थप ६ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा शनिवार थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसहित प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या सात हजार चार सय २६ पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा सक्रिय संक्रमित एक सय ५२ जना रहेका छन् । जसमा सुर्खेतका ५४, सल्यानका ३१, डोल्पामा २९, दैलेखका १३, हुम्लाका ११, जाजरकोटका सात, जुम्लाका पाँच रुकुम–पश्चिममा दुई जना छन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले प्रदेशका दुई जिल्ला मुगु र कालीकोटमा भने हाल सक्रिय संक्रमित नरहेको बताए ।
त्यस्तै शनिवार नै प्रदेशभर थप नौ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशभर संक्रमणमुक्त हुनेको संख्या सात हजार एक सय दुई पुगेको छ । हालसम्म प्रदेशभर कोरोना संक्रमण देखिएका २८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २० जना पुरुष र आठ जना महिला हुन् ।
प्रकाशित मितिः २६ पुष २०७७, आईतवार ०९:५१
साझा बिसौनी ।