकाय डीनविहीन भएका हुन् ।
विश्वविद्यालयले असारमा मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, विज्ञान तथा प्रविधि संकाय र शिक्षाशास्त्र संकायको डीनका लागि दरखास्त माग गरेको थियो । नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने तथा योग्य व्यक्ति नियुक्त गर्ने भन्दै ती पदका लागि एमयूले पहिलो पटक खुला विज्ञापन गरेको हो । विश्वविद्यालय हाल अन्य दुई वटा संकायको डीनका लागि पनि दरखास्त आह्वान गरेको छ । कृषि तथा वन विज्ञान संकाय र स्वास्थ्य विज्ञान संकायमा डीन पदका लागि पनि दरखास्त आह्वान गरिएको छ । इन्जिनियरिङ्ग संकायका डीनले केही दिन पहिले राजीनामा दिएको विश्वविद्यालय स्रोतले जनाएको छ । अब उक्त संकायको डीन नियुुक्ति प्रक्रिया अघि बढाउने तयारी विश्वविद्यालयले गरेको छ । कानुन संकाय सुरू भएको झण्डै दुई वर्ष बितिसक्दा डीन नियुक्ति गरिएको छैन । उक्त संकाय कार्यक्रम निर्देशकमार्फत सञ्चालन हुँदै आएको छ ।
यस्तै, विश्वविद्यालयले गएको कार्तिकमै अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक, योजना, विकास र अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको थियो । विश्वविद्यालयले अनुसन्धान तथा विकास केन्द्रको निर्देशक पदका लागि पनि दरखास्त आह्वान गरेको छ । यी पदहरू पनि लामो समयदेखि रिक्त छन् । विश्वविद्यालयका संकाय, कार्यक्रम र आंगिक क्याम्पसहरूमा प्रमुखको पद खाली रहेको हो ।
अहिले विश्वविद्यालयका नौ वटा आंगिक क्याम्पस प्रमुखविहीन छन् । यसअघिका क्याम्पस प्रमुखको कार्यअवधि सकिएपछि सो पदका लागि दरखास्त आह्वान गरिएको छ । बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी क्याम्पस बाँके, नारायण क्याम्पस दैलेख, रारा बहुमुखी क्याम्पस मुगु, मुसीकोट खलङ्गा बहुमुखी क्याम्पस रूकुम, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा क्याम्पस प्रमुखको कार्यकाल सकिएको छ । रोल्पाको जलजला बहुमुखी क्याम्पस, सुर्खेतको भेरी शिक्षा क्याम्पस र जनता बहुमुखी क्याम्पस विद्यापुरमा पनि क्याम्पस प्रमुखको पद रिक्त छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले अबको एक महिनाभित्र सबै पदहरूमा नियुक्ति गरिसक्ने बताए । उनका अनुसार ६ वटा संकायका डीनका लागि करिब ३० जनाको दरखास्त परेको छ । रजिस्ट्रार नियुक्तिमै दुई÷तीन महिना समय लागेको र विश्वविद्यालयको सिनेटका कारण पनि अन्य पदमा नियुक्ति गर्न ढिलाइ भएको उपकुलपति सिंहको भनाइ छ । अबको दुई /तीन दिन मै छनोट समिति बनाएर सबै पदमा नियुक्तिको काम अघि बढाइने उनी बताउँछन् । छनोट समितिले प्रत्येक संकायका डीनका लागि तीन/तीन जनाको सिफारिस गर्ने छ । उपकुलपति सिंहले समितिको सिफारिसका आधारमा तीन जनामध्ये उपयुक्त एक जनालाई डीनमा नियुक्त गर्ने छन् ।
डीन, कार्यकारी निर्देशक र निर्देशकहरूका लागि आवेदन दिन न्यूनतम योग्यता मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित संकायका प्राध्यापक वा सम्बन्धित संकायमा सेवा गरेका सह–प्राध्यापक तथा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित संकायका प्राध्यापक हुनुपर्ने उल्लेख छ । आंगिक क्याम्पसहरूका प्रमुखका लागि सम्बन्धित क्याम्पसमा कार्यरत उप–प्राध्यापकले आवेदन दिन सक्नेछन् । डीन, कार्यकारी निर्देशक, निर्देशक र क्याम्पस प्रमुखहरूले व्यैयक्तिक विवरणसहित आवेदनसँगै भिजन पेपर समेत पेश गर्नुपर्ने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयमा हाल आठ वटा संकाय छन् । मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र, इन्जिनियरिङ्ग र कानुन संकाय सञ्चालनमा छन् भने कृषि तथा वन विज्ञान र स्वास्थ्य विज्ञान संकाय विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
प्रकाशित मितिः २७ पुष २०७७, सोमबार ०६:५०
साझा बिसौनी ।