विमानस्थल विस्तार

विकास कि विनाश ?

विमानस्थल विस्तार


उमालाल आचार्य

विमानस्थल विस्तारको हाउगुजीले प्राणजस्तै प्यारो नेवारे गाउँ आधा निल्छ भन्ने सुनेर रातदिन तनावले मन पोलिरह्यो । ७०–८० वर्षदेखि नजिकको नातामा बेरिदैं प्रायः दैलेख, ढाव र जर्बुटाबाट झरेको पुरानो बस्ती होनेवारे । जो जति नाताको घेराबाट बाहिर छन्, बाबु र बाजेका पालादेखिको साथ र संगतले दिलभन्दा कहिल्यै बाहिर छैनन् । तसर्थ नेवारे साइनो नै साइनाले उनिएको आफ्नै आफ्नाको बस्ती हो ।

बस्तीमा कसैलाई गाह्रोसाह्रो र दुःख–कष्ट पर्दा मौरी झैँ एकजुट हुनु नेवारेको मुल धर्म हो । शिक्षालाई सर्वोपरी ठान्ने नेवारेका प्रत्येक घरमा एकजना सदस्य सरकारी सेवामा गाँसिनु परम्परा जस्तै भएको छ । नेवारेका कर्मशील भाइ सुशील केसीले भने अनुसार नेवारे गाउँ निजामती गाउँमा परिणत भएको छ, अथवा सुर्खेतमा निजामती गाउँ नेवारेको पर्यायवाची भएको छ । जहाँ मेरो शैशवकाल बित्यो, बैँस बित्यो, जोश र उमंग उम्लने युवा अवस्था पार भयो । अब आउने जिन्दगीको उत्तरार्धमा यो माटोको माया मारेर मन अन्यत्र जान सक्तैन खोइ किन किन !

त्योभन्दा पनि ज्यादा त अमरज्योति नमुना माध्यमिक विद्यालयको नाम निसाना विमानस्थलले मेटिदिन्छ कि भन्ने गहिरो चिन्ताले भोक र निन्द्रा खोसिदिएको छ । विद्यालयसँग नेवारे र चनौटेका बासिन्दाको साझा चासो मात्र होइन सिधा भावना पनि जोडिएको छ । मेरो त चासो र भावना सँगसँगै हृदय समेत जोडिएको छ । सरस्वतीको त्यही मन्दिरमा हो मैले अक्षर फुटालेको, कखरा चिनेको र कापीमा कलमले केर्न जानेको । त्यही विद्यालयको स्तरोन्नतिका लागि हो हामीले विद्यार्थी जीवनकालमा सकि–नसकि झुप्राबाट दार बोकेको, नेवारे खोलाबाट ढुङ्गा ओसारेको । त्यहीबाट हो ज्ञान खुराक पाएर शिक्षा आर्जन गरेको, जागिर खाएको । अक्षर र शब्दका खेतीपातिमा रुचि बढेको ।

विद्यालयको स्वामित्व हुनु अगाडि चराहरूलाई ढुङ्गा ताक्दै, पुतलीको पछिपछि दौड्दै, त्यहाँको ढुङ्गा माटोमा लोट्दै उठ्दै लडिबुडी गर्दै, धुलो आकाशमा उछाल्दै टाउकाभरी थापेर, कहिले नाना लगाएर कहिले खोल्दै फालेर मनमौजी हुँदै खेलियो । बालापनको पहिलो चरण मेरो त्यहीँ बित्यो, त्यो जग्गा जमिन हाम्रो थियोे, एउटा घर थियोे । तब त मलाई त्यहाँको माटो बसाइरहन्छ किनकि त्यो मेरो बाल क्रिडास्थल पनि थियोे । उतिखेर चनौटेको मध्यभागमा स्थापित सानो विद्यालयलाई सबैको पायक पार्न कुनाघाटमा पुनस्र्थापना गर्नुपर्ने बाध्यताले आफ्नो घर जग्गा दिएर हामी केही अलिक माथितिर बसाइँ स¥यौं । त्यही हाम्रो आस्थाको साझा ज्ञान मन्दिरमा मेरा छोराछोरीले पनि पढेर केही विद्या वुद्धि कमाए, आ–आफ्नो जीवन निर्वाहको बाटो समाए । अब तेस्रो पुस्तालाई समेत त्यही विद्यालयले काखमा लिएर उज्यालो भविष्य दिन्छ होला, जीवनोपयोगी बनाइदिन्छ होला भन्ने गहिरो विश्वासमा तुषारापात त हुँदैन ?

