कर्णाली उत्सवको दोस्रो संस्करण फागुनमा
कर्णाली उत्सवको दोस्रो संस्करण आगामी फागुनमा हुने भएको छ । आयोजक संस्था ऋति फाउण्डेशनले आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर उत्सवको दोस्रो संस्करण आगामी फागुन २७ गतेदेखि २९ गतेसम्म वीरेन्द्रनगरमा गर्न लागिएको जनाएको हो । उत्सव वीरेन्द्रनगस्थित बुलबुले उद्यानमा आयोजना गरिनेछ ।
पहिलो संस्करण गत वर्ष फागुनमै भएको थियो । ‘कुडा कर्णालीका’ भन्ने मूल नाराका साथ हुन लागेको दास्रो संस्करणमा देशभरका ५० जनाभन्दा बढी साहित्यकार, लेखक, पत्रकार, कलाकारलगायत वक्ताहरूको सहभागिता रहनेछ । प्रदेशको पहिचान, सम्भावनालाई उजागर गर्ने उद्देश्यले उत्सव आयोजना गरिएको कर्णाली उत्सवका संयोजक कमल लम्सालले बताए । ‘कर्णालीको ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यटकीय महŒवलाई राष्ट्रिय रूपमा परिचित गराइ बौद्धिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उत्सवको आयोजना गरिँदै छ,’ उनले भने ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानी अपनाएर उत्सव गर्ने तयारी गरिएको आयोजक संस्थाले जनाएको छ । गत वर्षभन्दा यो वर्षको कर्णाली उत्सवमा थप आकर्षणका कार्यक्रम प्रस्तुत गरिने र कर्णालीका मौलिक कलाहरूको प्रस्तुति रहने बताइएको छ । ‘नदेखिएका र नसुनिएका हिरो (पैकालो)हरूका कथा यसपटक हेर्न÷सुन्न पाइने छ,’ संयोजक लम्साल भन्छन्, ‘उत्सवमा कर्णालीको पहिचान र सम्भावना केलाउँछौं ।’
कर्णाली बुझ्न चाहनेका लागि यो उपयुक्त अवसर हुने उनको दाबी छ । उत्सवमा अध्ययन तथा अनुसन्धानका लागि विषय पहिल्याइने र नीति निर्माताका लागि खुुराक तयार गरिने उनको भनाइ छ । सरकारलाई जनताप्रति जवाफदेही बनाउनु उत्सवको अर्को उद्देश्य रहेको लम्साल बताउँछन् । उत्सव विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्यमा आयोजना गरिने जनाइएको छ ।
साझा बिसौनी ।