जुम्लाका २७ गाउँ ‘छुइगोठमुक्त’

जुम्ला: जुम्लाको तातोपानी गाउँपालिका–४ हाँकुकी गौरीकला विक महिनावारी भएका बेला घरमै बस्थिन् । उनी घरमा बसेको देखेर छिमेकीले समेत घृणा गर्थे । कुनै बेला छिमेकी र आफन्तको मात्रै होइन धामिझाँक्री र समाजका अगुवाहरूकै तारो बनेकी थिइन् गौरीकला । कारण थियो, महिनावारी नबार्नु ।

परिवार र समाजको दबाबलाई बेवास्ता गर्दै उनले छाउ बारिनन् । महिनावारी भएका बेला घरमा बस्न छाडिनन् । छाउ नबारी घरभित्र बसे देविदेवताको श्राप लागेर अनिष्ट हुन्छ भन्ने सामाजिक संस्कारका कारण अरू महिलाले भने घरभित्र पस्ने आँट गरेनन् । महिनावारी बार्ने चलनका कारण यहाँका सबैजसो महिलाहरू घरबाहिर बनाइएको गोठ, छाप्प्रो र कटेरामा जोखिम मोलेर बस्ने गर्थे । अहिले भने गौरीकलाको गाउँ छाउगोठमुक्त भएको छ । ‘पहिले छुइ भएका बेला घरमा कोही बस्थेनन् । अहिले गोठमा कोही बस्दैनन्,’ उनले भनिन् ।

छुइगोठमुक्त गर्न बाधक बनिरहेका धामीझाँक्रीलाई सम्झाइ–बुझाइ उनीहरूकै घरबाट सुधारको अभियान थालिएको हो । धामिझाँक्री नै अभियानप्रति सकारात्मक बनेपछि अहिले सिंगो गाउँनै छुइगोठमुक्त भएको स्थानीय माया कामीले बताइन् । ‘कठाङ्ग्रिदो चिसोमा गाइवस्तुसँगै गोठमा बस्दा निकै पीडा हुन्थ्यो । अहिले महिनावारीका बेला पनि घरमै बस्न पाइन्छ,’ उनले भनिन् । गाउँका धामीझाँक्री र समुदायका अगुवाहरूको साथ पाएपछि आफ्नो गाउँ छाउगोठमुक्त भएको उनले सुनाइन् ।

रजस्वला हुनु महिलाहरूको नियमित प्रक्रिया भएपनि अमानवीय व्यवहार गरेर घरबाहिर राखिनु अपराध सरह भएको स्थानीय सन्तवीर कामी बताउँछन् । ‘पहिले अन्धविश्वासका कारण देविदेवता लाग्ने डरले गोठमा बस्न बाध्य बनायौं । त्यो हाम्रो ठूलो भूल थियो । अहिले सबैलाई महशुस हुन थालेको छ,’ सन्तवीरले भने । उनका अनुसार गाउँमा अहिले महिनावारी भएका महिलालाई पुजा कोठाबाहेक सबै ठाउँ जान र बस्न रोकतोक छैन ।

छाउगोठमा बसेकै कारण महिलाहरू हिंसा, बलात्कार र हत्याको सिकार हुने गरेका छन् । गोठलगायतका असुरक्षित ठाउँमा बस्दा उनीहरूलाई जंगली जीवजन्तुको समेत उत्तिकै डर हुने गरेको छ । तातोपानी–७ सर्मिकी स्थानीय दर्शना कुँवर भन्छिन्, ‘आफ्ना छोरीचेली घरमै सुरक्षित नभए अन्त कहाँ होलान्, सबै मिलेर समाजका यस्ता कुसंस्कार अन्त्य गर्नैपर्छ ।’ हाँकु गाउँ अहिले औपचारिक रूपमा छाउगोठमुक्त घोषणा गरिएको छ ।

सर्वोदय नेपाललगायतका गैररकारी संस्था, समुदायका अगुवा र वडा पालिकाको संयुक्त पहलमा हाँकुलाई छुइगोठमुक्त घोषणा गरिएको तातोपानी–४ का वडा अध्यक्ष धीरज जैसीले बताए । ‘छुइप्रथा मान्ने जो–सुकैलाई कानुनी दायरामा ल्याउने सरकारका नीति तथा कार्यक्रम छन्,’ उनले भने, ‘विस्तारै मानसिक रूपमै छाउगोठ भत्किदैछन् ।’ महिनावारीका समयमा असुरक्षित बसाइँका कारण महिलाहरूमा जटिल स्वास्थ्य समस्या देखिने गरेको उनले बताए ।

जुम्लाका आठ स्थानीय तहका दुई सय १८ गाउँबस्तीमध्ये हालसम्म २७ वटा बस्ती छुइगोठमुक्त घोषणा गरिएको छ । ‘अहिले सबैले बुझ्न थालेका छन् । परिवर्तन विस्तारै हुन्छ,’ सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले भने । उनले यस्ता खाले सामाजिक विकास र परिवर्तनका अभियानको नतिजा आउन समय लाग्ने बताए । अभियान्ता खत्रीका अनुसार अहिलेसम्म २१ बस्तीका एक हजार सात सय ४० घरधुरी छुइगोठमुक्त घोषणा भएका छन् । छुइगोठमुक्त घोषणा अभियान विस्तारै थप व्यवहारिक र प्रभावकारी हुँदै जाने अभियान्ताहरूले बताएका छन् । महिलामाथिको अत्याचार अन्त्यका लागि स्वयम् महिला नै एकजुट हुनुपर्ने उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   २० पुष २०७७, सोमबार ०९:०६