भेरी नदीमा बस खस्यो

एकको मृत्यु, एक घाइते, एक जना बेपत्ता


भेरी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिहीवार दिउँसो ना.५ ख.७७५० नम्बरको मिनिबस अनियन्त्रित भइ नदीमा खसेको हो । दाङबाट सल्यानको कालीमाटी हुँदै सल्लीबजारतर्फ आउँदै गर्दा गुर्भाकोट–९ स्थित गराले भन्ने ठाउँमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालक बबइ गाउँपालिका–३ दाङका २२ वर्षीय सुमन नेपालीको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–४ सल्यानका ३० वर्षीय किशोर सुनार घाइते भएका छन् ।

बसमा चालक र सह–चालकसहित तीन जना मात्र सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । उक्त मिनिबस दाङको चन्द्रसूर्य यातायात प्रालिको हो । दुर्घटनामा एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीको जनाएको छ । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको थियो ।

प्रकाशित मितिः   २४ पुष २०७७, शुक्रबार ०६:०१