तीन जिल्ला कोरोना संक्रमणमुक्त

कर्णालीका तीन जिल्लामा कोरोनाका सक्रिय संक्रमित छैनन् । यी जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको हो । प्रदेशका १० जिल्लामध्ये मुगु, कालीकोट र रुकुम–पश्चिममा हाल कोरोना संक्रमित नभएका हुन् । यसअघि मुगुका ४१, कालीकोटका तीन सय २८ र रुकुमपश्चिमका दुई सय ५५ जनामा संक्रमणको पुष्टि भएको थियो । पुष्टि भएका संक्रमित सबै निको भएपछि तीनै जिल्ला संक्रमणमुक्त भएका हुन् । हाल सुर्खेतमा ९७, सल्यानमा ३१, जाजरकोटमा १४, हुम्लामा ११, डोल्पामा नौ, जुम्लामा ६ र दैलेखमा दुई जना संक्रमित छन् ।

यस्तै, शुक्रवार थप १४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या सात हजार तीन सय ५७ पुगेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । शुक्रवार पुष्टि भएका संक्रमितमा सुर्खेतका १२, सल्यान र रुकुम–पश्चिमका एक/एक जना छन् । हालसम्म प्रदेशमा पीसीआर विधिबाट ९६ हजार एक सय दुई जनाको कोरोना परीक्षण गरिएको छ । संक्रमितमध्ये सात हजार १८ जना निको भएका छन् । कोरोना संक्रमित २६ जनाको मृत्यु भएको छ ।

उपचार गर्न हेलिकप्टर चार्टर

कोरोना संक्रमित शिक्षक र वडा अध्यक्षलाई उपचार गर्न हेलिकप्टर चार्टर गरिएको छ । आइसोलेसनमा रहेका दुवै जनाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारको लागि हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको हो ।  डोल्पाको सरस्वती माध्यमिक विद्यालयका ५१ वर्षीय एक शिक्षक र ठूलीभेरी नगरपालिका–२ का ६० वर्षीय वडा अध्यक्षको स्वास्थ्य अवस्था जटिल भए पछि आफन्तले हेलिकप्टरबाट काठमाडौं लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार संक्रमत शिक्षक यसअघि नै दम, प्रेसर र सुगर रोगका बिरामी थिए । भने वडा अध्यक्ष दमका बिरामी थिए । दीर्घरोगी भएको र चिसोको समय भएकोले कोरोनाले झनै बढी च्यापेको स्वास्थ्यकर्मीले बताएका छन् । शिक्षक र वडा अध्यक्ष दुवैको अवस्था गम्भीर भएपछि जिल्लामा उपचार हुन नसक्दा आफन्तले हेलिकप्टर चार्टर गर्नु परेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

प्रकाशित मितिः   १८ पुष २०७७, शनिबार ०९:३०