जोखिमलाई बेवास्ता

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउन सकेको छैन । विश्व नै यतिबेला कोरोना भाइरसविरुद्धको संघर्षमा छ । उपचार सम्भव भइसकेको छैन । खोपको तीव्र प्रतीक्षामा संसार छ । संक्रमण रोक्न विश्वमा अहिले केही खोपहरू आकस्मिक प्रयोगमा आइरहेका छन् । तर पूर्ण प्रभावकारी भइसकेको अवस्था छैन । अर्कोतफ संक्रमण दर बढ्दो छ । अहिले पनि संक्रमितको संख्या बढेको बढ्यै छ । कोरोनाका कारण विश्वमा लाखौँ मानिसको ज्यान गइसकेको छ । नेपाल पनि अछुतो छैन । संक्रमित र मृतकको संख्या थपिने क्रममै छ । तर जोखिमलाई बेवास्ता गर्नेक्रम पनि बढ्दो छ । पछिल्लो समय कोरोनालाई सामान्य मान्न थालिएको छ ।

संक्रमितलाई क्वारेन्टाइनमा राख्न छोडिएको छ । यसअघि सरकारले बनाएका क्वारेन्टाइन हटाइएका छन् । क्रमण समुदायमा फैलन नदिन बाहिरबाट आएका र संक्रमणका आशंकितलाई राख्न निर्माण गरिएका क्वारेन्टाइन हटाइएको हो । समुदायमा संक्रमण फैलिसकेको अवस्थामा क्वारेन्टाइनको औचित्य नभएको भन्दै कर्णालीका सबै जिल्लामा बनाइएका त्यस्ता संरचना हटाइएको छ । बस्ने कोही नभएपछि पछिल्लो समय क्वारेन्टाइनहरू खाली थिए । कर्णाली प्रदेश सरकारले कार्तिक अन्तिम साता प्रदेशमा रहेका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो । प्रदेशका केही जिल्ला तथा स्थानीय तहमा क्वारेन्टाइन हटाउने क्रममा रहेपनि अधिकांश हटाइसकिएको छ । सरकारले नै होमआइसोलेसनको अवधारणा ल्याएपछि क्वारेन्टाइन हटाइएको हो । कर्णालीमा प्रायः विद्यालयका भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो । यसकारण पनि पछिल्लो समय विद्यालयहरूसमेत सञ्चालन हुन थालेपछि क्वारेन्टाइन हटाइएको छ । सुरूमा प्रदेशभर आठ सय ९१ स्थानमा ४१ हजार नौ सय ५६ बेड क्षमताका क्वारेन्टाइन बनाइएको थियो । बाहिरबाट आउने मानिसहरूको संख्या घट्दै गएपछि कतिपय स्थानका क्वारेन्टाइन विस्तारै रित्तिदै गएका थिए । गत असोज ६ गतेसम्म तीन सय ५६ वटा क्वारेन्टाइन सञ्चालनमा थिए । क्वारेन्टाइन प्रयोगमा नआएपछि स्थानीय तहहरूले सरकारले निर्णय गर्नु अगावै हटाउन थालिसकेका थिए । संक्रमितलाई स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले घरमै बस्न प्रोत्साहन गरिएको छ । कर्णालीमा हाल एक हजार ३८ बेड क्षमताका २१ वटा स्थानमा आइसोलेसन सञ्चालनमा छन् । अहिले आइसोलेसनमा समेत बिरामीको चाप घटेको छ ।

कर्णालीमा ढिला गरेर संक्रमण देखियो । देशका अन्य ६ प्रदेशमा फैलिसक्दा समेत कर्णाली जोगिएको थियो । यहाँ सबैभन्दा पछि संक्रमण पुष्टि भएको हो । रोजगारीको शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा गएका नागरिक फर्किएसँगै कर्णालीमा कोरोना प्रवेश गरेको हो । हालसम्म प्रदेशका २८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने सात हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । यो दर बढ्दै छ । तर यस्तो अवस्थामा जोखिमलाई बेवास्ता गर्नु हुँदैन । अहिले विद्यालयहरू सञ्चालनमा आएका छन् । तर त्यहाँ मापदण्डअनुसार भौतिक दूरी कायम गरेर पढाइ भइरहेको छैन । राजनीतिक गतिविधि र आमसभाहरू भइरहेका छन् । यसले पनि थप जोखिम बढाएको छ ।

प्रकाशित मितिः   २४ पुष २०७७, शुक्रबार ०६:००