हटाइए क्वारेन्टाइन, संक्रमित घरमै

क्वारेन्टाइन हटाइएपछिको खुल्लामञ्च । यहाँ नेपाली सेनाले करिब ६ सय क्षमताको क्वारेन्टाइन बनाएको थियो ।

समुदायस्तरमै दैनिक रूपमा संक्रमित फेला परिरहेका बेला कोरोना भाइरस ‐कोभिड–१९) लाई सामान्य मान्न थालिएको छ । सरकारले क्वारेन्टाइन हटाउनेदेखि संक्रमितलाई समेत स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित तरिकाले घरमै बस्न प्रोत्साहन गरिरहेको हो ।

कोरोना भाइरसको प्रतिकार्यका लागि बनाइएका क्वारेन्टाइन हटाइएको छ । संक्रमण समुदायमा फैलन नदिन बाहिरबाट आएका र संक्रमणका आशंकितलाई राख्न निर्माण गरिएका क्वारेन्टाइन हटाइएको हो । समुदायमा संक्रमण फैलिसकेको अवस्थामा क्वारेन्टाइनको औचित्य नभएको भन्दै कर्णालीका सबै जिल्लामा बनाइएका त्यस्ता संरचना हटाइएको छ । बस्ने कोही नभएपछि पछिल्लो समय क्वारेन्टाइनहरू खाली थिए । कर्णाली प्रदेश सरकारले कार्तिक अन्तिम साता प्रदेशमा रहेका सबै क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो ।

प्रदेशका केही जिल्ला तथा स्थानीय तहमा क्वारेन्टाइन हटाउने क्रममा रहेपनि अधिकांश हटाइसकिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका कोरोना फोकल पर्सन श्याम आचार्यले सरकारले नै होमआइसोलेसनको अवधारणा ल्याएपछि क्वारेन्टाइन हटाइएको बताए । कर्णालीमा प्रायः विद्यालयका भवनलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको थियो । ‘पछिल्लो समय विद्यालयहरूसमेत सञ्चालन हुन थालेपछि क्वारेन्टाइन हटाइएको हो,’ आचार्यले भने ।

सुरूमा प्रदेशभर आठ सय ९१ स्थानमा ४१ हजार नौ सय ५६ बेड क्षमताका क्वारेन्टाइन बनाइएको थियो । बाहिरबाट आउने मानिसहरूको संख्या घट्दै गएपछि कतिपय स्थानका क्वारेन्टाइन विस्तारै रित्तिदै गएका थिए । गत असोज ६ गतेसम्म तीन सय ५६ वटा क्वारेन्टाइन सञ्चालनमा थिए । क्वारेन्टाइन प्रयोगमा नआएपछि स्थानीय तहहरूले सरकारले निर्णय गर्नु अगावै हटाउन थालिसकेका थिए । हाल प्रदेशभर एक हजार नौ सय बेड क्षमताका ४८ वटा मात्रै क्वारेन्टाइन रहेको फोकल पर्सन आचार्य बताए । उनका अनुसार कर्णालीमा हाल एक हजार ३८ बेड क्षमताका २१ वटा स्थानमा आइसोलेसन सञ्चालनमा छन् । अहिले आइसोलेसनमा समेत बिरामीको चाप घटेको छ ।

कोरोना संक्रमण देशका अन्य ६ प्रदेशमा फैलिसक्दा समेत कर्णाली जोगिएको थियो । यहाँ सबैभन्दा पछि संक्रमण पुष्टि भएको हो । रोजगारीको शिलशिलामा भारत लगायत तेस्रो मुलुकमा गएका नागरिक फर्किएसँगै कर्णालीमा कोरोना प्रवेश गरेको हो । सुरूवातमा भारतलगायत देशभित्रकै अन्य शहरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा बस्न अनिवार्य गरिएको थियो । घर फर्कने मानिसहरूको चाप अत्यधिक हुँदा सरकारलाई क्वारेन्टाइन व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । हाल परिस्थिति सहज बन्दै गएपछि क्वारेन्टाइनहरू हटाइएको सरकारी प्रतिनिधिहरूले बताएका छन् । कोरोना त्रासका कारण घर फर्किएकाहरू पनि विस्तारै रोजगारीको खोजिमा गाउँ छोड्न थालेका छन् । उनीहरू भारतलगायत देशभित्रकै मुख्य शहरहरूमा फर्कन थालेका हुन् । संक्रमणको जोखिम कायमै रहेपनि कोरोना त्रास भने हट्दै गएको हो ।

जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निरञ्जन पन्तले दैलेख जिल्लाभर कुनै पनि स्थानीय तहमा अब क्वारेन्टाइन नरहेको बताए । ‘जिल्लामा कोरोना नियन्त्रणकै अवस्थामा छ,’ उनले भने, ‘अहिले अस्पतालको आइसोलेसनमा एक जना पनि संक्रमित छैनन् ।’ होमआइसोलेसनमा भने पाँच जना संक्रमित रहेको उनले बताए ।
जुम्लामा पनि सबै क्वारेन्टाइन हटाइएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक डा. मंगल रावलले प्रतिष्ठानको आइसोलेनसनमा एक जना मात्रै संक्रमित रहेको जनाए । उनले पछिल्लो समय समुदायस्तरमै कोरोनाको त्रास घट्दै गएको पाइएको बताए । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले सुर्खेतका कुनै पनि स्थानीय तहमा क्वारेन्टाइन नरहेको बताए । हाल सुर्खेतमा ६३ जना सक्रिय कोरोना संक्रमित छन् । तीमध्ये आठ जना संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा रहेको वाग्लेले जानकारी दिए । ‘अस्पताल आउने भनेका गम्भीर प्रकृतिका संक्रमित मात्रै हुन समान्य संक्रमित घरमै बस्छन्,’ उनले भने । जिल्लामा अहिले ५४ जना कोरोनाका सक्रिय संक्रमित अस्पताल बाहिर (होम आइसोलेसनमा) रहेको उनले बताए ।

