किसानले सम्झिरहने डाक्टर

नारायण न्यौपाने पशु चिकित्सक हुन् । सरकारी सेवामा रहेर भेटेरिनरीका क्षेत्रमा उनले साढे तीन दशक बिताए । न्यौपाने अहिले सेवाबाट अवकाश लिएर घरमै छन् । सरकारी सेवा रोकिए पनि उनले समुदायमा सेवा गर्न छाडेका छैनन् । पशु चिकित्सकका रूपमा उनको परिचय किसानको माझमा अझै उस्तै छ ।

नारायण न्यौपाने

घरमा वस्तुभाउ बिमार भएकी किसानहरूले सम्झने पहिलो नाम हो, नारायण सर । किसानहरूले विभिन्न समस्या सुनाउनु हुन्छ । ‘मलाई किसानहरूबाट अहिले पनि दैनिक १५/२० कल फोन आएकै हुन्छन्,’ उनले भने । उनी जागिरेभन्दा अवकाश पछि झनै व्यस्त छन् । बिहानदेखि साझसम्म किसानसँगै हुन्छन् । छरछिमेकदेखि टाटा–टाढाका किसानका पशु बिरामी परे तत्तकाल गोठमा पुग्ने प्राविधिक न्यौपाने नै हुन्छन् । आफू पुग्न नसक्ने ठाउँमा किसानलाई फोनबाट सुझाव दिन्छन् । उनी किसानलाई व्यवसायिक बन्न प्रोत्साहन गर्न समेत पछि पर्दैनन् । गाईभैसी, बाख्रापालन, कुखुरा पालनलगायत व्यवसायिक कृषि गर्नेहरूले नारायण सरकै सुझाव लिन्छन् ।

नारायण वि.स. २०१८ सालमा सुर्खेतको बयलकाँडामा जन्मिएका हुन् । उनले २०४० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए । जेटिएमा नाम निकालेर सेवा सुरू गरेका न्यौपानेले पशु चिकित्सक (आठौँ तह) सम्म पुगेर जागिरबाट अवकाश लिए । सेवाकै शिलशिलामा पूर्वी नेपालदेखि पश्चिमको बैतडीसम्म र कर्णालीका दुर्गम भूगोल छिचोलेका उनी सबै किसानका माझमा उत्तिकै परिचित छन् ।

जसरी एउटा डाक्टरलाई बिरामी बचाउँदा जति सन्तुष्ट हुन्छ त्यतिकै उनलाई बिरामी भएका पशु बचाउँदा हुन्छ । उनी भन्छन् , ‘किसानले मलाई सम्झिरहनु हुन्छ । म जागिरबाट अवकाश लिए पनि किसानहरूसँग नै छु । मैले सक्ने बेलासम्म पुशचौपायको उपचार गर्छु । म यसैमा सन्तुष्ट छु ।’ अहिले कोही किसानले फर्म दर्ता गरेर सञ्चालन गर्न लागेको छ भने त्यहाँ बोलाएर सुझाव लिने र पशु बिरामी हुँदा उपचारका लागि अनुरोध गर्नुहुन्छ ।’

सानो छँदा निडर स्वभावका नारायण पढाइमा राम्रा विद्यार्थी थिए । उनी प्रथम, दोस्रो, तेस्रो स्थानमा आइरहन्थे । घरको जेठो छोरा भएकाले जिम्मेवारीसँगै उनले अध्ययनलाई अघि बढाउनुपर्ने बाध्यता थियो । बिहान घरको काम सकेर मात्रै विद्यालय पुग्थे । त्यसबेला जग्गा जमिन भए पनि आर्थिक अवस्था कमजोर थियो । १३ वर्षको उमेरमा उनले बुवालाई गुमाए । त्यसपछि घर व्यवहारको जिम्मेवारी थपिदै गयो ।

