‘माटो सुहाउँदो कृषि नीति हुनुपर्छ’
साझा संवाद
डा. कृष्णप्रसाद पौडेल कर्णाली विज्ञ समुहका एक सदस्य हुन् । उनी विगत तीन दशकदेखि कृषि क्षेत्रमा कार्यरत छन् । पौडेल ‘खानका लागि खेतीपाति’ अभियानका अभियन्ता समेत हुन् । कर्णालीको कृषिलाई दश वर्षदेखि नियालिरहेका उनी कृषि नीतिको वकालतकर्ताको रूपमा पनि परिचित छन् । कर्णालीको निर्वाहमुखी खेती प्रणालीलाई कसरी व्यवसायिक बनाउने ? उत्पादन वृद्धि र निर्यातमा कसरी जोड दिने ? कृषिमा कर्णालीका सम्भावना के हुन ? त्यसका लागि सरकारले के गर्नुपर्ला ? लगायतका विषयमा कृषि विज्ञ पौडेलसँग हाम्रा सहकर्मी सीता वलीले गरेको कुराकानीः
- कर्णाली किन कृषिजन्य उत्पादनमा परनिर्भर भएको होला ?
कर्णालीमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र कृषि नै हो । यहाँ थुप्रै जडिबुटिजन्य खाद्यान्नहरूको उत्पादन हुन्छ । जुन विश्वमै मंहगोमा बिक्री गरी आय–आर्जन गर्न सकिन्छ । जतिबेला आधुनिक कृषि प्रणाली कर्णालीमा पुगेको थिएन, त्यो बेला यहाँ उत्पादित खाद्यान्नले लगभग पुग्ने अवस्था थियो । समुन्नतिको आधारमा कर्णाली थियो । तर अहिले कर्णालीका जनताले भौगोलिक, प्राकृतिक विशेषता, हावापानी र पर्यावरणीय विशेषता अनुरूपको कृषि प्रणाली छोडिसके । आधुनिकताको नाममा स्थानीय पर्यावरणलाई बिर्सेर कृषि गरिँदैछ । त्यसैले उत्पादन घट्दै गएको हो । आधुनिक कृषिको कुरा आएसँंगै काठमाडौं बस्नेहरूले सिंहदरबारबाटै कर्णालीको लागि कार्यक्रम बनाउन थाले । जसले स्थानीय पर्यावरणलाई समेट्न सकेन । अहिले पनि पर्यावरणलाई अध्ययन नगरी देखासिकी गर्ने परिपाटी कायमै छ ।
- यहाँको कृषि क्षेत्रका खास समस्या के देख्नुहुन्छ ?
हामी बढी महŒवाकांक्षी भएका छौँ । सामाजिक मनोविज्ञान यस्तो भएको छ की उत्तर आधुनिक बन्न खोज्दैछौं । हामीले कर्णालीको विशेषताबारे जान्ने प्रयास नै गरेनौँ । हाम्रा पुर्खाले मार्सी, चिनो, कागुनो, फापर किन लगाए होलान् भन्ने प्रश्न हाम्रो मनमा कहिल्यै आएन । कर्णालीलाई स्थानीय विशेषतामा नहेरिनु नै यहाँको कृषि क्षेत्रको खास समस्या हो । हामीहरू पानी नभएपनि सिँचाइको कुलो मागिरहेका छौँ, नफलेपनि जिरा मसिनो धान रोप्नुपरेको छ । कर्णालीको कृषिको विशेषता भनेको अर्गानिक हो । तर हामीहरूले त्यसबारेमा कहिल्यै सोचेनौँ । बाहिरबाट आएको ज्ञान पढाउने कृषि विज्ञहरूको कर्णालीमा कमी छैन । कसैले यहाँको अर्गानिक विशेषताको बारेमा बोल्नै चाँहदैनन् । जबरजस्ती किसानहरू आधुनिक बन्नुपरेको छ, त्यो पनि बाहिरको प्रविधि प्रयोग गरेर । कर्णालीलाई नजानिदो ढङ्गले कर्णालीकै अगुवाहरूले मगन्ते बनाएका छन् । यहाँका राजनीतिक नेतृत्वमा अडान छैन । कर्णालीको सबै क्षेत्रमा कृषिको एउटै विशेषता छैन । हिमाली र पहाडी भेकका फरक–फरक विशेषता छन् । यी विशेषतालाई समेत चिन्न नसकिएको अवस्था छ । किसानले उत्पादन ग¥यो भनेपनि सरकारसँग त्यसलाई बजारीकरण गर्नको लागि नीति छैन । यस्ता धेरै समस्याहरू कर्णालीको कृषि क्षेत्रमा छन् ।
- कर्णालीमा उत्पादित कृषिजन्य वस्तुको निर्यात अत्यन्त न्यून छ, आयात भने अत्यधिक बढ्दो छ । यसलाई बदल्न के गर्नुपर्ला ?
