गहिरिँदै विभाजनको चिरा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक कलह झाँगिदै गएको छ । नेकपामा यतिबेला दुई वटा समानान्तर समूह छन् । औपचारिक घोषणा नभएपनि नेकपा विभाजनको संघारमा छ । दुवै समूहले केन्द्रदेखि स्थानीय तहसम्म आ–आफ्ना कमिटी बनाउन थालेका छन् । नेकपा एउटा समूहको नेतृत्व केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूह पुष्पकमल दाहल (प्रचण्ड) र माधवकुमार नेपालले चलाएका छन् ।
यी दुवै समूह अलग–अलग पार्टी झैं संगठन विस्तार र सत्ता समिकरणका खेलमा जुटेका छन् । भेला र विरोध सभामार्फत एक अर्को समूहको आरोप, प्रत्यारोप र चर्को आलोचनामा नेताहरू उत्रिएका छन् । केन्द्रीय तहबाट सुरू भएका विभाजनको चिरा तलसम्म गहिरिँदै गएका हुन् ।
पार्टीको आन्तरिक विवादको असर प्रत्यक्ष रूपमा भ्रातृ संगठनमा देखिएको छ । सबै तहका पार्टी र भ्रातृ संगठनले छुट्टाछुट्टै भेला र कमिटी गठन गर्न थालेका छन् । नेकपाको पछिल्लो घटनाक्रमबारे जानकारी दिन र कार्यकर्तालाई आफ्नो समूहमा संगठित गर्न दुवै समूहका नेता अहिले जिल्ला दौडाहमा छन् ।
प्रदेश र संघीय सरकारका मन्त्रीहरूले समेत समूह कित्ताकाट गरिसकेका छन् । राजनीतिक भविष्य र पद सुरक्षित गर्न मन्त्रीहरू नै समूह फेरबदलमा लागेका हुन् । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले पार्टीभित्रको समूह परिवर्तन गरेका छन् । नेकपा ओली समूहका मन्त्रीद्वय दल रावल र नन्दसिंह बुढा प्रचण्ड–नेपाल समूहमा गएका छन् ।
ओली समूहमा बसिराख्दा पद नै धरापमा पर्ने देखेपछि उनीहरू प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा लागेका हुन् । प्रदेशका सामाजिक विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बुढा दुवै यसअघि ओली पक्षको कोटाबाट मन्त्री भएका थिए ।
उनीहरूले विज्ञप्ति जारी गर्दै अहिले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गरेका छन् । नेकपा स्रोतका अनुसार मन्त्रीद्वयलाई समूह फेर्नुपर्ने सरकारको दबाब थियो । उही समूहमा रहिरहे पद नजोगिने देखेपछि उनीहरू समूह बदल्न बाध्य भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगै काठमाडौं पुगेका उनीहरूले शीर्ष नेतृत्वको रोहबरमा प्रचण्ड–नेपाल समूह प्रवेश गरेका हुन् । दुई मन्त्रीले साथ छोडेसँगै कर्णाली सरकारमा अब ओली समूहको प्रतिनिधित्व शून्य भएको छ । प्रदेशका ६ जना मन्त्री नै प्रचण्ड–नेपाल समूहका भएका छन् ।
मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी प्रचण्ड–नेपाल समूहका हुन् । उक्त समूह बलियो बनेसँगै कर्णालीमा ओली समूह अल्पमतमा परेको छ । मन्त्री ज्वाला तत्कालीन एमालेको नेपाल पक्षका हुन् भने मुख्यमन्त्री शाही, मन्त्री भण्डारी र केसी पूर्वमाओवादी खेमाका हुन् ।
यस्तै, नेकपा विभाजनको असर प्रदेशसभामा पनि परेको छ । कर्णाली प्रदेशसभाका तीन जना सदस्यहरूले समेत खेमा परिवर्तन गरेका छन् । पूर्व माओवादी खेमाका धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा गएका छन् भने ओली समूहका पदम रोकायाले प्रचण्ड–नेपाल समूह रोजेका छन् । दलभित्रकै विवादका कारण केही महिना पहिले नै धरापमा परेको शाही नेतृत्वको कर्णाली सरकारको जोखिम अब भने टरेको राजनीतिज्ञहरूले बताएका छन् । यसअघि मुख्यमन्त्री शाहीविरुद्ध दलभित्रै बहुमत सदस्यले अविश्वासको प्रस्ताव ल्याएका थिए । केही प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावको समर्थन फिर्ता लिएपछि शाहीको पद जोगिएको थियो ।
प्रकाशित मितिः २२ पुष २०७७, बुधबार ०९:०३
साझा बिसौनी ।