सडकमा सकस, जोखिममा ज्यान
जुम्ला, ७ मङ्सिर । सडक निर्माण भएको लामो समय बित्दा पनि जुम्लाको ताम्ती क्षेत्रका बासिन्दाले गाडी चढ्न पाएका छैनन् । विकट ताम्तीमा सडक निर्माण भएको दुई वर्षभन्दा बढी भइसकेको छ । ताम्ती–कुडारी सडक खण्डअन्तर्गतको तिला नदीमा पुल नबन्दा गाडी चल्न नसकेको हो ।
ताम्ती–१ सर्मीका हस्तबहादुर कुँवरले गाउँलाई सडकले जोडेको दुई वर्ष भइसक्दा पनि पुल नबन्दा यातायात सुविधा उपभोग गर्न नपाएको बताए । सडक निर्माण भएपछि घरअगाडिबाट गाडी चडेर सदरमुकाम पुग्ने उनको इच्छा अधुरै छ । ‘गाउँमा सडक खनिएपछि यातायात सुविधा पाइएला भन्ने लागेको थियोु, उनले भने, ‘तिला नदीमा पुल नबन्दा गाडी चढ्न ६ घन्टा पैदल हिँड्नुपर्छ ।’
ताम्ती–कुडारी सडक खण्डको तिला नदीमा पक्की पुल निर्माण नहुँदासम्म यातायात चलाउन काठेपुल बनाउन थालिएको थियो । आर्थिक वर्ष २०७२र०७३ को निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट असारदेखि काठेपुल निर्माण गरिएको थियो । ३० लाख रुपैयाँमा काठेपुल निर्माण भएपछि ताम्तीका स्थानीय निकै खुसी भएका थिए ।
घरअगाडिबाटै गाडी चढेर सदरमुकाम पुग्ने र व्यापारव्यवसायमा सहयोग पुग्ने आशा राखेका उनीहरूको सपनामाथि पुल निर्माण भएको एक साता नबित्दै तुषारापात भयो । गत असार ३१ को अविरल वर्षापछि आएको बाढीले पुल बगाएपछि उनीहरूको घरबाटै गाडी चढ्ने सपना अधुरै रह्यो । ‘पुल निर्माणपछि घरैबाट गाडी चढ्ने सपना देखेका थियौुं, ताम्ती–७ का हर्कबहादुर शाहीले भने, ‘हचुवाका भरमा पुल निर्माण गर्दा हाम्रो सपना अधुरै रह्यो ।’
जिल्लाका चारवटै सांसदको सहमतिमा पुल निर्माणका लागि बजेट विनियोजन गरिए पनि गुणस्तरीय काम नहुँदा बाढीले पुल बगाएको शाहीको आरोप छ । पुल निर्माणका लागि भागबन्डामा पार्टी कार्यकर्तालाई उपभोक्ता समितिमा राखेर विनियोजित रकम बराबरको काम नभएको गुनासो स्थानीयको छ । निर्वाचन क्षेत्र विकासको ३० लाख र करिब साढे पाँच लाख रुपैयाँ श्रमदानबाट पुल निर्माण गरिए पनि कुन शीर्षकमा कति खर्च भयो भन्ने विवरण सार्वजनिक नगरिएको शाहीको आरोप छ ।
जिल्ला विकास समिति जुम्लाले गत फागुनमा उपभोक्ता समितिसँग श्रमदानसहित ३५ लाख ३७ हजार रुपैयाँमा पुल निर्माण सम्झौता गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष नरबहादुर शाहीले आफूहरूले धेरै काम गरेको दाबी गरेका छन् ।
‘आफ्नै क्षेत्रका जनताको सहजताका लागि भनेर हामीले सम्झौतामा उल्लिखित रकमले हुने भन्दा धेरै काम गरेका थियौुं, अध्यक्ष शाहीले भने, ‘गाडी गुडाउन तयार पुल एक्कासि बाढीले बगायो ।’
माओवादी केन्द्रका सांसद गोमा कुँवरले पुलको एउटा खम्बा बाढीले बगाएकाले समस्या आएको औंल्याउँदै केही दिनमै प्राविधिक पठाएर पुनर्निर्माण सुरु गरिने बताइन् । पुलको आधा काठ बाढीले बगाएपछि अहिले यहाँका स्थानीय जोखिम मोलेरै आवतजावत गरिरहेका छन् ।
अन्नपुर्णबाट
प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १४:०४
साझा बिसौनी ।