निर्यात र आयातको कुरालाई प्राथमिकीकरण गरेर अगाडि बढ्नुपर्ने हुन्छ । आफूसँग भएका वस्तु सस्तोमा बेचेर महंगो खाद्य सामग्री खरिद गर्ने बानी हामीमा छ । त्यसलाई रोकी आफ्नै ठाउँमा कृषि वस्तुको उत्पादनमा जोड दिइनुपर्छ । कर्णालीको कृषि सम्भाव्यता अध्ययन गरी प्राथमिकताका क्षेत्रहरू निर्धारण गर्नुपर्छ । भौगोलिक क्षेत्रअनुसार माथिल्लो भेकका पाटनहरूमा हुने जडिबुटीजन्य खाद्य वस्तु, पशुपालनजन्य उत्पादन, फलफूल र पहाडी क्षेत्रमा हुने विभिन्न बिउहरू र मसलाजन्य चिजहरू निर्यात गर्न सक्छौं । फेरिपनि निर्यात गर्नलाई उत्पादन बढाउन जरुरी हुन्छ । युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्ने खालका कार्यक्रमहरू सरकारले ल्याउनुपर्छ । कृषिमा लाग्ने युवाको सामाजिक सुरक्षामा सरकारको विशेष चासो रहनुपर्छ । आवश्यक सीप, तालिम र उचित मूल्य र समयमा बिउ–मलको प्रबन्ध गराउन सक्नुपर्छ । त्यसो गर्न सकिए मात्र उत्पादन बढ्छ । हामीले उत्पादन वृद्धि नगरी निर्यात बढाउन र आयत रोक्न सक्दैनौँ ।
- प्रदेश सरकारले कृषिलाई कत्तिको प्राथमिकता दिएको पाउनुभयो ?
प्रदेश सरकारले कृषि क्षेत्रमा केही गर्न नखोजेको त होइन तर यो क्षेत्रमा युवाहरूको सहभागिताका लागि अझै थुप्रै गर्नुपर्ने हुन्छ । अहिले सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रमको नीति मलाई खास मन परेको छैन । साना किसानका लागि ल्याएको कार्यक्रम प्रदेशस्तरको सहकारीबाट मात्रै वितरण गर्ने कार्यविधिले धेरै साना–किसानहरू मर्कामा पर्छन् । फेरि पनि यो कार्यक्रम टाँठाबाठाहरूका लागि हुन्छ । त्यसैले अनुदान दिएर कृषिमा परिवर्तन आउँदैन । पैसा छरेर खेती फल्दैन । त्यसैले खेती फलाउनलाई किसानको वास्तविक आवश्यकता पहिचान गर्नु जरुरी छ ।
- कर्णालीलाई कृषि उत्पादनमा अर्गानिक प्रदेश बनाउने घोषणा गरिएको छ । कार्यान्वयनको अवस्था कस्तो देख्नुहुन्छ ?
