एमयूका प्राध्यापकलाई ड्यूटीमा कडाइ

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले स्थायी र करार प्राध्यापकलाई ड्यूटीमा कडाइ गर्ने भएको छ । स्थायी जागिर विश्वविद्यालयमा भएर पनि अन्यत्र विभिन्न कलेजमा समेत अध्यापन गराउने प्राध्यापकमाथि कडाइ गर्न लागिएको हो ।

स्थायी र करार प्राध्यापकले दैनिक सात घण्टा अनिवार्य रूपमा विश्वविद्यालयमा बिताउनुपर्ने प्रावधानलाई कडाइका साथ लागू गरिएको उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले बताए । मंगलवार आयोजित भर्चूअल पत्रकार सम्मेलनमा उनले विभिन्न कलेज चहार्ने प्राध्यापकलाई ड्यूटीमा कडाइ गरिने बताएका हुन् । उनले भने, ‘अब यस्तो प्रवृत्ति अन्त्य गरिनेछ । एमयूमा जागिर खाएर मोटरसाइकलमा कलेज चहार्दै हिँड्न पाइने छैन ।’

स्थायी र करार प्राध्यापकले अन्यत्र बढी समय दिँदा विश्वविद्यालयले अनावश्यक रूपमा ‘पार्ट टाइम’ र कोर्स करारमा शिक्षक राख्दै आएको थियो । विश्वविद्यालयको ऐन र नियमावलीमा स्कुल अफ म्यानेजमेन्ट (मुसोम) बाहेक अन्यत्र कोर्स करारमा राख्न पाइने व्यवस्था नभएको उपकुलपति सिंहले बताए । अबदेखि पूर्णकालीन सेवामा रहेका प्राध्यापकलाई ‘वर्क लोड’ पुगेपछि मात्र आवश्यकताका आधारमा आंशिक शिक्षकलाई नियुक्त गरिने उनी बताउँछन् । गत फागुनमा उपकुलपति नियुक्त भएपछि सिंहले कोर्स करारमा रहेका सबै शिक्षकलाई सेवामुक्त गरेका छन् ।

विश्वविद्यालय कार्यकारी परिषद्ले पदाधिकारीले अनिवार्य पढाउनुपर्ने निर्णय गरेको छ । उपकुलपति सिंहले ओभरटाइम (ओटी) खाने प्रवृत्तिको अन्त्य गर्न र पदाधिकारीको जिम्मेवारीमा रहेका प्राध्यापकलाई प्राध्यापन पेसासँग जोडिराख्न यस्तो निर्णय गरिएको बताएका छन् ।

त्यस्तै, विश्वविद्यालयले प्रत्येक दिन अनलाइनमार्फत अन्तरक्रिया गर्ने भएको छ । दैनिक एक डेढ घण्टा अनलाइनबाट विश्वविद्यालयको वर्तमान अवस्था, पढाइ हुने विषयलगायतको जानकारी गराइने भएको हो । उपकुलपति सिंहले अबदेखि देशभरका विद्यार्थी तथा अभिभावकले अनलाइनमा जोडिएर घरबाटै विश्वविद्यालयको बारेमा जान्ने र बुझ्ने मौका पाउने बताए । अनलाइन अन्तरक्रियामा सम्बन्धित विषयका व्यक्ति, क्याम्पस प्रमुखलाई समेत सहभागी गराउनेछ ।

विश्वविद्यालयले अबको दुई वर्षभित्रमा मेडिकल साइन्सको अध्यापन सुरू गर्ने भएको छ । यसका लागि प्रक्रिया अघि बढाएको उपकुलपति सिंहले बताए । मेडिकल साइन्समा चार वर्षीय ब्याचलर इन पब्लिक हेल्थ, बिबिएच, बिएसी नर्सिङ तथा बिएन नर्सिङको पाठ्यक्रम बनाउन लागिएको जनाइएको छ । विश्वविद्याललाई प्राकृतिक र सामाजिक विज्ञानको थलोको रूपमा विकास गरिने उपकुलपति सिंहले बताए ।

प्रकाशित मितिः   २२ पुष २०७७, बुधबार ०८:५७