कोरोनाविरुद्ध प्रतिकार्यका लागि अब दोस्रो चरणमा प्रवेश गरिएको सरकारको भनाइ छ । क्वारेन्टाइन हटाए पनि कोरोना संक्रमितको उपचारका लागि भने पूर्वाधार विकास तथा सञ्चालनमा जोड दिइने कर्णाली प्रदेश सरकारले जनाएको छ ।


भौतिक दूरी कायममा कठिनाइ

कोेरोना भाइरस ‐कोभिड–१९) को जोखिमकाबीच विद्यालयहरू सञ्चालनमा छन् । विद्यार्थीलाई कक्षा कोठामा उपस्थित गराएर पठनपाठन थालेका विद्यालयहरूलाई भौतिक दूरी व्यवस्थापनमा समस्या भएको छ । स्वास्थ्य सावधानी अपनाउँदै कक्षा सञ्चालनको प्रयास गरिरहेका विद्यालयहरूले पर्याप्त भौतिक पूर्वाधार नहँुदा कक्षा कोठामा दूरी कायम गराएर राख्न नसकिएको बताएका छन् ।

सरकारले स्थानीय तहहरूलाई कोरोना जोखिमको आकलन गरेर विद्यालय सञ्चालनको जिम्मेवारी दिएपछि अहिले सुर्खेतका विद्यालयमा पठनपाठन भइरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने भनिए पनि अधिकांश विद्यालयमा भौतिक दूरी कायम गराउन कठिन देखिएको हो । भौतिक पूर्वाधारको अभावमा धेरै विद्यार्थी संख्या भएका विद्यालयमा दूरी कायम गरेर पठनपाठन गर्न कठिनाइ हुने गरेको छ । विद्यालयमा मास्क, सेनिटाइजर र हान धुने व्यवस्था गरिए पनि कक्षा कोठा अभाव हुँदा एकै कोठामा धेरै विद्यार्थी राखेर पढाउन बाध्य भएको विद्यालयले जनाएका छन् ।

वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद न्यौपानेले भौतिक दूरी कायम गराउन चुनौती भएको बताए । उनका अनुसार उक्त विद्यालयमा अहिलेसम्म तीन जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ । त्यहाँ नौै सय विद्यार्थीहरू अध्ययनरत छन् । कक्षा कोठा र खुला चौरको अभाव हुँदा एउटा कोठामा ४०÷५० जना राखेर पढाउन बाध्य भएको प्रधानाध्यापक न्यौपाने बताउँछन् । ‘हामीले गेटबाट प्रवेश गर्ने समयमा ज्वरो नाप्छौँ । मास्क अनिवार्य भनेका छौँ । हात धुने र सेनिटाइजरको व्यवस्था पनि छ । विद्यालयभित्र आइसकेपछि सबै जना एकै ठाउँमा राख्नुपर्ने हुन्छ । सिमित कक्षा कोठा हुुँदा चाहेर पनि भौतिक दूरी कायम गराउन सकिएको छैन,’ उनले भने । विद्यार्थीहरूलाई मास्क भने अनिवार्य गरिएको उनले बताए ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेका विद्यालय तिहारपछि नियमित रुपमा सञ्चालनमा आएका हुन् । सरकारले स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न भनेपनि प्रायजसो विद्यालयमा त्यो सम्भव देखिएको छैन । मास्क लगाउने, भौतिक दूरी पालना गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेको पाइदैन । कोरोनाको जोखिम अहिले पनि कम नभएकाले विद्यालय सञ्चालनमा चुनौती छ । आफूहरूले ढुक्क भएर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था अझै पनि नबनेको शिक्षकहरूले बताएका छन् ।

वीरेन्द्रनगर–८ इत्रामा रहेको श्रीकृष्ण तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक यामलाल घिमिरेले विद्यालयमा हुने भिडभाडलाई कम गर्न विद्यार्थीहरूलाई आलोपालो गरेर पठनपाठन सञ्चालन गरेको जनाए । शिक्षक कर्मचारीहरूलाई कोरोना संक्रमण देखिए पनि विद्यार्थीहरू हालसम्म सुरक्षित नै रहेको उनी बताउँछन् । सुर्खेतका विद्यालयहरूमा कार्यरत एक सय बढी शिक्षकमा संक्रमण देखिइसकेको छ । शिक्षकमा धमाधम कोरोना देखिन थालेपछि विद्यार्थीहरूमा पनि संक्रमको त्रास छ । वीरेन्द्रनगरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत महेन्द्र बयकले सबै साथीहरू एकै ठाउँमा बस्ने गरेकोले संक्रमणको त्रास हुने गरेको बताए । कर्णाली प्रदेशमा कोरोना संक्रमण बढ्दो छ । यहाँका विभिन्न जिल्लामा दैनिक संक्रमण पुष्टि हुने गरेको छ । प्रदेशका सबैभन्दा बढी संक्रमित सुर्खेतमा भेटिएका छन् ।

प्रकाशित मितिः   २३ पुष २०७७, बिहीबार ०६:०२