मुगुमा पुनर्संरचना विवाद, ८ आन्दोलनकारी पक्राउ

मुगु ७ मंसिर । छुट्टै गाउँपालिकाको माग गर्दै आन्दोलनमा उत्रिएका मुगुको  रारा, कालै र धैनकोट गाविसका स्थानीयलाइ प्रहरीले पक्राउ गरेको छ । तीन वटा गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका ८ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार संघर्ष समिति संयोजक, दानबहादुर शाही, धर्मराज शाही, देविलाल मल्ल, पद्मनाथ योगी लगायत ८ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्राविधिक समितिले मुगुमा चार गाउँपालिका हुनुपर्ने प्रस्तावसहितको प्रतिवेदन केन्द्रमा पठाएको छ । त्यसमा असहमति जनाउँदै रारा, कालै र धैनकोट गाविसका बासिन्दा सदरमुकाममा आएर आन्दोलन गर्दै आएका छन् ।

बाल बच्चा बोकेर गाउँ-गाउँबाट दुई-तीन दिन पैदल हिँडेर आफूहरु अधिकार माग्न सदरमुकाम आए पनि प्रहरीले धरपकड गरेर शान्तिपूर्ण आन्दोलनमा दमन गरेको उनले आरोप लगाए ।

प्रस्तावित प्रतिवेदन सच्याउन माग गर्दै रारा, कालै र धैनकोट गाविसका बासिन्दाले १९ दिनदेखि आन्दोलन गर्दै आएका छन् । गत शुक्रबारदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेका उनीहरुले तीन दिनदेखि सदरमुकाम गमगढीका सरकारी कार्यालयहरु ठप्प पारेका छन् । सोमबार आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा केही घाइतेसमेत भएका थिए ।

मंगलबार प्रदर्शनको कुनै कार्यक्रम नभएका बेला प्रहरीले संघर्ष समिति संयोजक दानबहादुर शाहीलाई विजय होटलबाट र युवा दस्ता संयोजक धर्मराज शाहीसहित तीन जनालाई गमगढीको बिच बजारबाट पक्राउ गरेको छ ।

प्रकाशित मितिः   ७ मंसिर २०७३, मंगलवार १६:०९