मध्यपश्चिममा कुपोषणको कहर
‘मसान हटाउन झारफुक गर्नसम्म गरियो । गाउँभरिका धामीझाँक्री कोही बाँकी छैनन् । निको भएन ।’ नौमहिने छोराको उपचारका लागि सुर्खेत आएकी धौलागोह– ३, कालिकोटकी सीता विकले स्वास्थ्यचौकी पुगेपछि मात्र बच्चा कुपोषित भएको थाहा पाइन् । ‘अहिले आफ्नो बच्चा बाँचेको देख्दा दङ्ग छु । आसै मारिसकेकी थिएँ,’ पोषणबारे सीताको भनाइले ग्रामीण समाजको बुझाइ छर्लङ्ग पार्छ ।
८ असार ०७३ मा जिल्ला अस्पताल मान्मबाट सुर्खेत रेफर हुँदा उनका छोरा कुशल चार केजी एक सय ग्रामका थिए । पाँच महिनादेखि झारफुक गर्न लाग्दा कुपोषित छोराको छाला त के कलिला हड्डीसमेत सुक्न थालिसकेका थिए । मध्यपश्चिम क्षेत्रीय अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनस्र्थापनागृहमा भर्ना गरिएका कुशल अहिले ६ केजी तौलका भएका छन् ।
सीताका परिवारलाई आफ्नै बारीको उत्पादनले वर्षभरि खान पुग्छ । घरमा दुहुनो भैंसी पनि छ । सीता भन्छिन्, ‘मेलापातको बाध्यताले स्याहार गर्न पाइनँ । सासू–ससुराको जिम्मा छाडेर जङ्गल जानुपथ्र्यो । बिहान निस्केपछि फर्कँदा रात परिसकेको हुन्थ्यो । बाजेबज्यैले भैंसीको दूध खुवाउँथे । आमाको दूध चुस्न नपाउँदा छोरा कमजोर भएको धेरै पछि थाहा पाएँ ।’
वीरेन्द्रनगर लाटिकोइलीकी चन्द्रा थापाका दुई सन्तान कुपोषित भए । ०७१ फागुनमा सुत्केरी हुँदा छोरी वसन्तीलाई पोषण पुनस्र्थापनागृहमा राखेकी थिइन् । त्यतिबेला उनी गर्भवती थिइन् । एक वर्षपछि आठमहिने छोरा टेकबहादुरलाई दोस्रोपटक पुनस्र्थापनागृहमा भर्ना गराइन् । भर्ना हुँदा आठ महिनाका टेकबहादुरको तौल ६ केजी नौ सय ग्राम थियो । २५ दिन बसेर फर्किंदा उनको तौल आठ केजी दुई सय ग्राम भयो ।
कालागाउँस्थित पोषण पुनस्र्थापनागृहले कुपोषित बालबालिकालाई तीन–तीन घन्टाको फरकमा लिटो, जाउलो र आलुसुप खुवाउँदै आएको छ । हाल यहाँ १२ बालबालिका छन् । तीमध्ये पाँच कालिकोटका छन् । कालिकोटमा पोषण पुनस्र्थापनागृह छैन । त्यसैले, यहाँ आउने हरेक तीन बच्चामा एक कालिकोटकै हुन्छन् । ‘पोषणबारे समाजमा बुझाइ नै गलत छ,’ पुनस्र्थापनागृह सुर्खेतकी प्रबन्धक नवीना गिरी भन्छिन्, ‘हुनेखाने परिवारका बच्चालाई कुपोषण हुँदैन भन्ने बुझाइ छ ।’ गृहले ३५ देखि ८० दिनसम्म राखेर आमा–बच्चा दुवैको अवस्था सुधारेर पठाउने गरेको छ । घरमा पर्याप्त खानेकुरा हुँदाहुँदै पनि पोषणबारे जानकारी नपाउँदा कुपोषणले भयावह रूप लिएको नवीनाको भनाइ छ ।
मध्यपश्चिममा यो समस्या धेरै देखिएको छ । आर्थिक वर्ष ०७१र७२ मा यस क्षेत्रका ११ प्रतिशत बालबालिकामा कुपोषण भेटिएको थियो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली ९एचएमआईएस० का अनुसार मध्यपश्चिममा सबैभन्दा बढी बाँकेमा कुपोषणको समस्या छ । त्यहाँका १३ प्रतिशत बालबालिका कुपोषित छन् । क्षेत्रीय स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेल अन्य जिल्लाको तुलनामा बाँकेमा कुपोषणको दर बढी रहेको बताउँछन् ।
