न्याय खोज्दै मृतकका परिवार

सोती घटना


रुकुम–पश्चिमको चौरजहारीमा हत्या गरिएका नवराज विक र उनका अन्य पाँच साथीका परिवार न्याय खोज्दै काठमाडौं गएका छन् । जाजरकोटबाट मृतक नवराज विकका आमा–बुवासहित अन्य मृतकका परिवार संघीय राजधानी गएका हुन् । नवराजका आमा–बुवा उर्मिला विक र मुनलाल नेपाली, गोविन्द शाहीकी आमा भूमिकुमारी, गणेश बुढा मगरका बुवा पदमबहादुर, टीकाराम नेपालीकी आमा लक्ष्मी र सञ्जु विककी आमा सविता न्याय माग्न काठमाडौं पुगेका छन् ।

गएको जेठ १० गते जाजरकोट रानागाउँका २१ वर्षीय नवराज विकले रुकुम–पश्चिमकी सुष्मा मल्ललाई विहे गर्न रूकुम–पश्चिमको सोती पुग्दा गाउँलेले लखेटेर ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए । उक्त घटनामा पक्राउ परेका ३४ मध्ये जिल्ला अदालत रुकुम पश्चिम र उच्च अदालत सुर्खेतले नवराजकी प्रेमीका सुस्मा र आमासहित ६ जनालाई छोडिसकेको छ । उच्च अदालतले थप ६ जनालाई छोड्ने विषयमा तीन न्यायाधीशबीच राय बाझिएपछि उक्त मुद्दा सर्वोच्च अदालतमा पुगेको छ ।

हत्याको घटनामा संलग्नलाई एकपछि अर्को गर्दै रिहा गर्न थालेको भन्दै न्यायको गुहार माग्न काठमाडौं आइपुगेको नवराजकी आमा उर्मिलाले बताइन् । उनीहरूले शुक्रवार बिहान माइतीघरमा प्रदर्शनसमेत गरेका थिए । नवराजका बुवा मुनलालले न्यायका लागि काठमाडौं पुग्नु परेको बताए । मृतकका अभिभावकहरूले सबै जना आफ्नो पक्षमा लडिरहेकाले न्यायको आशा चाहिँ बाँकी रहेको बताएका छन् । थुनामा रहेका १७ जना प्रतिवादीले आफूलाई रिहाइ गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । आफूहरूलाई रिहाइ गरेर कानुनी कारबाही अगाडि बढाइयोस् भन्दै सर्वोच्चमा निवेदन परेको हो । उच्च अदालतमा बाँझिएको मतको विषयमा शुक्रवारलाई पेसी तोकिए पनि प्रतिवादीको निवेदनको विषयमा पनि सँगै सुनुवाइ हुने सर्वोच्चले बताएपछि बहस सरेको अधिवक्ता त्रिलोकचन्द्र विश्वास विकेले बताए । थुनामा रहेका अन्य ११ जनाका पनि निवेदन आइसकेपछि बहस हुने सर्वोच्चलाई उद्धृत गर्दै अधिवक्ता विकेले जनाए ।

प्रकाशित मितिः   १९ पुष २०७७, आईतवार ०८:१७