नारायण खेतबारीमा काम गरेर पढ्थे । ‘हलो जोत्ने, घाँस दाउरा गर्ने अनि विद्यालय पढ्ने । उसबेला मेरो दैनिकी यस्तै थियो,’ उनले सुनाए । उनलाई विज्ञान पढ्ने रूचि थियो । तर, घरको आर्थिक अभावले पढ्न सजिलो थिएन् । विज्ञान पढ्न खर्च अलि बढी लाग्थ्यो । उनले २०३५ सालमा एसएलसी पास गरे । उच्च शिक्षा पढ्नका लागि सुर्खेत बाहिर जानुपथ्र्यो । आर्थिक अभाव भइरहेको बेला उनले छात्रवृत्तिमा आइएसीएजी पढ्न पाए । रूचि अनुसारकै विषय पढ्ने मौका पाए । भेटेरिनरी साइन्स पढे ।

‘मैले आइएसीएजी पढेँ । त्यसपछि वि.सं. २०४० सालदेखि जेटिएमा नाम निकालेर जागिर सुरू गरेँ । त्यसबेलादेखि अहिलेसम्म किसानहरूसँगै उहाँहरूले पालेका वस्तुभाउको उपचारमा संलग्न छु,’ नारायणले भने । जागिरबाट अवकाश लिएपछि उनका साथीभाइ र आफन्तहरू एग्रोभेट खोल्न सुझाव दिन्थे । उनले चाहेको भए एग्रोभेट खोलेर व्यापार गर्न सक्थे । तर अवकाश पछि उनले निःशुल्क सेवा गर्ने निधो गरे । जो आजसम्म निरन्तर सेवामै छन् ।

जागिरकै शिलशिलामा थिए एक पटक हुम्लामा पीपीआर रोगले भेडाबाख्रामा महामारी फैलियो । उनकै नेतृत्वमा महामारी नियन्त्रण गर्न प्राविधिक र चिकित्सकको टोलि हुम्ला पुगे । त्यस बेलामा ११ दिन गाउँमा बसेर महामारी नियन्त्रणमा ल्याए । फर्किने बेलामा किसानहरूले उनलाई सजिलै आउँन दिएनन् । हिँड्ने बेलामा हुम्ला सदरमुकाममा सयौं भेडाहरू ल्याएर उपचार गर्न आग्रह गरे । सरकारी सेवा नपाइरहेका दुर्गम ठाउँका किसानहरूले त्यसरी रोक्दा उनको टोलिले ती सबै भेडाको उपचार गरेर फर्कियो ।

‘कृषिका प्राविधिक नपुगेको ठाउँमा समेत गएर मैले सेवा गरेँ । अझै पनि धेरै किसानले भेटेरिनरी प्राविधिक देख्न पाएका छैनन् । यसले कृषिमा सम्भावना हुँदाहुँदै पनि प्रगति गर्न सकिएको छैन,’ नारायणले चिन्ता व्यक्त गरे । उनी भन्छन्, ‘सरकारले अनुदान बाँडेरभन्दा पनि प्रत्येक किसानको गोठ, घरमा कृषिका प्राविधिक खटाउनुपर्छ । अनि मात्र हामीले चाहेको विकास हुन्छ ।’ कृषिमा सोचे अनुसार लक्ष्य हासिल गर्नका लागि कृषिका कर्मचारी फिल्डमै खटिनुपर्ने उनको भनाइ छ । नारायणले तत्तकालीन जिल्ला पशु कार्यालय, क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख र संघीयता पछि उनी वीरेन्द्रनगर नगरपालिकाका पशु सेवा शाखाका प्रमुख भएर लामो समयसम्म सरकारी सेवामा बिताएका थिए ।

जागिरबाट अकाश लिए पनि उनलाई सबै किसानले डाक्टर साब भनेर सम्बोधन गर्छन् । कतिपय ठाउँमा उनी आफै पुग्छन् । सम्भव नभए फोनबाट, सामाजिक सञ्जालबाट समेत किसानलाई सल्लाह–सुझाव दिने गरेका छन् । उमेरले ६० वर्ष टेकिसकेका नारायण अहिले पनि किसानका गोठमा पुगेर निःशुल्क रूपमा सेवा गरिरहेका छन् ।