बर्दियामा १२ प्रतिशत, दाङ, रुकुम, मुगु, सुर्खेत र दैलेखमा १० प्रतिशत, जुम्ला, हुम्लामा नौ प्रतिशत, डोल्पामा आठ प्रतिशत, जाजरकोटमा सात प्रतिशत, कालिकोट र सल्यानमा ६ प्रतिशत र प्युठानमा चार प्रतिशत बालबालिका कुपोषणको सिकार छन् । मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्ले कुपोषण समस्या तराई र हिमालमा अलि बढी तथा पहाडी भेगमा कम देखिएको बताउँछन् । ‘एउटा मात्र फ्याक्टरले कुपोषण हुँदैन,’ वाग्ले भन्छन्, ‘पोषिलो खानेकुराको उपलब्धता र आनीबानीले समेत प्रभाव पार्छ ।’ कुपोषणलाई स्वास्थ्य क्षेत्रको सवाल ठानिएकाले पनि न्यूनीकरण हुन नसकेको उनको भनाइ छ । वाग्ले भन्छन्, ‘यसको न्यूनीकरणमा कृषि, पशु, शिक्षा क्षेत्रको पनि उत्तिकै भूमिका हुनुपर्छ ।’
हरेक ५–५ वर्षमा गरिने नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्वेक्षणले पुड्कोपना भने घट्दै गएको देखाएको छ । यस क्षेत्रका पाँच वर्षमुनिका बालबालिका ५० प्रतिशत पुड्का, ११ प्रतिशत ख्याउटे र ३६ प्रतिशत कम तौल भएका छन् । मध्यपश्चिमका पाँच वर्षमुनिका ४७ दशमलव ८ प्रतिशत बालबालिकामा रक्तअल्पता छ । तीमध्ये जटिल खालको रक्तअल्पता शून्य दशमलब ९ प्रतिशतमा छ । यस क्षेत्रमा प्रजनन उमेर ९१५ देखि ४९ वर्ष० का १९ प्रतिशत महिला कुपोषित छन् भने ४८ प्रतिशत गर्भवतीमा रक्तअल्पता छ । शिशु जन्मेदेखि ६ महिनासम्म लगातार आमाको दूध खुवाउनुपर्छ । तर, ७० प्रतिशत आमाले मात्र यस अवधिमा दूध चुसाउने गरेको पाइएको छ ।
बालबालिकाको वृद्धि अनुगमन हेर्ने मुख्य सूचक तौल हो । जन्मेदेखि दुई वर्षसम्म हरेक महिना अर्थात् २४ पटक बच्चालाई तौलिनुपर्छ । तर, मध्यपश्चिममा औसतमा तीनपटक तौल लिएको तथ्याङ्क छ । सुर्खेतस्थित पोषण पुनस्र्थापनागृहमा भर्ना भएका बालबालिकामध्ये अधिकांशलाई तीनपटक पनि तौलिएको छैन । ‘घरमै जन्माइयो । कसरी तौलिनु रु’ कालिकोटकी सीता विक भन्छिन्, ‘तौलिनुपर्छ भन्ने थाहा पाएको भए चौकीमा जान सकिन्थ्यो ।’ वाग्ले भन्छन्, ‘तौल बच्चाको स्वास्थ्य जाँच्ने मुख्य सूचक हो । अभिभावकलाई यही कुरा बुझाउन सकिएको छैन ।’
कुपोषणले उच्च जोखिममा रहेको मध्यपश्चिम क्षेत्रमा सरकारले न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार कुपोषण हटाउन सबै जिल्लामा भिटामिन ए, आइरन चक्की, जुकाको औषधि वितरण, आयोडिनयुक्त नुन खुवाउने कार्यक्रम, बालबालिकाको वृद्धि अनुगमनजस्ता कार्यक्रम सञ्चालित छन् । अतिशीघ्र कुपोषण हटाउन भेरी अञ्चल, मध्यपश्चिम क्षेत्रीय, राप्ती अञ्चल अस्पतालमा पोषण पुनस्र्थापनागृह पनि सञ्चालनमा छन् । त्यस्तै, रोल्पा र प्युठानमा किशोरीलाई आइरन चक्की खुवाउने कार्यक्रम, बर्दिया र दाङमा बालभिटा कार्यक्रम, बर्दिया, रुकुम, जाजरकोट, मुगु र जुम्लामा आइमाम कार्यक्रम, कर्णालीका पाँचवटै जिल्लामा मासिक तीन केजीका दरले पौष्टिक आहार वितरण, तराईका तीन जिल्ला बाँके, बर्दिया र दाङबाहेक मध्यपश्चिमका सबै पहाडी तथा हिमाली जिल्लामा कृषि तथा खाद्य सुरक्षा आयोजना पनि लागू छ ।
सरकारले बहुक्षेत्रीय पोषण कार्ययोजनासमेत लागू गरेको छ । क्षेत्रीय निर्देशक डोटेल कालिकोटमा आगामी साउनदेखि समुदायमा आधारित कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सुरु हुने बताउँछन् । ‘कुपोषणमा सुधार ल्याउन तत्काल सम्भव हुँदैन,’ उनी भन्छन्, ‘बहुक्षेत्रीय समस्या भएकाले सबैको भूमिका उत्तिकै हुनुपर्छ ।’
(संचारिका फिचर सेवाबाट)
प्रकाशित मितिः ७ मंसिर २०७३, मंगलवार १८:४५
साझा बिसौनी ।