समय बगेर कति टाढा गएछ । आजभोलि त्यहाँ पढाउने नयाँ कतिपय गुरुहरूलाई म चिन्दैन । हेर्छु, आदरणीय गुरु हरिबहादुर कोइरालाको झल्को आउँछ, फेरि कोही गुरु लिलाराम सुवेदी जस्तै पनि देखिन्छन् । ती अपरिचित अनुहारहरूमा गुरुजन यामलाल सापकोटा, सनत पाण्डे, धनप्रसाद देवकोटा, रविलाल धमला, डिलबहादुर ढकाल लगायतका शिक्षकज्यूहरूको झझल्को आउँछ र यिनीहरू पनि आफ्नै पो हुन की भने झैँ लाग्छ । केही दिनपछि बाहिरबाट आउँदा बाटामा उभिएर विद्यालयलाई हेरिरहन मन लाग्छ । हेर्दा आँखामा वरिपरि आउँछन् मेरा स्कुले सहपाठी र मैले सताएका छात्रा दिदीबहिनीहरू । सम्झनाले मन रसाउँछ र आँखामा पोखिन आउँछ । माया र सम्झना यो मनभरी कति छन् कति !

विकास र प्रविधिलाई यस्ता भावनात्मक कुराले रोक्न छेक्न सक्दैन, त्यो पनि थाहा छ । तर विकास वैज्ञानिक, व्यवहारिक र दीर्घकालीन छ की छैन त्यो पनि त हेरिनु पर्छ । हालको विमानस्थलको उत्तरतर्फ ६ सय, दक्षिणतर्फ चारसय, पूर्वतर्फ २५ र पश्चिममा दुईसय मिटरसम्म विस्तार गर्ने भन्ने व्यहोरा उल्लेख भइ नागरिक उड्डयन कार्यालय सुर्खेतको चलानी १४१ मिति २०७७/०९/०९ को पत्र वडा नं. १० र १२ को वडा कार्यालयमा प्राप्त भएपछि मात्र भुसमा सल्केको आगो सत्यतथ्य रूपमा बाहिर आयो ।

‘पटकपटक विमानस्थल विस्तार गर्नुको औचित्य के हो ?’ प्रभावित क्षेत्रका युवाहरू त छँदैथिए वृद्धहरू समेत मनमा आक्रोश बोकेर आए । विद्यालयको प्राङ्गणमा सयौंको संख्यामा जम्मा भएको जनभेलाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यलाई नागरिक सरोकार समितिको संयोजक तोकि २१ सदस्यीय समिति गठन ग¥यो । अन्य सरोकारवालालाई फोन गर्ने, पत्राचार गर्ने, धारणा बनाउने, पत्रकार सम्मेलन गर्ने, ज्ञापनपत्र तयार पार्ने जस्ता कार्यहरू समितिले द्रूतगतिमा गर्न थाल्यो ।

पुस १२ गते आइतवार ज्ञापनपत्र बुझाउने शिलशिलामा समितिका प्रतिनिधि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा पुग्यो । मुख्यमन्त्रीको कार्यकक्षमा समितिका संयोजक आचार्यले ज्ञापनपत्र वाचन गरेपश्चात प्रतिक्रिया माग्दा सारांशमा मुख्यमन्त्रीको प्रतिक्रिया यस्तो रह्यो, ‘तपाईंहरूको विरोध रहन्छ भने विमानस्थल विस्तार हुँदैन । तपाईंहरूले यस्ता कुरामा विरोध जनाउने हो भने कतै पनि विकास हुन सक्दैन । आफू मेटिएर पनि अरुको भलो होस् भन्ने त्यागको भावना चाहिन्छ । काठमाडौंमा सडक विस्तार गर्दा स्थानीयहरूले ठूलो अवरोध गरे, बाटो विस्तार हुँदा सबैलाई सुविस्ता भयो । अब घर बनाउँदा मापदण्डअनुसार बनाउन पर्छ । जग्गाको बनोट अनुसार र मापदण्ड विपरीत बनेका घरहरू कति भत्कन्छन्–भत्कन्छन् । तपाईंहरूले दिल्ली हेर्नुस् । पुरानो दिल्लीमा अनियन्त्रित र अनगिन्ती बनेका घरहरूले गर्दा सरकारले कतै बाटोघाटो खुलाउनै सकेन र अर्को छुट्टै ठाउँमा नयाँदिल्लीको अवधारणा बनाएर शहर विस्तार गर्नुप¥यो । त्यहाँ घर निर्माण गर्दा अनिवार्य दशवटा रुख रोप्नुपर्ने नियम बनाइएको छ ।

