‘उद्यमशीलताबाटै कर्णाली समृद्ध’
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले उद्यमशीलताबाटै कर्णाली समृद्ध हुने बताएकी छन् । भेरी राप्ती प्राविधिक शिक्षालय र नवजीवन मल्टिएजुकेशन एकेडेमीले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै मन्त्री केसीले यस्तो बताएकी हुन् । उद्यमशीलताको विकासले प्रदेशको गरिबी तथा बेरोजगारी हटाउन मद्दत पुग्ने उनले जिकिर गरिन् ।
कर्णालीमा कृषि तथा वनजन्य उद्यममा पर्याप्त सम्भावना रहेकाले प्रदेश सरकारले छिट्टै उद्यमीका लागि प्याकेजमै कार्यक्रम ल्याउन लागेको उनले बताइन् । ‘कृषिको व्यवसायिकरणका लागि बैंकमार्फत ब्याज अनुदानका कार्यक्रम सरकारले ल्याएको छ,’ उनले भनिन्, ‘हाम्रा सम्भावना धेरै छन् । अब वास्तविकतामा परिणत गर्ने बेला आएको छ ।’ उनले सरकारले साना किसान तथा ठूला उद्यमीलाई लक्षित गरी ब्याज अनुदानका कार्यक्रम ल्याएको बताइन् ।
यस्तै, कार्यक्रममा सीटीइभीटी कर्णाली प्रदेशका निमित्त निर्देशक एकराज अधिकारीले कर्णालीको दिगो आर्थिक विकासका लागि उद्यमका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको औंल्याए । उद्यमको प्रवद्र्धनमार्फत गरिबी र बेरोजगारी घटाउन तीनै तहका सरकारको समान सहभागिता अपरिहार्य रहेको उनको भनाइ थियो । ‘आफ्नो व्यवसाय सुरू तथा सुधार गर्नुहोस्’ विषयक उक्त १० दिने प्रशिक्षक तथा प्रशिक्षण तालिममा कर्णालीसहित १३ जिल्लाका ४५ जनाको सहभागिता रहेको छ । औद्योगिक व्यवसायिक विकास प्रतिष्ठान काठमाडौंका मास्टर प्रशिक्षक दिलिप थापाले स्वरोजगारी तथा उद्यमी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको तालिम माघ ३ गतेसम्म सञ्चालन हुने बताए ।
प्रकाशित मितिः २४ पुष २०७७, शुक्रबार ०६:०१
साझा बिसौनी ।