खेर जाँदैछ अवसर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहले पार्टीलाई विभाजनको संघारमा पु¥याएको छ । औपचारिक रूपमा घोषणा नभएपनि नेकपा विभाजनको संघारमा छ । केही कानुनी जटिलाबीच नेकपामा यतिबेला दुई वटा समानान्तर समूह छन् । दुवै समूहले केन्द्रदेखि स्थानीय तहसम्म आ–आफ्ना कमिटी बनाउन थालेका छन् । नेकपा एउटा समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूह पुष्पकमल दाहल (प्रचण्ड) र माधवकुमार नेपालले चलाएका छन् । पार्टीको विवादको प्रत्यक्ष प्रभाव सरकारको काममा पनि परेको छ । प्रतिनिधिसभा विघटन भइसकेको छ । यतिबेला प्रदेश सरकारलाई पनि अस्थिरताले घेरेको छ । सरकार जोखिमपूर्ण अवस्थामा पुगेको छ । यसले सरकारको नेतृत्व गरिरहेकाहरू गर्नैपर्ने काममा भन्दा पनि आफ्नो नेतृत्व र पद जोगाउन केन्द्रीत भइरहेको देखिन्छ ।

केन्द्रीय तहबाट सुरू भएका विभाजनको चिरा तलसम्म गहिरिँदै गएको छ । प्रदेश र संघीय सरकारका मन्त्रीहरूले समेत समूह कित्ताकाट गरिसकेका छन् । राजनीतिक भविष्य र पद सुरक्षित गर्न मन्त्रीहरू नै समूह फेरबदलमा लागेका हुन् । विगतमा एउटा समूहमा रहेकाहरू अहिले अवसर हेरेर अर्को समूहमा लाग्ने क्रम जारी छ । यो श्रृंखला कर्णालीमा पनि देखिएको छ । जसले सत्ता समिकरण नै बदलिदिएको छ । पछिल्लो पटक प्रदेश सरकारका दुई जना मन्त्रीहरूले पार्टीभित्रको समूह परिवर्तन गरेका छन् । नेकपा ओली समूहका मन्त्रीद्वय दल रावल र नन्दसिंह बुढा प्रचण्ड–नेपाल समूहमा गएका छन् । ओली समूहमा बसिराख्दा पद नै धरापमा पर्ने देखेपछि उनीहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका हुन् । प्रदेशका सामाजिक विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढा दुवै यसअघि ओली पक्षको कोटाबाट मन्त्री भएका थिए । नेकपा स्रोतका अनुसार मन्त्रीद्वयलाई समूह फेर्नुपर्ने सरकारको दबाब थियो । उही समूहमा रहिरहे पद नजोगिने देखेपछि उनीहरू समूह बदल्न बाध्य भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै काठमाडौं पुगेका उनीहरूले शीर्ष नेतृत्वको रोहबरमा प्रचण्ड–नेपाल समूह प्रवेश गरेका हुन् । दुई मन्त्रीले साथ छोडेसँगै कर्णाली सरकारमा अब ओली समूहको प्रतिनिधित्व शून्य भएको छ । प्रदेशका ६ जना मन्त्री नै प्रचण्ड–नेपाल समूहका भएका छन् । समूह फेरबदलमा मन्त्रीहरू मात्रै होइन सांसदहरू पनि लागेका छन् । कर्णाली प्रदेशसभाका तीन जना सदस्यहरूले समेत खेमा परिवर्तन गरेका छन् । पूर्व माओवादी खेमाका धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा गएका छन् भने ओली समूहका पदम रोकायाले प्रचण्ड–नेपाल समूह रोजेका छन् ।

झट्ट हेर्दा यो एउटा राजनीतिक दलभित्रको अन्तरकलह हो । तर यसको असर समग्रतामा पर्दछ । यतिबेला सरकार अस्तव्यस्त बनेको छ । गर्नुपर्ने काम भइरहेका छैनन् । बजेट कार्यान्वयन हुन सकेको छैन । यस वर्ष पनि विगतमाजस्तै असफल हुने संकेत देखिएको छ । जसले गर्दा अर्को अवसर खेर जाँदैछ ।

प्रकाशित मितिः   २३ पुष २०७७, बिहीबार ०६:०१