विमानस्थल उत्तरमा तीनसय मिटर मात्र विस्तार गर्ने लक्ष्य हो । सत्तरी सिटको ठूलो जहाज अवतरण ग¥योभने भाडा दर घटेपछि यहाँका मान्छेलाई नेपालगन्ज जान नपरोस् भन्ने उद्देश्य पनि हो । यो दीर्घकालीन पनि होइन, विकल्पमा ठूलो एयरपोर्ट त कतै न कतै बनाउनै पर्नेछ । यतिखेर विस्तार गरिने एयरपोर्ट तीन–चार वर्षका लागि मात्र हो, र यो केन्द्रीय स्तरको कार्यक्रम हो ।’

मुख्यमन्त्रीका कुराले हामी सबैलाई चकित बनायो । तीन–चार वर्षसम्म ७० सिट भएको ठूलो जहाज उडाउने एउटा महŒवाकांक्षाले मात्र हो त आधा बस्ती र बस्तीको पहिचानरूपी विद्यालयलाई नामेट पार्न खोजिएको ? कि चुनावी कार्यदिशालाई फाइदा पुग्ने गरि सस्तो लोकप्रियता कमाउन सकिने अवसर छोपिएको होला ? यस्ता योजनामा दीर्घकालीन सोच राख्न आवश्यक छैन र ? सुर्खेती माटोमा जन्मेर हुर्केका र सुर्खेतकै अन्नपानी खाँदै राजनीतिमा आफ्नो हैसियत बनाएका नेताहरू यस विषयमा केही बोले होलान् कि ठूलो बजेट देखेर मौनता साँध्नुमै फाइदा ठाने होलान् ? खोजीनीति गर्नुपर्ने बेला भएको छ ।

विमानस्थल विस्तारको औचित्य र प्रभावित क्षेत्रका नागरिकका मनमा उठेका सवालहरूबारे लेख्दा कतिपयले ‘विकास विरोधी’ ठान्नसक्दछन् । तर विरोध विकासको होइन औचित्य सिद्ध गर्नुपर्ने माग हो ।

जहाज उड्ने र अवतरण गर्ने गरेको सुर्खेतको हवाई मैदान कुनै दिन हाम्रो खेत थियोे । हाम्रो भन्नाले नेवारे र चनौटेको । नेवारे र चनौटे भन्नाले सानो आँपखोली वारिपारिका घनिष्ठ सम्बन्ध भएका दुई पुराना गाउँ । एउटै पानी पंधेरो, एउटै गौचरन वन जंगल, एउटै खेत खलियान, मेलापात, अर्मपर्म, पारिवारिक नातापात आदि इत्यादि कारणले सुरु देखि नै सहोदर दुईभाइको सम्बन्ध ।

सुरुमा विमानस्थल निर्माणका लागि २०२१ सालदेखि २०२३ सालसम्म बिना मूआब्जा जग्गा अधिग्रहण गरियो । त्यतिबेला भातखाने खेत जाँदा असैह्य पीडा खटाएर हाम्रा अभिभावक दुखी हुँदै मन बुझाउन बाध्य भए । २०६० सालमा हाम्रो नाइँ नास्तिका बाबजुद पनि पश्चिमतर्फ जहाज पार्किङ गर्ने, ठूलो टर्मिनल भवन निर्माण गर्ने र पूर्वतर्फ सेनाका जहाज राख्ने भनी कुलो लाग्ने सिमखेत तत्कालीन शाही सेनाले अधिग्रहण ग¥यो । हामीले चलन चल्तीको दर भाउ माग्दा समेत पनि कुनै सुनुवाइ नगरी न्यून मूल्यमा टारियो । विमानस्थलले २०६६ सालमा उत्तरतर्फ तीनसय मिटर जग्गा विस्तार गर्दा उचित मूआब्जा दिई व्यवस्थापन समेत गरिदिने आश्वासनमा हाम्रा दाजुभाइलाई उठिबास बनायो । त्यही समाजमा रहेकोे हस्तवीर प्राथमिक विद्यालयलाई विस्थापित मात्रै गरेन, इत्राम कालुङ्चोक बजार र सरकारी कार्यालयसँग सिधा जोडिने हाम्रो मुल सडकलाई समेत अजिङ्गरले झै निल्यो ।

