बेवारिसे चौपायाको व्यवस्थापन थालियो

वीरेन्द्रनगरका सडकमा रहेका बेवारिसे पशु–चौपायाको व्यवस्थापन थालिएको छ । कर्णाली प्रदेश राजधानीका सडक तथा बजारक्षेत्रमा छोडिएका बेवारिसे पशु–चौपाया व्यवस्थापनको काम सुरू भएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको हो ।

नगरले पहिलो चरणमा हुम्लाको एक कृषि फर्मलाई पशु–चौपाया लिन अनुमति दिएको छ । नगरपालिकाले सडकमा छोडिएका चौपाया लैजान सम्बन्धित धनीहरूलाई आग्रह समेत गरिरहेको छ । तर, सार्वजनिक सूचना जारी गर्दा पनि कोही लिन नआएपछि नगरपालिकाले शुक्रवार गाई र गोरू गरी एक सयको संख्यामा चौपाया हुम्ला पठाएको हो ।

नगरपालिकाका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले पहिलो चरणमा कान्जिहाउसमा जम्मा गरिएका एक सय पशुचौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकामा पठाइएको जनाए । उनका अनुसार खार्पुनाथ गाउँपालिकाको एउटा फर्मले चौपाया उपलब्ध गराइदिन माग गरेको थियो । सोहीअनुसार नगरले सडकमा बेवारिसे अवस्थामा रहेका चौपाया उपलब्ध गराएको हो । वीरेन्द्रनगरका सडकमा बेवारिसे अवस्थामा झण्डै पाँच सय पशु–चौपाय रहेको गिरी बताउँछन् ।

सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढाएको छ । सडकमा गाई–गोरु, बाछा–बाछी र कुकुरलगायतका पशु–चौपाया बेवारिसे छाड्ने गरिएको छ । चौपाया व्यवस्थापनको जिम्मेवारी स्थानीय तहहरूको भएपनि व्यवस्थापनमा चुनौती देखिएको छ । नगरपालिकाले पटक–पटक पशु–चौपाय व्यवस्थापनको प्रयास गरेपनि दिगो समाधान दिन सकेको छैन ।

चौपाया र तिनले गर्ने फोहोरका कारण बजारक्षेत्र अव्यवस्थित बनेको छ । यस्ता चौपायका कारण किसानहरूलाई खेतीपाति जोगाउन समेत हैरान हुने गरेको छ । जथाभावी छोडिने बेवारिसे चौपायाले सडक एवम् सार्वजनिक स्थलमा अवरोध हुने, दुर्घटना निम्तने र कृषि बालीको नोक्सानी हुँदै आएको छ ।

प्रकाशित मितिः   २५ पुष २०७७, शनिबार ०९:४५