सहकारी संस्थाका वार्षिक साधारणसभा

वीरेन्द्रनगरमा सञ्चालित विभिन्न सहकारी संस्थाहरूले शनिवार वार्षिक साधारणसभा सम्पन्न गरेका छन् । साधारणसभामा ती संस्थाहरूले वार्षिक कारोबार, प्रगति प्रतिवेदन र आगामी योजना तथा रणनीति सभामा प्रस्तुत गरेका छन् ।

सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले १९औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष गणेशकुमार बस्नेतले सभामा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले व्यावसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधि उपचार र शैक्षिक क्षेत्रमा लगानी गरेको उनले बताए ।

सभामा सहकारीका विभिन्न उप–समिति संयोजकहरूले आ–आफ्नो क्षेत्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता र असल ऋणीहरूलाई सम्मान गरेको छ ।

संस्थाले यो वर्ष मृत्यु राहत कोष वापत ७० हजार रूपैयाँ मृतक सदस्यका परिवारलाई हस्तान्तरण गरेको छ । तीन जनाको परिवारलाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो । मृतक शेयर सदस्य सर्वजीत केप्चाकि मगरकी पत्नी पवित्रा केप्चाकि मगरलाई ५० हजार, श्रवणकुमार शाहीकी पत्नी धनकुमारी शाहीलाई १० हजार र दलसिंह बुढाकी पत्नी सेतु बुढालाई १० हजार रूपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

सभाका प्रमुख अतिथि नेपाल बहुउद्देश्यीय सहकारी संघका केन्द्रीय सदस्य चन्द्रबहादुर थानीले सहकारीहरूका लागि कर नीति व्यावहारिक नभएको बताए । थानीले सरकारले राज्यको विकासका लागि सहकारीलाई मेरुदण्डका रूपमा लिएता पनि सोही अनुसारको सहज वातावरण बनाउन नसकेको औंल्याए । साधारणसभामा संस्थाका संरक्षक ध्रुवकुमार श्रेष्ठ, सल्लाहकारहरू झुपबहादुर बस्नेत, पदमबहादुर शाही लगायतको उपस्थिति
रहेको थियो ।

यसैबीच, जिल्ला सहकारी संघले पनि शनिवार १०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाको प्रमुख अतिथिका रूपमा मन्तव्य दिँदै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले सहकारी क्षेत्रले गरीब तथा विपन्न वर्गका हितका लागि काम गरेको बताइन् । आर्थिक समृद्धि र रोजगारी सिर्जनामा सहकारीहरूको भूमिका महŒवपूर्ण रहेको मन्त्री केसीले उल्लेख गरिन् । प्रदेश सरकार सहकारीहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । संघका अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा भएको साधारणसभाको सहजीकरण व्यवस्थापक ढाकाराम न्यौपानेले गरेका थिए ।

प्रकाशित मितिः   २६ पुष २०७७, आईतवार ०९:५२