‘निर्वाचनसम्म नेकपा एकताबद्ध हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मणिचन्द्र थापाले आगामी निर्वाचनसम्म पार्टी एकताबद्ध हुने बताएका छन् । खानेपानी मन्त्रीसमेत रहेका थापाले अहिले नेकपा फुटको संघारमा पुगेपनि आगामी मध्यावधी निर्वाचनसम्म एक भइसक्ने बताए ।

मंगलवार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै उनले नेकपा पुनः एक हुने दाबी गरेका हुन् । ‘तत्काल एकताबद्ध हुन सम्भव नदेखिए पनि चुनावसम्ममा हामी एक भएर जान्छौं,’ उनले भने । पार्टी विभाजन नहुने भन्दै उनले आगामी निर्वाचनमा सँगै जानेगरी नेकपाका अलग–अलग समूहको एकता हुने जनाए । ‘नेकपा विधिवित रूपमा फुटेको छैन । हामी एक भएरै जनतामाझ जान्छौं,’ मन्त्री थापाले भने ।

नेकपाको विभाजनमा देशी–विदेशी शक्तिले समेत प्रभाव पारेको उनले बताए । बाह्य हस्तक्षेप र प्रभावकै कारण नेकपा फुटको संघारमा पुगेको उनको जिकिर थियो । संसद् विघटन र चुनाव घोषणाबारे पत्रकारहरूले राखेको जिज्ञाशामा मन्त्री थापाले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पुनः स्थायित्व दिने प्रयास गरेको बताए । उनले प्रधानमन्त्रीको उक्त कदमले देशलाई स्थायित्व दिने दाबी गरेका हुन् ।

उनले अहिलेको अवस्थामा ताजा जनमतका लागि जनतामाझ जानुको विकल्प नरहेको बताए । ‘सरकारले चालेको कदम अग्रगामी छ । चुनावमा जानुको अब कुनै विकल्प छैन,’ मन्त्री थापाले भने, ‘राजनीति शास्त्रको सिद्धान्तअनुसार सरकार वा प्रणाली संकटमा परेपछि जनतामाझ जानैपर्ने हुन्छ ।’

ओली समूहमा कर्णाली प्रदेशको इञ्चार्जको जिम्मेवारी पाएका थापाले यतिबेला नेता तथा कार्यकर्ताहरूलाई दिइएको जिम्मेवारी अनौपचारिक मात्रै भएको जनाए । उनले आफ्नो भूमिकासमेत अमूर्त रहेको बताएका हुन् । ‘मलाई पार्टीमा निम्तिएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि व्यवस्थापनको जिम्मेवारी मात्रै दिएको हो,’ उनले भने, ‘इञ्चार्जभन्दा पनि पार्टीले प्रदेशको संयोजन गर्न भनेको छ ।’

प्रदेश सरकारहरूको फेरबदलको विषयमा बोल्दै यसबारे कुनै छलफल नै नभएको उनले बताए । पार्टी फुटेको घोषणा भइहालेको अवस्थामा बाहेक प्रदेश सरकारबारे अहिले नै केही भन्न नसकिने उनको भनाइ थियो ।

संसद् विघटन पछि प्रचण्ड–नेपाल समूहका केही मन्त्रीहरूले राजीनामा दिएपछि विस्तार गरिएको मन्त्रिपरिषद्मा थापा ओली समूहबाट खानेपानी मन्त्री बनेका हुन् । उनी सुर्खेत भएर मंगलवार जाजरकोटमा आयोजना गरिएको ओली समूहको भेलालाई सम्बोधन गर्न गएका थिए ।

प्रकाशित मितिः   २२ पुष २०७७, बुधबार ०८:५३