पुनस्र्थापनाको पर्खाइ

वि.सं. २०७१ मा सुर्खेतका विभिन्न खोला र नदीमा बाढी आयो । बाढीले ठूलो धनजनको क्षति पु¥यायो । एक हजार भन्दा बढी परिवार विस्थापित भए । यसरी विस्थापित भएकाहरू अहिले पनि अस्थायी शिविरमा छन् । उनीहरू विगत ६ वर्षदेखि पुनस्र्थापनाको पर्खाइमा छन् । तर सबैको पुनस्र्थापना हुन सकेको छैन । यद्यपि विस्थापितमध्ये केहीले पनि घर बनाएर स्थायी बसोबास थालेका छन् । लामो समयसम्म कष्टकर जीवन गुजारेका बाढीपीडितलाई अहिले प्रदेश सरकारले घर निर्माण गरिदिएको छ । पीडितहरू त्रिपालबाट घरमा फर्किन पाएका छन् ।

लामो पर्खाइपछि प्रदेश सरकारले बाढीपीडितलाई रकम उपलब्ध गराएपछि पालमुनी जीवन बिताइरहेकाहरूले घर पाएका हुन् । बाढीपीडितका घर निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले चालु आर्थिक वर्षमा चार करोड ९५ लाख रकम स्थानीय तहहरूलाई दिइसकेको छ । घर बनेसँगै आफूहरूको खुशी पनि फर्किएको पीडितहरू बताउँछन् । सुर्खेतका सात वटा स्थानीय तहमा गरी हालसम्म बाढीपीडतका पाँच सय ३१ वटा घर निर्माण भइसकेका छन् । जमिन भएका तर घर निर्माण गरी बस्नका लागि रकम नभएका बाढीपीडितहरूका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय सरकारमार्फत रकम वितरण गरेको हो । प्रतिघर परिवार तीन लाख रूपैयाँका दरले बाढीपीडितहरूलाई तीन किस्तामा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत वीरेन्द्रनगर नगरपालिकाका तीन सय २४ बाढीपीडित घरपरिवारमध्ये हालसम्म दुई सय ३३ परिवारले घर निर्माण गरिसकेका छन् । लेकवेशी नगरपालिकामा १२ वटा घर निर्माण भएका छन् भने बराहताल गाउँपालिकामा ४४ परिवारले घर निर्माण गरेका छन् । यस्तै, भेरीगंगा नगरपालिकामा एक सय ६० परिवारलाई घर निर्माणका लागि रकम दिइएको छ, गुर्भाकोट नगरपालिकामा ३३ जनाले पहिलो किस्ता प्राप्त गरिसके पनि दोस्रो किस्ता पाएका छैनन् भने चौकुने गाउँपालिमा पीडित ६ परिवारमध्ये तीन परिवारको घर निर्माण भइसकेको छ । अर्को बाढी प्रभावित क्षेत्र पञ्चपुरी नगरपालिकामा दुई सय १४ बाढीपीडित परिवारमध्ये ८४ परिवारका लागि घर निर्माण भएका छन् ।

पीडितहरूको व्यवस्थापन समयमै हुन सकेन । यद्यपि ढिलै भए पनि केहीको भएको छ भने अझै ठूलो संख्यामा बाढीपीडित अस्थायी शिविरमा त्रिपालकै भरमा छन् । उनीहरूको पनि समयमै उचित व्यवस्थापन गर्न सरकार जिम्मेवारी बन्नुपर्दछ । सँगसँगै राज्यको अर्को महŒवपूर्ण जिम्मेवारी के पनि हो भने सम्भावित जोखिम न्यूनीकरण गर्ने । अहिले पनि यहाँका धेरै घरपरिवार जोखिमपूर्ण अवस्थामा छन् । विशेष गरेर वीरेन्द्रनगरभित्रकै खोर्केखोला र इत्रामखोला लगायतका किनारमा घर बनाएर बसेकाहरू जोखिममा परेका हुन् । विगतको बाढीले पनि यसैगरी नदी र खोला किनारामा भएका बस्ती बगाएको थियो । फेरि त्यसैगरी बाढी आएमा ठूलो मात्रामै धनजनको क्षति पनि दोहोरिने निश्चित छ । खोलाहरूमा व्यवस्थित तटबन्धको प्रबन्ध पनि छैन । त्यसैले विगतको घटनाबाट पाठ सिकेर आगामी दिनका लागि सचेत हुनु अपरिहार्य छ । नत्र अर्को दुर्घटना निम्तिन सक्नेछ ।