सातौँ राष्ट्रिय खेलकुद पुसको पहिलो सातामा हुने

पटक-पटक स्थगित भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुसको पहिलो साताबाट सञ्चालन हुने भएको छ। युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा सोमबार बसेको राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठकले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी पुस ८ देखि १५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो।

मङ्सिरको दोस्रो सातादेखि गर्ने भनिएको उक्त प्रतियोगिताका लागि आवश्यक तयारी नपुगेको र सरकारले उपलब्ध गराउने बजेट आर्थिक निर्देशिका पारित नहुँदासम्म रकम निकासा नहुने कारण देखाउँदै प्रतियोगिता पुनः स्थगन गरिएको थियो।

२०७० सालमा आयोजना गर्ने निर्णय गरिए पनि राजनीतिक गतिरोध, मधेस आन्दोलनलगायतका कारण सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिलेसम्म हुन नसकेको राखेप सदस्य–सचिव केशवकुमार बिष्टले बताए।

राष्ट्रिय प्रतियोगिता अयोजनाका लागि परिषद्ले सरकारसँग ३७ करोड रुपैयाँ माग गरेको थियो। हालसम्म २० करोड निकासा भइसकेको छ। शारीरिक सुगठन, पौडी र ट्रायथलन खेलको राष्ट्रिय प्रतियोगिता यसअघि नै सम्पन्न भइसकेकाले पुसमा हुने प्रतियोगितामा ३२ खेलमात्र समावेश हुनेछन्।

प्रकाशित मितिः   ६ मंसिर २०७३, सोमबार २२:००