कर्णाली मात्रै होइन अबको विश्वमा नै रसायनविनाको खेतीपाती आवश्यक छ । अहिलेको कृषिले माटो, प्रकृति, मानव सभ्यतामा नै आघात पुगेको छ । रसायन र विषादीले मानवीय स्वास्थ्यमा नराम्रो असर परेको छ । कर्णालीको खास विशेषता भनेको नै रसायनको खेती नहुनु हो । यहाँ अर्गानिक खेतीपातीहरू बढी फस्टाउँछ । तर अहिले कर्णालीको माटोलाई विषाक्त बनाइँदै छ । रैथाने कृषि बालीलाई प्राथमिकता दिने, जैविक कृषि प्रणाली अपनाउने र प्राङ्गारिक मल उत्पादनमा स्थानीय सोच प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ । तब मात्र कर्णाली पूर्णरूपमा अर्गानिक प्रदेश बन्न सक्छ । कर्णालीलाई अर्गानिक प्रदेश घोषणा गर्नु कुनै नयाँ कुरा होइन । परापूर्वकालदेखि हाम्रा पुर्खाहरूले अर्गानिक खेती गर्दै आएका थिए । त्यसको अवशेष अझैपनि देख्न सकिन्छ । त्यसलाई प्रवद्र्धन गर्ने कुरामा प्रदेश सरकार लाग्नुपर्छ ।
- के अब कर्णाली कृषिमा आत्मनिर्भर होला ?
यसमा सबैभन्दा ठूलो भूमिका राजनीतिक नेतृत्वकै छ । किसान त सधंै तयार नै छन् । त्यसको लागि दीर्घकालीन सोच हुनु जरुरी छ । कर्णालीका पाखाहरूमा करोडौं प्रजातिका फलफूलहरू रोप्नुपर्छ । कृषि नीति माटो सुहाउँदो र कार्यक्रम किसानमुखी हुनुपर्छ । कार्यान्वयन चुस्त दुरुस्त हुनुपर्छ । किसानलाई आत्मसम्मान तरिकाले बाँच्ने वातावरण सरकारले गरिदिनुपर्छ । किसान हुँ भन्दा नाक खुम्च्याउने होइन गर्वका साथ भन्न सक्ने गरी भविष्य सुरक्षित बनाइनुपर्छ । कर्णालीमा कृषि क्षेत्रमा काम भएको छैन । केही अनुदानका कार्यक्रमले मात्रै किसानका पीडामा मलमपट्टि लाग्दैन । त्यसको लागि उचित दृष्टिकोण, सामाजिक सुरक्षाका कार्यक्रम सरकारले ल्याहोस् । सरकारले कृषि उत्पादनको बजारीकरणका साथै आयातलाई निरुत्साहित गर्न सक्नुपर्छ । कृषि प्रविधिमा, स्थानीय विशेषतासँग मिल्ने प्रविधि खोज्ने र एकीकृत प्रणाली समेत अपनाउनुपर्छ ।
कर्णालीको कृषिबाट सम्वृद्धि ल्याउने हो भने स्थानीय पर्यावरणलाई ख्याल गरी खेतीपाती गर्नुप¥यो हुन्छ । हिमाली क्षेत्रमा स्याउ, ओखर, मार्सी, कागुनो, फापर कोदो, पशुपालन गर्ने, पहाडी क्षेत्र सुन्तला, अन्न, मसलाजन्य र गेडागुडी तथा बिऊका लागि उपयुक्त छ । त्यसको पहिचान गरी जहाँ जुनकुराको उत्पादनका लागि पर्यावरणले साथ दिन्छ सोही खाद्य वस्तुको उत्पादनमा लाग्नुपर्छ । कृषि प्रकृतिसँग प्रत्यक्ष जोडिने भएकोले यो जोखिमको पेशा पनि हो । प्राकृतिक जोखिमबाट जोगाउन किसानमुखी कार्यक्रम सरकारले ल्याउनुपर्छ । नेतृत्व नसच्चिएसम्म कर्णाली सम्वृद्ध हुनै सक्दैन । समग्र विकासमा पछि पर्नुको मूल कारण नै यहाँको नेतृत्व हो । कर्णाली सुनको सिरानी हालेर नुनको खोजिमा हिँडेको प्रदेश हो । आफूसँग प्रर्याप्त सम्भावना हुँदाहुँदै पनि अरूसँग हात फैलाएर खाँदा कर्णालीको गरिमा गुम्छ । त्यसैले रैथाने बाली संरक्षणमा सरकारले ध्यान दिनुपर्छ ।
प्रकाशित मितिः २३ पुष २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।