कैदीबन्दीलाई दूषित पानी

जिल्ला कारागार जुम्लाका कैदीबन्दी र कर्मचारी दूषित पानी पिउन बाध्य छन् । कारागारमा खानेपानीको व्यवस्था नहँुदा उनीहरूले तिलानदीको पानी पिउने गरेका हुन् । जेनेरेटरको सहायताले नदीबाट तानेर ल्याइएको दूषित पानी पिउनुको विकल्प नभएको कारागारका चौकीदार खाम्बा रावतले बताए ।‘वर्षौंदेखि खानेपानी र विद्युतको समस्या झेल्दै आएका छौं । नदीको फोहोर पानी पिउछौं,’ उनले भने । मानवअधिकार आयोगको टोली अनुगमनमा आउँदा सम्बन्धित निकायमा पानी र बत्तीको समस्या समाधान गर्न भनिएपनि हालसम्म सुनुवाइ नभएको उनले बताए ।

उक्त कारागारमा अहिले एक सय १० जना कैदीबन्दी रहेका छन् । जसमा एक जान सुत्केरीसँगै तीन जना महिला र एक सय सात पुरुष छन् । कारागार दुई सय कैदीबन्दी राख्न सकिने क्षमताको हो ।

कैदीबन्दीले नदीको पानी पिउन थालेको एक महिनाभन्दा बढी समय भएको छ । जेलर गयाप्रसाद पाण्डेका अनुसार कारागारमा कैदीबन्दीको स्वास्थ्य उपचारमा पनि समस्या हुने गरेको छ । एक जना अहेवको दरबन्दी भएपनि त्यहाँ हाल स्वास्थ्यकर्मी छैनन् । सामान्य चेकजाँचको लागि समेत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जानुपर्ने बाध्यता रहेको जेलर पाण्डेले बताए ।

खलंगा खानेपानी उपभोक्ता समितिका प्रमुख अर्जुन बरालले सडक निर्माणका क्रममा पाइप लाइनमा क्षति पुगेपछि कारागारमा पानी पु¥याउन नसकिएको बताए । चन्दननाथ नगरपालिकाको बसपार्क र सिंगाचौर नजिकै सडक निर्माणका क्रममा डोजरले पाइप लथालिङ्ग पारेपछि कारागारमा खानेपानीको समस्या आएको हो । ‘दुई ठाउँमा पाइप क्षतविक्षत भएको छ । हामीसँग पाइप छैन । कारागारले पाइप व्यवस्थापन गरे मात्रै पानी नियमित गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित मितिः   २२ पुष २०७७, बुधबार ०८:५९