देशभर कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले देशभरका तीन सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदम भनेको कांग्रेसले पुनस्र्थापनाको माग भने आधिकारिक रूपमा गरेको छैन ।

देशभरका निर्वाचन क्षेत्रमा भएका विरोधसभामा कांग्रेस नेताहरूले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताएका छन् । सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को कार्यक्रममा सहभागी भएका छन् । उक्त कार्यक्रममा देउवाले सर्वोच्च अदालतभन्दा ठूलो जनता भएको बताएका छन् । अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई सदर गरेमा अदालतको आदेशलाई सम्मान गर्दै चुनावमा जाने उनले बताए ।

‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो । त्यो कसैले भुल्न हुँदैन । कांग्रेस जनतामा जान डराउँदैन र अहिले जनतामा जाँदा के बिग्रन्छ र ?’ देउवाले भने । प्रतिनिधिसभा विघटनको विषयमा सडकमा जुलुस र धर्ना गर्न नमिल्ने देउवाले बताए । संसद् विघटन संविधान विरोधी कदम भए पनि यो अदालतमा विचाराधीन रहेकाले त्यस्तो गर्न नमिल्ने देउवाको भनाइ छ । ‘प्रधानमन्त्री ओलीको कदम संविधान विरोधी नै हो । यो कदमको निन्दा जति गरे पनि पुग्दैन’ देउवाले भने ।

उनले अलोकतान्त्रिक कदम भएकाले यसको विरोध जति गरे पनि नपुग्ने बताए । उनले भने, ‘अदालतमा विचाराधीन भएको मुद्दामा जुलुस निकालेर यो गर, उ गर भन्न मिल्दैन । हामी लोकतन्त्रमा विश्वास गर्नेहरूले अन्यको झै हर्कत गर्न हुँदैन । अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको निर्णय कांग्रेसले मान्छ ।’ अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरे पनि प्रधानमन्त्री ओलीले चुनाव गराउँछन् भन्नेमा आशंका रहेको उनले बताए । ‘यदि अदालतको निर्णयपछि पनि ओलीले चुनाव नगराउने रणनीति तय गरे भने सबै मिलेर ओलीको जरै ओखलेर फाल्न सकिन्छ । चुनाव नै गराएको खण्डमा भने पुष्पकमल दाहाल पनि त्यसमा जाने मेरो विश्वास छ,’ देउवाले भने ।

देउवासहित प्रायः नेताहरू आ–आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी भएका छन् । कांग्रेस नेताहरूले सर्वोच्च अदालतको फैसला पर्खिने भन्दै अदालतलाई दबाब दिने काम कतैबाट हुन नहुने बताएका छन् ।

प्रकाशित मितिः   २६ पुष २०७७, आईतवार ०९:४८