सडक निलिदिनुको फलस्वरूप ६÷७ ठाउँका घुम्तीहरूमा मोडिदै घुम्दै अमरज्योति उच्च माध्यमिक विद्यालयको करेसाबाट हिँड्न बाध्य छौँ तर केही बोल्दैनौ । किनकि विकास विरोधी बिल्ला लाग्ने डरले । साना ठूला सबै गाडी मोटरहरू करेसाबाटै कराउँदै चिच्याउँदै दौडन्छन । ध्वनि प्रदूषणले विद्यालयलाई अखानो गरेको छ । हामीले पीर चपाएका छौँ, किनकि विकास विरोधीको बिल्ला लाग्ने डरले । पटकपटक विमानस्थल विस्तारकै कारणबाट विकासले हामीलाई टाढा पारेको छ । हामीले सहेका छौं किनकि विकास विरोधीको बिल्ला लाग्ने डरले । कहिलेसम्म डराउनु पर्ने हो हामी ? कहिलेसम्म सहनु पर्ने हो राज्यको थिचोमिचो ?

विमानस्थल विस्तार सरोकार समितिले ज्ञापनपत्र बुझाउने कार्यक्रमको शिलशिलामा पुस १६ गतेका दिन आर्थिक मामिला मन्त्रीलाई ज्ञापनपत्र बुझाइ छलफल गर्दा मन्त्रीबाट व्यक्त भएका केही कुरा यस्ता थिए, ‘मेरो अनुमानभन्दा फरक ढङ्गबाट आउनुभयो तपाईंहरू, मूआब्जाका बारेमा पो छलफल गर्न आउनुभयो होला ठानेको थिएँ । मदानेचौरमा दसौं वर्षसम्म लगाएर अध्ययन गरियो, खाडल पुर्न ठूलो लागत लाग्ने देखियो । केही वर्षसम्म यही एयरपोर्टलाई विस्तार गरि ठूलो जहाज बसालिहालौं भन्ने सरकारको मनसाय हो । विस्थापित हुने स्कुल र जनताको उचित व्यवस्थापन पनि हुन्छ । सुर्खेतलाई राजधानी बनाउन हामीले पनि निकै मेहनत ग¥यौं ।

छलफलमा भए गरेका मन्त्रीका कुरा सुनेर हामी हैरान भयौँ । सुर्खेत राजधानी बनाउनका निम्ति आन्दोलनमा सुर्खेती जनता सहिद भएको थाहा छ । राजनीतिक स्वार्थका लागि कुन–कुन गुट मिले कुन दाउपेचका लागि सुर्खेतलाई राजधानी स्वीकारे हामीलाई थाहा छैन । हाम्रो विद्यालय कहाँ सार्ने ? विद्यार्थीको पठनपाठन कसरी सञ्चालन गर्ने ? त्यसको स्पष्ट जवाफ कतै केही छैन । विस्थापित हुने नौसय घर धुरीलाई कसरी कहाँ पुनःस्थापन गर्ने ? त्यसको पनि छैन जवाफ । केही वर्षपछि अर्को विमानस्थलको विकल्प खोज्नु नै छ भने अहिल्यै किन नखोज्ने ? दीर्घकालीन सोचका लागि होइन मात्र अल्पकालीन स्वार्थका लागि जसरी पनि विमानस्थल विस्तार गर्ने मनसाय बुझिन आयो । अब यो विकास हो कि विनाश हो ? कि छुट्याएको बजेट, कामका लागि खोलो बगाइहाल्ने र कुलो सोझ्याउने हतारो हो ?

यी तमाम तेर्सिएका प्रश्न र माथि उल्लेखित कारणबाट हामी विकासका विरोधी होइनौं । सुर्खेतबाट काठमाडौं, डोल्पा, जुम्ला, हुम्ला सबैतिर जहाज उडिरहेका छन् । यति सानो उपत्यकामा केही वर्षसम्मका लागि मात्र ठूलो विमानस्थल खोज्नु औचित्यपूर्ण छैन । बरु सुर्खेत–नेपालगन्ज र सुर्खेत–जुम्लासम्मको सडकलाई चार लेनको बनाउने जाँगर देखाउँ, तब त्यो हुनेछ सक्कली विकास ।

प्रकाशित मितिः   २५ पुष २०७७, शनिबार ०९:०२