स्वास्थ्य संरचना सुधार

कोरोनाले छोडेको छैन । कहर कायमै छ । त्रास बढिरहेकै छ । त्रासकाबीच मानवजीवन सामान्य अवस्थामा फर्कन प्रयासरत छ । फर्कदै छ । तर यही क्रममा भइरहेका गैरजिम्मेवारपूर्ण गतिविधि, हेलचक्य्राइँ र लापरबाहीले भने जोखिम बढाएको छ । कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका क्षेत्रमा उल्लेख्य प्रगति भएको छैन । सबै प्रयत्न एकपछि अर्को असफल सावित हुँदैछ । त्यसैले पनि कोरोना महामारीबाट सजिलै उम्किन सक्ने अवस्था देखिएको छैन । त्रासलाई सावधानीले पराजित गर्दै अघि बढ्नुको विकल्प तत्काललाई छैन । त्यसैले पनि सुरक्षित र सचेततापूर्ण दैनिकी नै उत्तम विकल्प हो ।

सुरुवातमा संक्रमण नियन्त्रणका लागि भनेर लकडाउन, निशेषज्ञाजस्ता विभिन्न विकल्प अवलम्बन गरिएको थियो । तर त्यो प्रभावकारी हुन सकेन । त्यही समयमा संक्रमणदर उच्च देखियो । मृत्यु हुनेको संख्या पनि बढ्यो । दीर्घकालीन समाधान नभएकै कारण त्यसलाई छोडेर सबैजसो मुलुकहरू अघि बढिसकेका छन् । नेपालले पनि त्यसैअनुसारको अभ्यास गरेको छ । त्यसैले वैकल्पिक
जीवनयापनको विकल्प तयार पार्नु नै आजका लागि सबैभन्दा उत्तम हुने देखिएको छ । यसका साथसाथै स्वास्थ्य संरचनाहरूको विकासमा राज्यको ध्यान पुग्न उत्तिकै जरुरी छ ।

एक्कासी महामारीको रूप लिएको कोरोनाका कारण मुलुक नै ठप्प हुनपुग्यो । त्यसबीचमा स्वास्थ्य क्षेत्रको सुधारका लागि केही प्रयास पनि भए । तर ती पर्याप्त छैनन् । विगतदेखि नै मुलुकका सबैजसो क्षेत्रमा आवश्यक स्वास्थ्य संरचना र सुविधा पुगेको छैन । कर्णाली प्रदेशको अवस्था अझ कमजोर र नाजुक छ । सामान्य रोग–बिरामको उपचार नपाएरै ज्यान गुमाउनुपर्ने विडम्बनालाई यहाँका नागरिकले आत्मसाथ गरिरहेका छन् । स्वास्थ्य संस्थाहरू नै न्यून छन् । भएका स्वास्थ्य संस्थाहरूमा पनि भौतिक पूर्वाधारका साथसाथै जनशक्तिको अभाव छ । विशेषज्ञ सेवा छैन । ठूला भनिएका अस्पतालहरूमा आईसीयू, भेन्टिलेटर जस्ता सुविधा अत्यन्तै न्युन छन् । कोरोनाकालमै केही संख्या थपिएका छन्, जुन पर्याप्त होइनन् । गम्भीर खालका समस्या समाधानका लागि सुविधा पुगेको छैन । यी यावत समस्याहरूको समाधान नै स्वास्थ्य क्षेत्रको सुधार गर्नु हो ।

एक्कासी देखा परेको कोभिड–१९ को महामारीले देशको समग्र स्वास्थ्य सेवाको अवस्था र क्षमता कति कमजोर छ भन्ने देखाएको छ । साथसाथै पूर्वतयारी कुन स्थितिमा रहेछ भन्ने पनि देखाइदिएको छ । कमजोर अवस्थाकै कारण क्षति बढी हुन्छ । यो कोभिड महामारीको कारण मात्रै होइन अन्य रोग र आउन सक्ने महामारीबाट जोगिन पनि तयारी आवश्यक छ । त्यसैले वर्तमानमा देखिएको यो विषम् परिस्थितिबाट पाठ सिकेर स्वास्थ्य सेवा सुधारका लागि आवश्यक कदम चाल्न सकिएन भने आगामी दिनमा स्वास्थ्य क्षेत्र थप कमजोर बन्नेछ । अहिले मुलुकमा तीन तहको सरकार छन् । जसले आफ्ना नीति–कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकताका साथ सम्बोधन गर्न सक्नुपर्दछ ।

प्रकाशित मितिः   १९ पुष २०७७, आईतवार ०८:१६